आ–आफ्नो योजनामा नेता, प्यानलको छैन तयारी

आ–आफ्नो टिमबाट पदाधिकारीमा को—को भिड्ने निश्चित नहुँदा तयारी गर्न नपाएको कांग्रेस नेताहरुको गुनासो 

मंसिर १, २०७८

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस नेतृत्वका लागि संस्थापन र इतर दुवै खेमाका नेताले प्रतिस्पर्धामा उत्रने तयारी थालेका छन् । केन्द्रीय महाधिवेशन आउन तीन साता मात्रै बाँकी छँदा दुवै पक्षमा ‘प्यानल’ बनाउन दबाब बढेको छ । महाधिवेशन आउन करिब ३ साता मात्रै समय बाँकी छँदा पनि को कुन पदमा उठ्ने टुंगो नलाग्दा तयारी गर्न नपाएको गुनासो नेताहरूले गर्न थालेका छन् । 

सभापति शेरबहादुर देउवाले सोमबार आफ्नो समूहको बैठकमा पार्टीको प्र्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सकिनासाथ पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको टिम बनाउने घोषणा गरेका छन् । उनले अहिलेसम्म आफैंलाई मात्रै केन्द्रमा राखेर तयारी अघि बढाएका छन् । टिमबाट पदाधिकारीमा को—को भिड्ने निश्चित हुन सकेको छैन । आसन्न महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित १३ पदाधिकारी निर्वाचित हुन्छन् ।

संस्थापनइतर पक्षमा सभापतिको उम्मेदवार नै सर्वसम्मत बनाउन सकस देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको उक्त समूहबाट सभापतिका लागि चार जनाको मुख्य दाबी छ । पार्टी र सत्ताको केन्द्रमा रहेका देउवासँग प्रतिस्पर्धा गर्न सहज नभएको भन्दै यस समूहले सभापतिको प्रतिस्पर्धामा एक जना मात्रै अघि सर्न समूहका अन्य नेताले दबाब दिँदै आएका छन् । सभापतिको दाबेदारै टुंगो नलागेकाले अन्य पदाधिकारीको प्यानल बनाउन कठिनाइ देखिएको छ । देउवासँग भिड्न यस पटक पनि वरिष्ठ नेता पौडेल आफैं तम्सिरहेका छन् । यस समूहबाट महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पनि आकांक्षी छन् । 

अरूले आफूलाई सहजै नछाड्ने देखेपछि पौडेलले आफ्नो टिमको बैठकमा एक वर्षका लागि मात्रै सभापति बन्ने नयाँ प्रस्ताव राखेका छन् । सिंह र कोइरालाद्वयबीच सहमति बने आफूले छाडिदिने घोषणा पनि उनको छ । तीन जनाबीच सहमति नभए आफूलाई अभिभावक मानेर छाड्नुपर्ने प्रस्ताव उनले राखेका छन् । शनिबार आफ्नो टिमको बैठकमा पौडेलले आफू हुँदा पनि एक वर्षका लागि मात्रै सभापति बन्ने जनाएका हुन् । तीनै तहको निर्वाचन आफ्नो नेतृत्वमा गरेपछि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने उनको भनाइ छ । 

पौडेलले प्रस्ताव गरेका बेला पूर्वमहामन्त्री सिंह भने भारतमा थिए । देउवा र पौडेल दुवैबाट अब पार्टी चल्न नसक्ने तर्क गर्दै आएका सिंहले भने आफ्नो उम्मेदवारीलाई प्राकृतिक दाबी मानेका छन् । देउवाले आफ्नै पार्टीको महाधिवेशनसमेत समयमा गर्न नसकेर वैधानिक संकट निम्त्याएको, पार्टीलाई संस्थागत ढंगबाट नचलाएको र राष्ट्र तथा जनताको हितमा भन्दा आफ्नो र गुटका लागि काम गरेको सिंहको निष्कर्ष छ । यस्तै अवसर पाएर पनि पौडेलले पार्टीको नेतृत्व लिन नसकेको र पार्टीलाई एक ढिक्का बनाएर लैजान पनि नसक्ने सिंहको भनाइ छ । ‘अब पहिलो पुस्ताबाट पार्टी चल्न सक्दैन । उहाँहरूले आफ्नो समयमा गर्ने जति सबै गरिसक्नुभयो । अब गर्न सक्नुहुन्न । हरेक मान्छेको एउटा समय हुन्छ । त्यो समय देउवा र पौडेल दुवैले पार गरिसक्नुभएको छ,’ सिंहले कान्तिपुरसँग भने, ‘अब पहिलो पुस्तालाई नेतृत्व स्विकारेर यो पार्टी अघि बढ्न सक्दैन ।’ 

