पूर्वी नवलपरासीमा देउवा र शशांकको संयुक्त प्यानल

कार्तिक ३०, २०७८

कान्तिपुर संवाददाता

पूर्वी नवलपरासी — केन्द्रीयमा अलग–अलग प्यानलमा रहे पनि जिल्लामा भने कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाको संयुक्त प्यानल बनेको छ । जिल्ला अध्यक्षका लागि सभापति र महामन्त्रीले एउटै व्यक्तिलाई तोक्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरलाई हराउने रणनीति अघि सारेका हुन् ।

कांग्रेस जिल्ला सभापतिका लागि मदनभक्त अधिकारी र महेन्द्रध्वज जीसीले उम्मेदवारी घोषणा गरेका छन् । अधिकारीलाई कोइराला र जीसीलाई पौडेलनिकट भनेर प्रचार गरिएको छ । दुवै शक्ति मिलेर जीसीलाई हराउन सक्रिय भएका हुन् । आठ वटा पालिकाहरूबाट आउने क्षेत्रीय प्रतिनिधि पनि त्यही प्यानल बनेर विजयी भइसकेका छन् । 

जिल्ला उपसभापतिमा धर्म बस्याल, मध्यबिन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर राना र महेन्द्र पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी जिल्ला सचिवमा हालका सचिव बालकृष्ण घिमिरे, करुणासागर सुवेदी, उदय अर्याल, चन्द्रबहादुर दरै, कपिलदेव भुसाल, श्रीधर शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

पूर्वी नवलपरासी, क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा कमल पराजुली र अमृत भट्टचनले उम्मेवारी घोषणा गरेर प्रचारमा जुटेका छन् भने २ मा सभापतिका लागि सूर्य गुरुङ र जगतबहादुर कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस महामन्त्री कोइरालाको जिल्ला भएकाले यहाँका निर्वाचनमा अन्य नेताहरूले पनि उत्सुकतापूर्वक हेरेका छन् । 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन् । यसैगरी उद्योगपति विनोद चौधरीले पनि पहिलो पटक कांग्रेस राजनीतिमा प्रवेश गरेका छन् । कांग्रेसको समानुपातिक कोटाबाट संघीय सांसद रहेका चौधरीले जिल्ला पार्टीको गतिविधिमा ४ वर्षको अवधिमा एक दिन पनि पार्टी राजनीतिमा समय नदिएको आरोप लाग्दै आएको छ । चौधरी केन्द्रीय उपसभापति वा सदस्यको आकांक्षी भनेर उनी निकटस्थ प्रचारमा जुटेका छन् ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully