काठमाडौँ — नेपाल बार एसोसियसनका पूर्वउपाध्यक्ष अधिवक्ता टीकाराम भट्टराईले वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कार्यकालमा न्यायालयमा भ्रष्टाचार र बेथिति बढेको बताएका छन् ।
प्रधानन्यायाधीश जबराले राजनीतिज्ञको भाषा बोलेको पनि उनको आरोप छ । प्रधानन्यायाधीश जबराको विरोधमा सर्वोच्च अदालतमा बारको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता भट्टराईले भने,‘प्रधानन्यायाधीशज्यूले राजनीतिज्ञको भाषा बोल्नु भएको छ । उहाँले सांसद र मन्त्रीले बोल्ने भाषा बोल्नु भएको छ । उहाँले सडकबाट राजीनामा माग्दैमा नदिने बताउनु भएको छ ।’
चुनाव जितेर आउने राजनीतिज्ञले जस्तो भाषा नबोल्न पनि भट्टराईले प्रधानन्यायाधीश जबरालाई आग्रह गरे । ‘नैतिकताको बल र जनआस्थाको आधारमा टिक्ने पद भएकाले प्रधानन्यायाधीशले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ अधिवक्ता भट्टराईले भने, ‘चुनाव जितेर आएका सांसदले जस्तो भाषा बोल्न मिल्दैन । म सोध्न चाहन्छु प्रधान्यायाधीशज्यूको क्षेत्र कुन हो ?’
अधिवक्ता भट्टराईले नैतिक रूपले पदमा बसिरहने अधिकार नभएको पनि बताए । ‘आन्दोलनको आँधीबेहरीले बाहिरिनुभन्दा तत्काल प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमनको बाटो रोज्नु उपयुक्त हुन्छ,’ भट्टराईले भने ।
प्रधानन्यायाधीश जबराको कार्यशैली र नेतृत्वमाथि प्रश्न उठाउँदै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरू निरन्तर आन्दोलनमा छन् । आइतबारदेखि सुरु भएको कालोपट्टी विरोधको आन्दोलन सकिएपछि तिहारपछि अर्को आन्दोलन घोषणा गर्ने बारले जानकारी दिएको छ ।