देउवाले आफ्नो समूहबाट सभापतिका लागि ठूलो चुनौती महसुस गरेका छैनन् । केही महिनाअघिबाटै उपसभापति विमलेन्द्र निधि उम्मेदवारी घोषणा गरेर उनको समूहबाट अलग भइसकेका छन् । अर्का आकांक्षी गोपालमान श्रेष्ठलाई देउवा फकाइरहेका छन् । सोमबार बोलाइएको बैठकमा श्रेष्ठले देउवालाई भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको जस्तै भूमिकामा बस्न आग्रह गरेका थिए । ‘नरेन्द्र मोदी पार्टी सभापति छैनन् तर प्रधानमन्त्री भइरहेका छन्, तपाईं पनि प्रधानमन्त्री भइराख्नुहोस्,’ श्रेष्ठले भनेका थिए । देउवाले तत्कालै जवाफ दिए, ‘त्यहाँ रामचन्द्र पौडेल छैनन् । यता रामचन्द्र छन् । पार्टीभित्रै विपक्षी भएपछि कसरी हुन्छ ?’ देउवाको आशय पार्टी सभापति नभएसम्म प्रधानमन्त्री हुन नसकिने भन्ने थियो । 

श्रेष्ठले राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएर जेलमा पुर्‍याएको कठिन दिनमा समेत साथ र सहयोग दिँदै आएको उल्लेख गर्दै पार्टी नेतृत्वको दाबी नगरेर प्रधानमन्त्री मात्रै बन्न देउवालाई पटक—पटक आग्रह गरेको एक नेताले बताए । ‘मलाई तपार्इंको उत्तराधिकारीका रूपमा पार्टीको नेतृत्वका लागि अघि बढाउनुभयो भने विमलजीले पनि छाड्नुहुन्छ’ श्रेष्ठको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तपार्इंले छाड्नुभएन भने पनि म चुनाव लड्छु ।’ देउवाले निधिलाई जस्तै श्रेष्ठलाई पनि ‘चुनाव लड्ने अधिकार छ लड्नुहोस्’ भनेका थिए । निधि अब आफ्नो टिममा फर्कन नसक्ने निष्कर्षका साथ देउवाले आफूनिकट नेताहरूलाई तयारीमा जुट्न आग्रह गरेका थिए । बैठकमा निधिलाई बोलाइएको थिएन । श्रेष्ठको उम्मेदवारीलाई देउवाले गम्भीरतापूर्वक लिएका छैनन्, बरु बार्गेनिङका रूपमा अर्थ्याएका छन् । 

दुवै टिमका नेताहरूको मुख्य नजर मंसिर ६ मा हुने क्षेत्रीय अधिवेशनमा केन्द्रित छ । उक्त अधिवेशनबाट कांग्रेसका ४ हजार १ सय २४ महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । भ्रातृ तथा शुभेच्छुक र विदेशस्थित जनसम्पर्क समितिसमेतको प्रतिनिधित्वसमेत गर्दा करिब ४ हजार ५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि हुन्छन् । मंसिर २४ मा राजधानीमा सुरु हुने महाधिवेशनमा तीनै प्रतिनिधिबाट केन्द्रीय कार्यसमिति चयन हुन्छ । आइतबारको केन्द्रीय कार्यसमितिले विधान महाधिवेशन छुट्टै गर्ने निर्णय लिएकाले यस पटकको महाधिवेशनमा नेतृत्व मात्रै चयन हुनेछ । 

सहमहामन्त्री थप्न देउवा पक्षको प्रस्ताव

टिम व्यवस्थापनका लागि सभापति देउवापक्षीय नेताहरूले सहमहामन्त्री पद थप्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबारको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य मीन विश्वकर्मा र गोविन्द भट्टराईले एक महिलासहित तीन सहमहामन्त्री थप गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् । विधानले समावेशी समूहबाट ८ सहमहामन्त्री हुने व्यवस्था गरेको छ । खुला समूहबाट नभएकाले तीन सहमहामन्त्री थप्नुपर्ने तर्क देउवा पक्षको छ । तर पौडेल पक्ष यसलाई स्विकार्ने पक्षमा छैन । 

आफ्नो टिम व्यवस्थापनका लागि सहमहामन्त्री थप्ने प्रस्ताव अघि सारेको भन्दै बैठकमै वरिष्ठ नेता पौडेल र उनको समूहका नेताले विरोध गरेका थिए ।

कांग्रेस महाधिवेशन

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully