राप्रपा महाधिवेशन सर्नुको कारण 'इभीएम'

मंसिर ३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — इलेक्ट्रोनिक भोटिङ मेसिन (इभीएम) समयमै उपलब्ध नहुने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सरेको छ । एमाले महाधिवेशनमा इभीएम प्रयोग हुने भएपछि त्यसलाई कुर्नका लागि राप्रपाले महाधिवेशन ४ दिनपछि धकेलेको हो । 

'इभीएम उपलब्ध गराउने कम्पनीसँग सल्लाह गरेरै १५ देखि १७ गतेसम्मको मिति तोकेको हो,' महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले भने, 'व्यवस्थापनको अन्य विषय र सक्रिय सदस्यताको विषयमा पनि निर्वाचन कमिटीले थप समय माग गर्दै आएको थियो । ३ जना अध्यक्षले महाधिवेशन केही दिन पछि सार्ने निर्णय गर्नु भएको हो ।' राप्रपामा कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका छन् । 

राप्रपाको यसअघि भएको दुई वटा महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्दा इभीएम प्रयोग गरिएको थियो । २०७१ सालमा राप्रपा नेपाल र २०७३ मा राप्रपाको एकता महाधिवेशनमा इभीएमको प्रयोग गरिएको थियो । २०७१ सालमा कमल थापा राप्रपा नेपालको निर्विरोध अध्यक्ष निर्वाचित भएपछि केन्द्रीय सदस्यहरुको निर्वाचनमा इभीएम प्रयोग गरिएको थियो । 

त्यसैगरी २०७३ मा प्रदीप राणाले थापाविरुद्ध उम्मेदवारी दिएपछि अध्यक्षको निर्वाचनमा कागजी मतपत्र प्रयोग गरिएको थियो भने केन्द्रीय सदस्यको निर्वाचनमा इभीएमबाट भएको थियो । दुवै महाधिवशेनबाट थापा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाले यसअघिकै जस्तै 'राम लक्ष्मण इनोभेसन्स'लाई इभीएम र त्यसको व्यवस्थापन जिम्मा दिन लागेको हो ।

'राप्रपाले पनि इभीएमका लागि हामीसँग सम्पर्क गरेको थियो । एमाले महाधिवेशनको कारण त्यो समयमा उपलब्ध गराउन नसक्ने जानकारी गराएका थियौं,' इनोभेसन्सका लक्ष्मण रिमालले भने, 'एमालेको महाधिवेशन सकिनेबित्तिकै उपलब्ध गराउन सकिँदैन । मेसिनको हेल्थ चेप अप गर्नका लागि १-२ दिनको समय लाग्छ ।' रिमालले एकपटक विद्युतीय मतदान गर्ने राजनीतिक दल र अन्य संस्थाहरुले मतपत्र प्रयोग नगर्ने गरेको बताए । 

इनोभेसन्सले हालसम्म गरेको ९२ चुनावमध्ये धेरै मतदाता भएको चुनाव राप्रपाको हुने रिमालले बताए । राप्रपा नेपालको अधिवेशनमा २८ सय र राप्रपाको एकीकरण महाधिवेशनमा ३४ सय प्रतिनिधि थिए ।  यसपटक राप्रपाको महाधिवेशनमा भने ४ हजार ५ सय प्रतिनिधि रहनेछन् । 'मंसिर ६, ७ र ८ गते देशभर प्रतिनिधिको छनोट गर्ने कार्यक्रम छ,' संयोजक श्रेष्ठले भने ।

राप्रपाले मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन तय गरेको थियो । एमाले महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । एमालेको महाधिवेशनमा १ सय इभीएम प्रयोग हुँदैछ । जसमा १५ पदाधिकारीसहित २ सय २५ जना सदस्यीय केन्द्रीय कमिटी, अनुशासन र लेखा आयोगका ३० सदस्यीय निर्वाचनका लागि इभीएम प्रयोगको तयारी छ । 

बहुपदीय प्रणालीमा गएको राप्रपाले पहिलो पटक अध्यक्षबाहेक पदाधिकारीहरुको समेत प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव गरेको छ । राप्रपाका वरिष्ठ नेता निरञ्जन थापाको नेतृत्व रहेको विधान मस्यौदा समितिले १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउन र अध्यक्षसहितको पदाधिकारीहरुको प्रत्यक्ष निर्वाचित हुने व्यवस्था प्रस्ताव गरेको छ । '३ जना अध्यक्षबीच सहमतिपछि विशेष समिति वा केन्द्रीय कार्यसमितिमा छलफल हुने र त्यसले निर्णय गरेपछि महाधिवेशनमा प्रस्तुत हुनेछ,' श्रेष्ठले भने, 'राप्रपाको ३१ वर्षे इतिहासमा पहिलो पटक पदाधिकारीको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव भएको हो ।' यसपटक अध्यक्षका लागि थापा, जबरा र लोहनीको अतिरिक्त राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्न खोजेका छन् । राप्रपाले गत कात्तिक २८ गते सातै प्रदेश कमिटीको नेतृत्व छनोट गरेको थियो । 

कान्तिपुर

Link copied successfully