काठमाडौँ — नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संविधानको सीमा ननाघेको भन्दै अदालतभित्रैबाट अहिले देखिएको समस्या समाधान खोजिनुपर्ने बताएका छन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतले प्रधानन्यायाधीश र न्यायाधीशहरु मिलेर समस्या समाधान खोज्नुपर्ने र त्यही विषय नै पार्टीको आधिकारिक धारणासमेत भएको बताए । 'प्रधानन्याधीशले संविधानको सीमा नाघेका छैनन् । संविधानको सीमा नाघेमा मात्र संसद्को भूमिका आउँछ,' महतले भने, 'प्रधान्यायाधीशले संविधानको सीमा नाघे संसद् बोल्छ । अहिले यसरी संविधानको सीमा नाघ्यो भनेर आएको छैन ।'
महतकाअनुसार अदालतभित्र देखिएको समस्याको समाधान त्यहाँ नै खोजिनु पर्छ । 'न्यायालयभित्र अलमल र भएको समस्या समाधान त्यहाँका न्यायाधीश र प्रधानन्यायाधीश मिलेर अन्त्य गर्नुपर्छ । त्यहीँबाट निकास निस्कोस् र रोकिएका काम बढोस् न्यायसम्पादन अघि बढोस्,' महतले भने, 'हाम्रो अहिलेको आधिकारिक दृष्टिकोण यही हो ।'
कांग्रेसका १२ जना केन्द्रीय सदस्यहरुले विज्ञप्ति जारी गर्दै पार्टी न्यायपालिकामा भइरहेको घटनामा मौन बस्न नहुने र आधिकारिक धारणा माग गरेको तेस्रो दिन महतको यस्तो भनाइ सार्वजनिक भएको हो । महत कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायपालिका नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन् । त्यसैगरी नेपाल बार एसोसिएसनले पनि राजिनामाका लागि अल्टिमेटम दिँदै आइतबारबाट धर्नासहितको विरोधको कार्यक्रम सुरु गरेको छ ।
