ओलीको कटाक्ष - यो सरकार दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आफ्ना नागरिकको र नेपालको न्यायको लागि बोल्नसम्म नसकेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विधान महाधिवेशनको अन्तिम दिन आइतबार समापन सम्बोधन गर्दै ओलीले नेपालीको न्यायको लागि देउवा सरकार बोल्न पनि नसकेको अभिव्यक्ति दिएका हुन् ।


दार्चुलाका स्थानीय जयसिंह धामी तुइन तर्दा भारतीय एसएसबीले तुइन काट्दा महाकालीमा बेपत्ता भएको घटनातर्फ संकेत गर्दै ओलीले सरकारको आलोचना गरेका हुन् ।
ओलीले भने, 'तुइन काटेर, मान्छे झराएर मराइन्छ एउटा नेपाली । यो सरकार नबोल है भनेर पत्रकारलाई सर्कुलर गर्छ । छानबिन समिति बनाउँछ र त्यसले भन्छ यसरी दुर्घटना भएको हो तुइन काटिएको हो । त्यो रिपोर्ट लुकाउन हाइतौबा हुन्छ ।'
आफ्नो न्यायका लागि बोल्न पनि नसकेको भन्दै सरकारप्रति ओलीले कटाक्ष गरे, 'यो सरकार दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन । उनीहरूसँग भन्ने कुरा त छोडिदिउँ । आफूले न्याय पाउनका लागि बोल्न पनि सक्दैन भने कस्तो सरकार होला ?'
नेपाली आकाशमा विदेशी हेलिकोप्टर उडेको हो कि होइन पनि सरकार भन्न नसकेको ओलीको भनाइ थियो । 'अरुलाई अरुको धन्दा यो सरकारलाई खानको धन्दा । यो सरकारलाई अरु मतलब छैन,' उनले भने ।
प्रकाशित : आश्विन १७, २०७८ १७:२३