२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९
कांग्रेस महाधिवेशन

सहज छैन देउवालाई

आफ्नै समूहका विजय गच्छदार, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी सावद, रमेश लेखकलगायत नेताले पदाधिकारीमा दाबी गरेपछि मिलाउन सकस
प्रतिस्पर्धी कित्ताको अन्तरसंघर्षमा खेलेर लाभ लिने प्रयास

काठमाडौँ — कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार बनाउन सकस चलिरहेका बेला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा आफ्नो टिम घोषणाको गृहकार्यमा छन् । आफ्नो समूहका नेताहरूले टिम घोषणाको प्राधिकार देउवालाई दिइसकेका छन् । तर, उनलाई पदाधिकारी आकांक्षी मिलाउन चुनौती छ ।

सहज छैन देउवालाई

प्रधानमन्त्रीमा रहेर प्रतिस्पर्धामा उत्रँदा देउवाले धेरै खालका दबाब र जोखिम महसुस गरिरहेको उनीनिकट नेताहरूले बताएका छन् । नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्रीमा रहेर चुनाव लड्दा लाभ र जोखिम दुवै हुने बताए । राज्यसत्ताको केन्द्रमा रहँदा नेता र कार्यकर्ता व्यवस्थापनमा सहज हुने भए पनि कार्यकर्ताको भावना र इतरसमूहले लिने ‘गठजोड’ का कारण देउवालाई जोखिमको डर उत्तिकै छ ।

‘प्रधानमन्त्री पदमा रहेरै चुनावमा लड्दा असफल भइयो भने धेरै खालका प्रश्न उठ्न सक्छन्, उहाँको राजनीतिक जीवन र व्यक्तित्वलाई समेत राम्रो गर्दैन,’ श्रेष्ठले भने, ‘यही देखेर जोखिम नलिनुहोस्, मलाई उत्तराधिकारी बनाएर उम्मदेवार बनाउनुहोस् भनेर भन्दै आएको छुँ । उहाँले छाड्दा आमकार्यकर्ताको भावना पूरा हुन्छ । साथीहरूबीच लोकप्रिय बन्नुहुन्छ ।’

देउवा अहिले पार्टीमा मात्रै नभई राष्ट्रिय राजनीतिकै केन्द्रमा छन् । तीन सातापछि हुने महाधिवेशनबाट पुनः सभापति निर्वाचित हुने र आगामी वर्ष हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नै नेतृत्वमा टिकट (पार्टीका उम्मेदवार) वितरण गर्ने योजना देउवाको छ । उनीनिकट एक नेताका अनुसार ‘कम्युनिस्ट’ पार्टीहरूको ‘टुटफुट’ का कारण बहुमत ल्याउन सक्ने, बहुमत नआए पनि कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउन सुविधाजनक ‘पोजिसन’ हुने र छैटौं पटक प्रधानमन्त्री बन्ने देउवाको योजना छ ।

‘सभापति निर्वाचित हुन सक्नुभएन भने तत्कालका लागि गठबन्धन सरकारको नेतृत्व नै के हुने भन्ने असहज स्थिति उत्पन्न हुन्छ, प्रधानमन्त्री निरन्तर रहे पनि पार्टीको शक्ति सभापति हुने समूहसँग हुन्छ, सरकार चलाउन अप्ठ्यारो पर्न थाल्छ,’ देउवानिकट ती नेताले भने, ‘अर्कोतर्फ सभापति नहुँदा उमेर, स्वास्थ्य सबै दृष्टिले राजनीतिक जीवनबाटै ‘रिटायर्ड’ हुने अवस्था रहन्छ ।’

यस्ता सबै जोखिम नियालिरहेका देउवा यस पटक पनि आफूइतर कित्ताको अन्तरसंघर्षमा खेलेर लाभ लिने प्रयासमा लागिरहेका छन् । दुई दशक लामो सहकार्यबाट अलग भई उपसभापति विमलेन्द्र निधिले सभापतिकै उम्मेदवारी घोषणा गरेपछि देउवा उनको अभावमा हुने क्षति पूर्ति गर्न खोजिरहेका छन् । त्यसका लागि पौडेल समूहबाट सभापतिका आकांक्षी रहेका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहमध्ये एकलाई आफ्नो कित्तामा ल्याउने जोडबलमा समेत छन् ।

