एमालेको दसौं महाधिवेशन र जनअपेक्षा

महाधिवेशनले गुमेको भू-भाग फिर्ता गर्ने र नेपालको राष्ट्रियता र स्वाभिमानमा भविष्यमा कुनै पनि आँच आउन नदिन बलियो कम्युनिस्ट पार्टीको आवश्यक छ भन्ने प्रतिबद्धता जनाउनुपर्छ ।
घनश्याम पाण्डे

नेकपा एमालेको दसौं महाधिवेशन यहि २०७८ मंसिर १० गते देखि चितवनमा सुरु हुँदैछ । दक्षिणन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूल नाराका साथ सुरु हुन लागेको एमाले महाधिवेशनबाट आम नेपाली जनतामा ठूलो अपेक्षा रहेको छ ।

एमालेको दसौं महाधिवेशन र जनअपेक्षा

एमालेको यो महाधिवेशन विगतका नौवटा महाधिवेशनहरू भन्दा भिन्न प्रकृति र विशेषताका साथ सम्पन्न हुँदैछ । विगतका राष्ट्रिय महाधिवेशनहरू पार्टीको मूल नीति विचार र विधानको बहससँगै नेतृत्व निर्माणमा केन्द्रित रहने गरेका थिए भने यस पटकको महाधिवेशन मूलत व्यापक जनपरिचालन र नेतृत्व छनोटमा केन्द्रित रहेको छ । भर्खरै सम्पन्न भएको पार्टीको विधान महाधिवेशनले मूल नीति, विचार र विधान संशोधनसहित पारित गरिसकेकाले यो राष्ट्रिय महाधिवेशनमा विगतमा जस्तो राजनीतिक तात्तातो बहस कमी भएको हो कि भन्ने कतिपयलाई लागेको छ । यद्यपि यो महाधिवेशनले आम जनता र राष्ट्रलाई ध्यान तान्न सफल भएको छ ।

२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएदेखि विगत ७२ वर्षमा नेपाली कम्युनिष्ट आन्दोनल विभाजन एकता अनेकन उकाली ओराली पार गर्दै आएको छ । विश्व कम्युनिष्ट आन्दोलनले धक्का खाई रहेको बेला पनि नेपालमा कम्युनिष्ट पार्टी नयाँ विचारका साथ संगठित भएर अगाडी वढ्ने प्रक्रियाले विश्वका न्यायकर्मी जनतालाई नयाँ नयाँ सन्देश संचार गरि नै रहेको छ । विशेषगरी नेकपा एमाले कमरेड मदन भण्डारीको नेतृत्वमा अंगिकार गरेको जनताको बहुदलीय जनवादको कार्यक्रम र सिद्धान्तले नेपालमा कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरण गर्न र लाखौं जनतालाई कम्युनिष्ट पार्टीमा गोलबन्द गर्दै शान्तिपूर्ण जनमतबाट कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार सञ्चालन गरी राष्ट्रियता र जनपक्षीय कार्य गर्ने सफलतामा ऐतिहासिक र युगान्तकारी योगदान गरेको छ । यहि जबजको सिद्धान्तमा टेकेर नेकपा एमालेले समाजवादको आधार निर्माण गर्ने आगामी गन्तव्य तय गरेको छ । यसरी सम्पन्न हुँदै गरेको यस दसौं राष्ट्रिय महाधिवेशनप्रति जनताका केही महत्वपूर्ण अपेक्षा रहेका छन् ।

नेकपा एमालेका संगठित सदस्यहरूको संख्या करिब आठ लाख छ । तिनै संगठित सदस्य र लाखौं शुभेच्छुक जनताको चाहना नेकपा एमाले नेपालको मूलधारको लोकतान्त्रिक कम्युनिष्ट पार्टी बनोस् र यो महाधिवेशन एकताको सागर र प्रतीक बनोस् भन्ने रहेको छ । त्यसैले दसौं महाधिवेशनको मंसिर १० गते चितवनमा हुने उद्घाटन विशेष समारोहमा कम्तिमा पनि पाँचलाख जनताको सहभागिता रहने अपेक्षा गरिएको छ । यसबाट नेकपा एमाले जनतामा आधारित लोकप्रिय कार्यकर्ताको प्रतिबद्ध संगठित सशक्त पार्टीको रुपमा स्थापित हुनेमा जनताको ठूलो अपेक्षा रहेको छ । नेकपा एमाले नेपालको सबैभन्दा ठूलो लोकप्रिय कम्युनिष्ट पार्टी बन्ने छ ।

