ओलीमय एमाले विधान महाधिवेशन

होर्डिङ बोर्ड तथा सवारीसाधनका फ्लेक्सदेखि पानीको बोतलसम्ममा ओलीको तस्बिर
महाधिवेशनस्थलमा अध्यक्ष ओली मात्रै छाएको देखेपछि केन्द्रीय सदस्य झपट रावलले सामाजिक सञ्जालमा लेखे, ‘म कार्ल मार्क्स, लेनिन, पुष्पलाल, मदन र मनमोहन खोजिरहेको छु !’ 
जयसिंह महरा

काठमाडौँ — करिब तीन हजार राता कुर्सी र भव्य मञ्चमाथि ‘हँसिया हथौडा’ को मधुरो संकेत छ । हँसिया हथौडा भने ‘सूर्य’ को बीचमा छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र एमालेको विधान महाधिवेशनका लागि राष्ट्रिय झन्डा, पार्टीको झन्डा र चुनाव चिह्नले सजाइएको छ ।

ओलीमय एमाले विधान महाधिवेशन

महाधिवेशनस्थलका होर्डिङ बोर्ड, ‘स्ट्याचु’ तथा सवारीसाधनका फ्लेक्सदेखि पानीको बोतलसम्ममा भने एमाले अध्यक्ष केपी शर्मा ओलीको फोटो छाएको देखिन्छ । महाधिवेशनस्थलमा अध्यक्ष ओली मात्रै छाएको देखेपछि केन्द्रीय सदस्यसमेत रहेका सांसद झपट रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कार्ल माक्र्स, लेनिन, पुष्पलाल, मदन र मनमोहन खोजिरहेको छु !’

विधान महाधिवेशन शुक्रबार दिउँसो १२ बजे सुरु हुने भनिएको थियो । त्यसअघि नै सभाहलका कुर्सी भरिन थालेका थिए । मञ्चमा शीर्ष नेताहरूका लागि सोफा राखिएको थियो भने हलको पहिलो लहर सांसद र केन्द्रीय सदस्यहरूका लागि छुट्याइएको थियो । त्यसपछि ओहदाअनुसार सिटको विभाजन गरिएको थियो । ओहदा र कुर्सीको मेल गराउन ज्याकेटमा ‘नेकपा एमाले’ लेखिएका स्वयंसेवक खटिएका थिए ।

सभाहलको क्षमता ३ हजार जना अट्ने भए पनि महाधिवेशनका लागि ६ हजार ३ सय ४७ जना प्रतिनिधि थिए । मूल हलमा नअटेकाहरूका लागि दुई फरक हलमा प्लास्टिकका कुर्सी व्यवस्था गरेर ठुल्ठूला स्क्रिन राखिएका थिए । ती स्क्रिनमा मूल हलमा भइरहेका गतिविधि देखाइएको थियो । अपराह्न १ बज्दै गर्दा अध्यक्ष ओलीलाई पार्टीका युवा कार्यकर्ता र सुरक्षाकर्मीले एस्कर्टिङ गरेर महाधिवेशनस्थलमा पुर्‍याए । ओलीको प्रवेशसँगै हलका कुर्सी मात्रै नभई खाली ठाउँमा समेत कार्यकर्ता बसेका थिए ।

राष्ट्रिय गान र कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय गीत गुन्जिएपछि मौन धारण गराइएको थियो । त्यसपछि कार्यक्रम सञ्चालक प्रदीप ज्ञवालीले मनमोहन अधिकारी र केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामको चर्चा गर्न थाले । ओली सरकारले राम्रा काम गरिरहेका बेला जनादेशले नभई सर्वोच्च अदालतको परमादेशले हटाइएको बताए ।

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुअघि अश्विनी भेटवालले तयार पारेको ‘उपहार’ भिडियो प्रस्तुत गरिएको थियो, जसमा ओलीले भूग्रहमा मात्र नभई ब्रह्माण्डमा समेत उपस्थिति जनाएको भनिएको छ । राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा ओलीले अस्वस्थ महसुस गरे । करिब ५० मिनेट प्रतिवेदन वाचन गरेपछि उनले रुघाखोकीले समस्या भएको भन्दै शंकर पोखरेललाई प्रतिवेदन वाचन गर्ने जिम्मेवारी सुम्पिए ।

