एमाले पालिका अधिवेशन : नेताहरूबीचको विवाद कायमै

गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालले श्रीमतीलाई पालिका अध्यक्ष बनाउनुपर्ने अडानले रोकियो

कार्तिक १२, २०७८

अगन्धर तिवारी

पर्वत — जिल्लादेखि केन्द्रसम्मका नेताबिच विवाद चुलिंदै गएका कारण पर्वतका पालिकाको अधिवेशन अन्योलमा परेका छन् । नेताले आफ्नो स्वार्थअनुकुल गर्न खोजेपछि अन्तिम चरणमा पुगेको फलेबास नगरपालिकासंगै जिल्लाका ६ पालिकाको अधिवेशन अन्योल भएको हो ।

मंगलबार तोकिएको पालिकाको अधिवेशन अन्तर्गत जिल्लाका ३ पालिकामा सुरु भएको थियो । तोकिएको समयभन्दा निकै ढीलागरि जलजला र पैयुंमा नेतृत्व चयन भए पनि फलेबासमा भने नेतृत्व चयन हुन सकेन । फलेबासकै स्थानीयबासी एवं गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालले सहमतीकै प्रयासमा आफ्नै श्रीमतीलाई पालिका अध्यक्ष बनाउन खोजेपछि विवाद उत्पन्न भएको हो । नगरप्रमुख एवं जिल्ला पार्टी सचिव पदमपाणि शर्मालगायतका नेताले निर्वाचनको प्रक्रियामा जाने भनेपछि लम्सालले सहमतिमा श्रीमतीलाई अध्यक्ष बनाउनुपर्ने अडान लिएका थिए ।

तर, नगरप्रमुख शर्माका समर्थकले लम्साललाई ‘पालिकाभित्र तपाईंको मात्रै हैकम चल्दैन’ भन्दै कार्यक्रमस्थलबाट फर्काइदिएका थिए । एक स्थानीय नेताका अनुसार पालिकाको अधिवेशनमा लम्सालले आफूइतरका व्यक्तिलाई बढारेर जान खोजेपछि नगरप्रमुख शर्माका समर्थकले अधिवेशन नै रोकेका हुन् । नगरपालिकामा एमालेबाट निर्वाचित ९ मध्ये नगरप्रमुखको पक्षमा ७ वडाध्यक्ष छन् ।

यसैगरी कुश्मा नगरपालिका, मोदी, बिहादी र महाशिला गाउँपालिकाको अधिवेशन अझै अन्योलमै छ । महाशिलाका प्रवक्ता एवं एमाले जिल्ला सचिवालय सदस्य जीवन उचैठकुरीका अनुसार वडाको अधिवेशन सकिएपछि मात्रै पालिकाको अधिवेशन सुरु गर्नेगरि कार्यतालिका बनाइएको छ । ‘दुईवटा वडाको अधिवेशन सकियो,’ उनले भने, ‘अब बाँकी चारवटाको सकेपछि सम्भवतः १५ गते पालिकाको अधिवेशन हुन्छ ।’ यसअघिको अधिवेशनमा माधव नेपाल समूहबाट अध्यक्षमा उम्मेदवारी दिएर हारेका महाशिला अध्यक्ष राजु पौडेलले आफूअनुकूलको नेतृत्व चयन गर्ने मनसायमा रहेका कारण महाशिलाका वडाको अधिवेशनसमेत पछि सरेको हो ।

एमाले जिल्ला कार्यसमितिका केही पदाधिकारीका अनुसार जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व गर्नेका आ–आफ्नै स्वार्थका कारण पालिकाको अधिवेशन समयमा हुन नसकेको हो । एक नेताका अनुसार पछिल्लो समय केन्द्रमा देखिएको खटपटको असर पर्वतमा गम्भीर रुपले परेको छ । अघिल्लो अधिवेशनमा एकै स्थानमा उभिएका संघीय सांसद पदम गिरी र प्रदेश सांसद विकास लम्साल फरक कित्तामा छन् । त्यस्तै तत्कालीन समय नेपाल समूहमा लागेका उपाध्यक्ष भक्त कुँवर र सचिव पदमपाणि शर्मालगायत केही नेताहरूको एउटा समूह छ । महाशिला अध्यक्ष पौडेलको छुट्टै समूह छ ।