एमालेप्रतिको आक्रमण प्रतिरोध सन्देश

यति बेला नेकपा एमाले र यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति कडा आक्रमण र घेराबन्दी भइरहेको छ । नेकपा एमालेका विरुद्धमा पाँच दलीय गठबन्धन गरी कमजोर सावित गर्न कोसिस भइरहेको छ । तर विधान महाधिवेशन पश्चात सुरु भएको दसौं महाधिवेशनको प्रकृया सँगै नेकपा एमालेले जनताको सबैभन्दा नजिकको सम्बन्ध रहेका स्थानीय तहका सबै पालिका र वडाहरूमा एकै साथ वडा तथा पालिका अधिवेशनगरी समग्र रुपमा सर्वसम्मत नेतृत्व समेत छनोट गरी जनताकोबीचमा नयाँ सन्देश प्रवाह गरेको छ । यो महाधिवेशनले केपी शर्मा ओलीप्रतिको घेराबन्दीलाई प्रतिरोध गर्दै नेकपा एमाले र पार्टी अध्यक्ष ओलीलाई थप बलियो र सशक्त बनाउने आम जनताको अपेक्षा रहेको छ ।

राष्ट्रियताको संकल्पलाई थप बलियो बनाउने छ । नेपालको सिमानालाई लामो समयदेखि भारतबाट अतिक्रमण हुँदै आएको पीडा नेपालीलाई छ । नेकपा एमालेको अगुवाईमा नै नयाँ चुच्चे नक्सा प्रकाशनगरी नेपालको गुमेको भू–भाग दाबी गरिएपनि अझै फिर्ता हुन सकेको छैन । यस महाधिवेशनले गुमेको भूभाग फिर्ता गर्ने र नेपालको राष्ट्रियता र स्वाभिमानमा भविष्यमा कुनै पनि आँच आउन नदिन बलियो कम्युनिष्ट पार्टीको आवश्यक छ भन्ने प्रतिबद्धता जनाउने छ भन्ने आम जनताको अपेक्षा रहेको छ ।

समृद्ध नेपाल सुखी नेपाली

‘समृद्ध नेपाल: सुखी नेपाली’को अधुरो सपना साकार पार्नका लागि यो महाधिवेशनले आम नेपाली जनताको बीचमा नयाँ आशाको सञ्चार गर्ने छ । नेकपा एमालेको नेतृत्वमा सुरु भएको ‘समृद्ध नेपाल: सुखी नेपाली’को महाअभियान एमाले बिरोधी गठबन्धनको सरकारले ओझेलमा पारेको छ । महाधिवेशनबाट नेकपा एमाले थप सुदृढ र एकतावद्ध हुने छ । निकट भविष्यमा हुने संघ, प्रदेश र स्थानीय गरी तीनै तहका निर्वाचनमा नेकपा एमालेले स्पष्ट र सुविधाजनक बहुमत ल्याउने छ र समृद्ध नेपाल सुखी नेपालीको अधुरो सपनालाई पुरा गर्ने छ भन्ने जनताको अपेक्षा रहेको छ ।

राष्ट्रिय पुँजी र समाजवादको आधार निर्माण

नेपालको संविधानले समाजवादको सिद्धान्तलाई आत्मसाथ गरेको छ । नेकपा एमालेले बोकेको अन्य कुनै पनि राजनीतिक दलले समाजवादको आधार निर्माण गर्ने दृष्टिकोण र कार्यक्रम अगाडि सार्न सकेका छैनन् । नेकपा एमालेको यो महाधिवेशनमा प्रस्ताव गरिएको मूल नारा नै जनताको बहुदलीय जनवादलाई समाजवादको आधार निर्माण गर्ने सिद्धान्तका रुपमा स्थापित र विकास गर्ने मूल नारा तय गरिएको छ । समाजवाद निर्माणको मूल आधार भनेको राष्ट्रिय पुँजीको निर्माण र परिचालन हो । राष्ट्रिय पुँजीको निर्माण भनेको उत्पादनका साधन र स्रोतमा उत्पादक शक्तिको हक र नियन्त्रण स्थापित गर्दै वर्तमान उत्पादन सम्बन्धमा रुपान्तरण गर्ने हो । यसको मूल आसय भनेको जल, जंगल र जमिनमाथिको जनताको अधिकार स्थापित गर्दै यी प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र उपयोगबाट राष्ट्रिय पुँजीको निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न प्रमुख सन्देश दिने पनि जनताको अपेक्षा रहेको छ ।

