प्रधानन्यायाधीश विवादबारे ओलीले भने- सबै न्यायाधीशले राजीनामा गर्नुपर्ने अवस्था देख्छु

मंसिर ७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा गर्नपर्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार र नेपाल बार एसोसिएसन विरोध प्रदर्शनमा रहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका छन् ।

सम्पादकहरूसँग मंगलबार अन्तरक्रिया गर्दै ओलीले भने, 'अमूक व्यक्ति, फलानो हटिदिएपछि यो सिलसिला अन्त्य होलाजस्तो लाग्दैन । म त सबैले राजीनामा गर्नुपर्ने खालको अवस्था देख्छु ।'

अहिले सर्वोच्च अदालतमा भइरहेका घटना दुःखद् रहेको पनि उनको भनाइ थियो । त्यसको अन्त्य प्रधानन्यायाधीश जबराले राजीनामा गरेर नहुने ओलीको ठहर थियो । अरु न्यायाधीशमाथि पनि प्रश्न उठेकाले सबैले राजीनामा गर्नुपर्ने उनले बताए । 'उहाँहरूप्रति प्रश्न उठिसकेपछि, सेटिङमा फैसला गरिसकेको देखिइसकेपछि उहाँहरूले त राजीनामा गर्नुपर्ने,' उनले भने । 

ओलीले थपे, 'फलानोले राजीनामा गर्दा हुन्छ भनेजस्तो कुराले न्यायिक क्षेत्रको प्रदूषण त्यति एउटा कुराले हट्ला जस्तो मलाई लाग्दैन ।'

आफूलाई प्रधानमन्त्रीबाट हटाएर शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएकोप्रति ओलीले आक्रोश व्यक्त गरेका थिए । 

एमाले महाधिवेशनप्रधानन्यायाधीश विवादमाएमाले

कान्तिपुर

Link copied successfully