कांग्रेसमा पुस्तान्तरण हैन, रुपान्तरण जरुरी छ : पौडेल

कार्तिक २९, २०७८

राजकुमार कार्की

सिन्धुली — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रुपान्तरण जरुरी भएको बताएका छन् । युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको बेला नेता पौडेलले नेतृत्व पुस्तान्तरण नभएर कांग्रेसमा रुपान्तरण जरुरी भएको बताएका हुन् । 

कांग्रेस सिन्धुली सभापति उज्ज्वल बरालको आमाको निधनमा समवेदना प्रकट गर्न हेलिकप्टरबाट सोमबार कमलामाइ नगरपालिका रानीवास आएका पौडेलले कांग्रेसलाइ नयाँ बाटोमा नयाँ उर्जा दिएर आफू सफल बनाउने दाबी गरे । महाधिवेशन हुने पक्का भएको भन्दै पौडेलले सभापतिको लागि सरसल्लाह भैरहेको बताए ।

निर्वाचनका बेला केही साथीहरुले अब आफ्नो पालो भन्दै हिँडेको कुरालाइ आफूले महत्व नदिएको पौडेलको जिकिर थियो । साताअघि रानीवासमै नेता प्रकाशमान सिंहले 'रामचन्द्र पौडेल र शेरबहादुर देउवा मिति नाघेको औषधि भएकाले अब सभापतिमा मेरो पालो' भएको बताएका थिए । 'चुनावका बेला त्यस्ता लटरपटर केही कुरा आउँछन् । म त्यस्ता कुरालाई महत्व दिन्‍नँ । माइन्ड गर्दिँन,' पौडेलले भने ।

आगामी चुनावमा गठबन्धन कायम रहनसक्ने प्रति संकेत गर्दै पोडेलले संघीयता र समानुपातिकले गर्दा दलहरुलाई बहुमत ल्याउन गार्‍हो पर्ने भएकाले परिस्थिती अनुसार चल्ने बताए । 

पौडेलले कांग्रेसले मात्र राष्ट्र र लोकतन्त्रलाई जोगाउन सक्ने बताउँदै अन्य सबै दलहरु अवसरवादी भएको बताए । कांग्रेसलाई सत्ताभन्दा पनि व्यवस्थाको चिन्ता रहेको पौडेलको कथन थियो ।

कांग्रेस महाधिवेशन

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully