महाधिवेशन नजिकिँदा कांग्रेस नेता जिल्ला दौडाहामा

कार्तिक २९, २०७८

राजकुमार कार्की

सिन्धुली — १४ औं महाधिवेशनका लागि गठजोड बनाएका कांग्रेस नेता प्रकाशमान सिंह र गगन थापा पाँच दिनअघि हेलिकोप्टरबाट कमलामाई नगरपालिका–१४ को चन्दपुर विद्यालय प्रांगणमा ओर्लिए । अल्टिच्युड एयरको हेलिकोप्टरमा दुवै नेताको साथमा काठमाडौं कांग्रेस सभापति सबुज बानियाँ पनि थिए ।

कांग्रेस सिन्धुली सभापति उज्ज्वल बरालको आमाको शोकसभामा सरिक भएर समवेदना प्रकट गर्न भनी आएका नेताद्वयको टोलीलाई स्थानीय नेता कार्यकर्ताले स्वागत गरे ।

त्यही मेसोमा कांग्रेस वडा नं १४ ले आयोजना गरेको कार्यक्रममा नेतृत्व चयनको बेलामा गुट र नातावाद नत्याग्ने अनि सबल नेतृत्व भएन भनेर पछि पछुताउने गरेको सिंह र थापाले सुनाए । गुट, उपगुट र नातावाद त्यागेर पूर्ण लोकतान्त्रिक र विधि प्रक्रियामा चल्ने कांग्रेस बनाउन आफूहरूलाई मतदान गर्न दुवै नेताले आग्रह गरे । मतदान गरेर नपछुताउने बन्नका लागि सभापतिमा आफूलाई मतदान गर्न सिंहले अनुरोध गरे भने थापाले पद नखुलाई भोट मागे ।

कांग्रेस सिन्धुली सभापति बरालको घर जाँदा दुवै नेतासहितको लावालस्करलाई कार्यकर्ताले मोटरसाइकल र्‍यालीबाट एस्कर्टिङ गरेका थिए । त्यसको ठीक दुई दिनपछि कांग्रेस महामन्त्री शशांक कोइराला बीपी राजमार्ग हुँदै सिन्धुली आएर एक दिन बास बसे । उनको उद्देश्य आसन्न महाधिवेशनमा मत माग्नु नै थियो । सदरमुकाम सिन्धुलीमाडीमा सभापतिका आकांक्षी रहेका चार जनामध्ये बलियो उम्मेदवार आफू नै भएको जिकिर गरे । वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पराजित गर्न आफ्नो टिमबाट बलियो उम्मेदवार आफैं भएको उनले स्थानीय नेता कार्यकर्तालाई जानकारी गराए । महाधिवेशन नजिकिँदै जाँदा कांग्रेस केन्द्रीय नेताहरूको सिन्धुलीमा लर्को लागेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पनि हेलिकोप्टरबाट शनिबार रानीबास आउने पक्कापक्की जस्तै भए पनि अन्तिम समयमा रद्द भएको थियो । चन्दनपुरको विद्यालय प्रांगणमा पौडेललाई स्वागत गर्न सयौं नेता कार्यकर्ताले तीन घण्टा कुरे । सिन्धुपाल्चोकको कार्यक्रम भ्याएर आउने तालिका रहेकोमा पछि रद्द भएको खबर आएको थियो । 

खादामाला लिएर बसेका नेता कार्यकर्ताले पौडेललाई गालीसमेत गरे । शनिबार नै बेलुका रक्षामन्त्री मीनेन्द्र रिजाल रानीबास पुगेका थिए । उनले स्थानीय नेता कार्यकर्ताहरूसँग वर्तमान अवस्थाको जानकारी लिएका थिए । सेनाको गणमा रात बिताएका रक्षामन्त्री रिजालसँग आफ्ना खेमाका नेताहरूले भेटघाट गरेका थिए । वडा तथा पालिका अधिवेशनमा संस्थापन र इतर समूहको नेतृत्व बराबरीजस्तै भएपछि मत तान्ने कसरतमा दुवै पक्ष लागेका छन् । केही समयअघि उपसभापति विमलेन्द्र निधिले समेत सिन्धुली आएर सभापतिमा आफूलाई मतदान गर्न आग्रह गरेका थिए । 

कांग्रेस महाधिवेशन

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully