काठमाडौँ — नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरुको मापदण्ड अनुमोदन गर्नका लागि केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
बिहीबार भएको स्थायी कमिटीको बसेको बैठकले महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने गरी मापदण्ड तयार पारेको छ ।
बिहीबार बसेको स्थायी कमिटीको प्रस्ताव गरेको मापदण्डअनुसार पार्टीको भूगोल कमिटीबाट १ हजार १ सय ९६ प्रतिनिधि निर्वाचित भएर आउनेछन् । पदेन प्रतिनिधि २६२ र यसको ५ प्रतिशत मनोनयन हुनेछन् ।
केन्द्रीय कार्यालय र विभागसहित ३, पार्टीका जनसंगठनहरूबाट ५–५, समग्र प्रवास कमिटीबाट २०, प्रत्येक प्रदेश कमिटीबाट मजदुर प्रतिनिधि १ र प्रत्येक जिल्लाबाट १ दलित प्रतिनिधि हुनेछन् । यो प्रतिनिधिको संख्या वैचारिक विषयलाई निर्धारण गर्न गत महिना ललितपुरको गोदावरीमा भएको पहिलो विधान महाधिवेशन भन्दा करिब एक चौथाइ कम हो ।
ललितपुरको च्यासलस्थित तुल्सी लाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । 'वडा तथा पालिका अधिवेशनको विषयमा रिपोर्टिङ र समीक्षा तथा महाधिवेशनको प्रतिनिधिहरुको मापदण्ड निर्धारण गर्ने अजेण्डा रहेको छ,' एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
मंसिरको १० देखि १२ सम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्ने छ ।