प्रदेश सांसद लम्साल र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पछिल्लो समय एकै कित्तामा छन् । जिल्लाको हरेक राजनीतिक गतिविधिमा लम्साल र तिमिल्सिनाले एकलौटी गर्न खोजेपछि संघीय सांसद गिरीलगायतको समूह चिढिएको कार्यसमितिका एक पदाधिकारीले बताए । ‘उहाँहरूको यस्तै गतिविधि बढ्दै गए आगामी आम निर्वाचनमा यसले गम्भीर असर गर्छ । त्यो असर अहिले नै पालिका अधिवेशनमा देखिएको छ । हामी मिलाएर जाने प्रयत्नमै छौं,’ ती पदाधिकारीले भने ।

स्रोतका अनुसार राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, संघिय सांसद पदम गिरी, प्रदेश सांसद एवं पूर्वमन्त्री विकास लम्साल, जिल्ला उपाध्यक्ष भक्त कुँवर र सचिव पदमपाणि शर्माले हरेक पालिकामा आफूअनुकूलको नेतृत्व चाहेका छन् । आसन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा टिकट लिन, मत प्रभावित पार्न र केन्द्रीय नेतृत्वसँग बार्गेनिङ गर्न पनि वडा, पालिका र जिल्लास्तरका नेतृत्व आफूअनुकूल ल्याउन प्रतिस्पर्धा चलिरहेको छ । अहिले पर्वतमा एमाले नेताहरू चार समूहमा विभाजित भएको पार्टीका एक पदाधिकारीले बताए ।

म्याग्दी संवाददाताका अनुसार एमाले म्याग्दीको पालिका अधिवेशनमा ६ मध्ये ५ पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएका छन् । बेनी नगरपालिकामा नारायण जिसी अध्यक्ष चयन भएका छन् । अर्का आकांक्षी चन्द्रकुमार केसीबिच सहमति जुट्न नसकेपछि जिल्ला इन्चार्ज, अध्यक्ष समेतका हाइकमान्डलाई अध्यक्ष चुन्न जिम्मेवारी दिएकोमा हाइकमान्डले दुई दिन लगाएर अध्यक्ष चयन गरेको हो । रघुगंगा गापामा दीपक कार्की, मंगलामा सतप्रसाद रोका, मालिकामा वेगप्रसाद गर्वुजा र धवलागिरी गापामा होमबहादुर थापा क्षत्री अध्यक्ष चुनिएका छन । अन्नपूर्ण गाउँपालिकामा भने कात्तिक १५ मा अधिवेशन तोकिएको छ ।

पूर्वी नवलपरासी संवाददाताका अनुसार सदरमुकाम रहेको कावासोती नगरपालिकामा एमाले नगर कमिटीमा रामकृष्ण ढुंगाना अध्यक्षमा सर्वसम्मत भएका छन । मंगलबार सुरु भएको नगर अधिवेशनअनुसार बुधबार मध्यरातमा सर्वसम्मत घोषणा गरिएको हो । अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो । जिल्ला नेतृत्वले प्रतिस्पर्धीबिच निर्वाचन हुन नदिएर सर्वसम्मत नेतृत्व चुनिन पर्ने दबाब दिएको प्रतिस्पर्धी एक उम्मेदवारले बताए । यसैगरी देवचुली नगर अध्यक्षमा कृष्ण केसी दोहोरिएका छन् । 

एमाले पोखरामा न्यौपाने

एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने बिहीबार सर्वसम्मत चयन भएका छन । मंगलबार सुरु पालिका अधिवेशनमा अध्यक्षमा ५ जनाको उम्मेदवारी परेपछि अधिवेशन रोकिएको थियो । बिहीबार मतदान प्रक्रियाका लागि मतपत्र र मतपेटीकासमेत तयार भइसकेको अवस्थामा नेतृत्व सर्वसम्मत गर्ने छलफल भएको थियो । हालका अध्यक्ष दीपक पौडेल, धनबहादुर नेपाली, तेजनारायण अधिकारी र हरि त्रिपाठीले नेतृत्वको दाबी छोडेपछि न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

यसैगरी उपाध्याक्षमा राजकुमारी भुजेल, सचिवमा जीवन आचार्य तथा उपसचिवमा रामचन्द्र थापा र सीता विक आएका छन । 

एमाले महाधिवेशन

अगन्धर

Link copied successfully