समावेशी र सशक्त नेतृत्वको छनोट

नेपालको संविधानले समावेशी प्रतिनिधित्वलाई संवैधानिक मान्यता दिएको छ । तर हालसम्म कुनै पनि राजनीतिक दलले समावेशी नेतृत्व दिन नसकेको गुनासो मात्र हैन यथार्थता रहेको छ । दसौं महाधिवेशनले महिलाको ३३ प्रतिशत सहभागिताको सुनिश्चितता गरेको छ । अल्पसंख्यक, जनजाती, मधेशी, दलित र भूगोलबाट समेत प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ । पार्टी नेतृत्वमा नयाँ पुरानो सबै पुस्ताको सम्मानजनक सहभागिता रहने समेत अपेक्षा गरिएको छ ।

समाजिक सुरक्षाको प्रत्याभूति

नेकपा एमालेले नै २०५१ सालमा अल्पमतको सरकार हुँदा जेष्ठ नागरिकका लागि मासिक एक सय बाट वृद्ध भत्ताको सुरुवात गरेको थियो । मासिक एकसयबाट सुरु भएको वृद्धभत्ता हाल मासिक चार हजार पुगेको छ । वृद्धभत्ताबाट सुरु भएको समाजिक सुरक्षाभत्ता हाल एकल महिला, अपांगता भएका व्यक्ति र अल्पसंख्यकका लागि उपलब्ध गराइएको छ । निजी क्षेत्र र अन्य विभिन्न सामाजिक क्षेत्रमा कार्य गर्नेहरूलाई समेत सामाजिक सुरक्षा प्रदान गर्ने र स्वास्थ्य बीमालाई देशव्यापी बनाउने अभियान एमालेले नै सुरुवात गरेको हो । यस महाधिवेशनले सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन आगामी दिनमा नेकपा एमालेलाई थप सशक्त बनाउन जन अपेक्षा समेत रहेको छ ।

स्मार्ट प्रविधिमैत्री पार्टी निर्माण

दसौं महाधिवेशनको अर्को महत्वपूर्ण सन्देश र अपेक्षा भनेको पार्टीको व्यवस्थापनमा स्मार्ट प्रविधिको प्रयोगको सन्देश पनि रहेको छ । दसौं महाधिवेशनको प्रचार प्रसारलाई पेपरलेस बनाउँदै आधुनिक सूचना प्रविधिको प्रयोगलाई सुनिश्चित गरिएको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकायको निर्वाचनका लागि कागजी मतपत्रको प्रयोग नगरी कम्प्युटर प्रविधिको प्रयोगबाट मतदानको व्यवस्था गरिएको छ । यसबाट नेकपा एमाले आधुनिक सूचना प्रविधिको प्रयोगबाट नेकपा एमाले स्मार्ट पार्टी भएको सन्देश प्रवाह गरेको छ ।

आत्मनिर्भर पार्टी निर्माण

यसपटक नेकपा एमालेले पार्टी सदस्यहरू र शुभचिन्तकहरूलाई एकसय स्वेच्छिक सहयोग आह्वान र जबरजस्त चन्दा आतंकलाई निस्तेज गरेको छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूबाट समेत शुल्क निर्धारण गरी आन्तरिक कोष निर्माणमा जोड दिएको छ । यसबाट नेकपा एमालेले पार्टी सदस्य र पार्टी कार्यकर्तामा आधारित आत्मनिर्भर पार्ने निर्णयको सन्देश दिएको छ ।

संघीयता र संविधानको रक्षा र कार्यान्वयन

महाधिवेशनले नेपाली जनताको बलिदान र संघर्षबाट स्थापित संविधानको कार्यान्वयन र रक्षा गर्ने स्पष्ट जनसन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ र यो सत्य सावित पनि हुँदै छ । नेकपा एमालेको बहुप्रतिक्षित महाधिवेशनको नेपाली जनता र विश्वका परिवर्तनकामी जनताको ध्यान तान्न सफल भएको छ । आगामी दिनमा नेपालका बामपन्थीहरूलाई ध्रुविकृत गर्दै एकतावद्ध, सुदृढ र शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणमा ऐतिहासिक सफलता दिलाउने जनअपेक्षा रहेको छ ।

(लेखक तुलसीपुर उपमहानगरपालिकाका प्रमुख हुन्)

प्रकाशित : मंसिर ८, २०७८ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?