पौडेल पक्षमा रहेका नेता अर्जुननरसिंह केसीलाई १३ औं महाधिवेशनमा देउवाले आफ्नो टिमबाट महामन्त्री उठाएका थिए । पहिलो चरणमा नेतृत्वका लागि देउवा, पौडेल र कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि ‘रिङआउट’ भएका कृष्णप्रसाद सिटौलालाई आफ्नो पक्षमा पारेर देउवा सभापति निर्वाचित भएका थिए । यस पटक पनि उनले संस्थापनइतर खेमाको असन्तुष्टिबाट लाभ लिन चाहिरहेका छन् ।

पार्टी र सरकार सञ्चालनको कार्यशैलीप्रति चर्को असन्तुष्टि राख्दै आएका सिंहले भने देउवासँग मिल्ने सम्भावना कहीँ, कतै नभएको बताए । देउवाप्रति शशांक केही नरम छन् तर आफैंले नेतृत्व गरेको कोइराला समूहको मूलप्रवाहलाई त्यागेर सम्झौता गर्ने पक्षमा उनी नरहेको निकटवर्तीहरूले बताउने गरेका छन् । संस्थापनपक्षीय नेता श्याम घिमिरेले १३ औं महाधिवेशनको तुलनामा यसपटक देउवाका लागि झनै सहज भएको दाबी गरे । ‘प्रधानमन्त्री पदमा रहेर चुनाब लड्दा जोखिम त हुन्छ तर कार्यकर्ता र नेता व्यवस्थापन गर्न यसले झनै मद्दत पुर्‍याउँछ,’ उनले भने ।

पार्टीभित्रका युवा नेताले यसै महाधिवेशनबाट नेतृत्व पुस्तान्तरण हुनुपर्ने मुद्दालाई अघि बढाइरहेका छन् । संस्थापन इतरपक्षबाट पौडेल उम्मेदवार नभएमा यो मुद्दालाई चर्काउन सहज हुने युवा नेताले ठानेका छन् । देउवा र पौडेल समकालीन नेता पनि हुन् । उमेरले देउवा ७६ र पौडेल ७७ वर्षमा छन् । संस्थापन पक्षका एक नेताका अनुसार देउवालाई पौडेल नै उम्मेदवार भइदिए हुन्थ्यो भन्ने छ । विधानले दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्था गरेकाले देउवाका लागि यो अन्तिम कार्यकाल बन्नेछ ।

निधि अलग भएपछि देउवाको उत्तराधिकारी को हुने भन्ने प्रतिस्पर्धा पनि उक्त समूहमा छ । त्यसका लगि उपसभापति विजयकुमार गच्छदार, नेता गोपालमान श्रेष्ठ, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एनपी सावद, रमेश लेखकलगायत नेता अघि बढ्न चाहन्छन् । श्रेष्ठबाहेक सबैले देउवालाई नै नेतृत्वमा अघि सार्ने र आफूहरू पदाधिकारी भएर अर्को महाधिवेशनको जोखना हेर्ने रणनीतिमा छन् ।

श्रेष्ठले यसै पटक देउवालाई सभापति नलड्न सुझाएका छन् । संस्थापनबाट गच्छदार र खड्का उपसभापतिका आकांक्षी हुन् । गृहमन्त्री खाँण, महत, कार्की, सावद र लेखकको दाबी महामन्त्रीमा छ । आफ्नो जोखिम कम गर्न इतरपक्षका प्रभावशाली नेतालाई उपसभापति र महामन्त्रीको ‘अफर’ गरेर तान्ने कसरत छ । यसैकारण पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न देउवालाई चुनौती छ । व्यवस्थापनकै लागि ८ वटा सहमहामन्त्रीलाई बढाएर ११ वटा बनाउने कसरतसमेत देउवाको छ ।

संस्थापन पक्षमै रहेका नेता गोविन्द भट्टराईले निधिको उम्मेदवारीबाट देउवालाई चुनौती थपिएको बताए । ‘संस्थापनमा निधिजी दोस्रो स्थानमा हुनुहुन्थ्यो, उहाँ बाहिरिएपछि अप्ठ्यारो त परेको छ नै, त्यसमा पनि संस्थापनइतर पक्षमा एउटै उम्मेदवार भयो भने जोखिम हुन्छ,’ उनले भने, ‘कार्यकर्ता तथा नेता व्यवस्थापन गर्ने, भूमिका दिने सवालमा सभापतिको राम्रो पक्ष छ ।’ उनले पदाधिकारी व्यवस्थापनका लागि देउवालाई चुनौती नहुने बताए । ‘सभापतिजीले गरेको निर्णयलाई उहाँको समूहले नमान्ने अवस्था म देख्दिनँ, अघिल्लो महाधिवेशनमा अर्जुनरसिंह केसीलाई महामन्त्री उठाउँदा सहजै स्विकारेको समूहले अहिले पनि उहाँको निर्णय नमान्ने अवस्था आउँदैन’ उनले भने, ‘अहिले त पार्टी सभापति मात्रै नभएर मुलुकको प्रधानमन्त्री र राष्ट्रिय राजनीतिकै केन्द्रबिन्दुमा रहेको अवस्था छ । कहाँको क्षतिपूर्ति कहाँबाट पूर्ति गर्ने भन्नेबारेमा रणनीतिक योजना बनाउन सभापति सिपालु हुनुहुन्छ ।’

पौडेल नेतृत्वमा रहेको संस्थापनइतर पक्षले सभापतिमा साझा उम्मेदवार बनाउन सके मात्रै देउवाका लागि चुनौती हुने बुझाइ संस्थपन इतरपक्षकै नेताहरूले बताएका छन् । ‘एउटै उम्मेदवार हुन नसके देउवालाई नै सभापति बुझाइदिए हुन्छ’ भन्ने टिप्पणी केही दिनअघि महामन्त्री शशांकले गरेका थिए । देउवासँग प्रतिस्पर्धामा उत्रन संस्थापनइतरमा पौडेल, शशांक, सिंह र शेखर कोइराला दौडमा छन् । देउवाले टिम बनाउने गृहकार्य थालेपछि पौडेल समूहलाई साझा उम्मेदवार बनाउन दबाब बढेको छ । पौडेल–शशांक, शशांक–प्रकाशमानबीच शनिबार यसै विषयमा छलफल भएको थियो ।

गत बुधबार पत्रकार सम्मलनमार्फत दाजु शेखरलाई समर्थन गर्न खोजेका शशांक अचानक ‘युटर्न’ भएका थिए । आफूले दाबी नछाडेको भन्दै त्यसै दिन पूर्वसांसद एवं व्यवसायी दीपक खड्काले हेलिकप्टर रिजर्भ गरी संखुवासभा पुर्‍याएका शशांक शुक्रबार फर्केका थिए । शनिबारदेखि उनले एकाएक सक्रियता देखाउन थालेका छन् । पौडेलसँगको भेटमा मिलेरै अघि बढ्नुपर्ने बताएका शशांकले प्रकाशमानसँगको भेटमा भने साताअघि आफैंले दिएको विवादास्पद अभिव्यक्तिको प्रस्टीकरण दिन खोजेका थिए ।

सर्लाहीको हरिवनमा अघिल्लो साता कार्यकर्तालाई सम्बोधन गर्दै प्रकाशमानलाई काठमाडौं बाहिर कसैले चिन्दा पनि नचिन्ने भन्दै उनी बलियो उम्मेदवार नभएको बताएका थिए । आफ्नो भनाइको गलत अर्थ लगाइएको भन्दै शशांकले सिंहसँग प्रस्टीकरण दिन खोजेका थिए । ‘आफूले बोलेका कुराहरूमा प्रस्टीकरण दिन आउनुभएजस्तो लाग्यो, अरू धेरै कुरा भएन, मैले आफ्नो अडान छाडेको छैन,’ सिंहले भने, ‘हाम्रो ग्रुप बैठकमा जे भनेको छु, त्यही कुरा पौडेल दाइ, शशांक र शेखरजीलाई पनि भनेको छु ।’

सिंह र शेखरबीच पनि शुक्रबार भेटवार्ता भएको थियो । शशांकले शनिबारै प्रधानमन्त्री देउवासँग उनकै गृहजिल्ला डडेलधुरामा भएको विवाद, महाधिवेशन निष्पक्षतामाथि उठेका प्रश्न र क्रियाशील सदस्यताका विवादबारे छलफल गरेका थिए ।

प्रकाशित : मंसिर ६, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?