ओलीले प्रतिवेदन वाचन गर्ने क्रममा नै कोही प्रतिनिधि उँघेका थिए भने कोही–कोही बाहिरिँदै थिए । पोखरेलले अध्यक्षको प्रतिवेदन वाचन गरिसक्ने बेलासम्म धेरै कुर्सी खाली भइसकेको थियो । बाहिर भने चलहपहल देखिन्थ्यो । कोही प्रतिनिधिले महाधिवेशनस्थल नै छाडिरहेका थिए, कोही ओलीको स्ट्याचुसँग तस्बिर खिचिरहेका थिए ।

पोखरेलले प्रतिवेदन प्रस्तुत गरिसकेपछि पुरुषोत्तम भण्डारी ‘फुर्के बा’ लाई ज्ञवालीले मञ्चमा बोलाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतमाथि छेडखानी गरे भने ओली र एमालेको प्रशंसा गरे । एमालेको कलाकार संगठनका केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले ‘जति रोए नि रामकुमारीसँग रोऊ माधव, एमालेले देख्ने गरी रुन हुँदैन’ भन्दा एमालेका नेता र कार्यकर्ताले ताली पिटेका थिए । सम्मेलन केन्द्रमा अनेरास्ववियुले ‘बौद्धिक खुराक’ भन्दै ओली नेतृत्वको सरकारका ‘१०१ उपलब्धि’ लेखिएको पर्चा बाँडेको थियो ।

खाजा समयपछि एमाले महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । पोखरेलले संगठनात्मक प्रस्ताव प्रस्तुत गर्ने क्रममा बाहिरका दुई हलका कुर्सी खाली भइसकेका थिए । मूल हलबाट प्रतिनिधि बाहिरिने क्रम पनि जारी थियो । पोखरेलपछि पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधान महाधिवेशनलाई नेताहरूले देशभरका कार्यकर्ताबीच भेटघाटको अवसरमा रूपमा अथ्र्याइरहेका थिए । पार्टी विभाजन भएका बेला भेलाले कार्यकर्तामा ऊर्जा भर्ने उनीहरूको भनाइ थियो । एमाले उपमहासचिव घनश्याम भुसालले भने माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपानेलगायत नेताको अभाव खड्किएको बताए । ‘हाम्रो आन्दोलनमा त्यति लामो समय लाग्नुभएका साथीहरूको अभावै खड्किँदैन भन्नु उद्दण्डता हुन्छ भन्ने लाग्छ मलाई,’ ओलीको ठूलो तस्बिर भएको फ्लेक्समुन्तिर उभिएर पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा उनले भने, ‘तर भावनाले चल्दैन फेरि पनि । भावनाले चल्थ्यो भने उहाँहरू यहीं बस्नुहुन्थ्यो । यो राजनीतिको सच्याइ हो कि हामी राजनीतिक मुद्दामा एक ठाउँमा रहन सकेनौं ।’

प्रदेश १ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य भीम आचार्यले तीन दिन चल्ने विधान महाधिवेशनले एमालेभित्रको वैचारिक मतभेदलाई अन्त्य गर्ने बताए । ‘ठीक खालको राजनीतिक कार्यदिशा अवलम्बन गर्न र सुसंगठित पार्टी निर्माणका लागि विधान तयार हुन्छ,’ उनले भने । सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले भने विधान महाधिवेशनपछि पार्टीभित्रको अराजकताको अन्त्य हुने दाबी गरे । ‘एमालेभित्रका अराजकता, अनुशासनहीनता अन्त्य गर्छौं । अनुशासित, सशक्त पार्टी नीति बनाउँछौं,’ उनले भने ।

एमालेमा सामूहिकता हराउँदै एकल नेतृत्व अगाडि आएको भन्ने पत्रकारको प्रश्नमा उनको भनाइ थियो, ‘त्यो शतप्रतिशत गलत हो । यो कम्युनिस्ट आन्दोलनका विरुद्धमा गरिएको सुनियोजित षड्यन्त्र हो । एमाले मात्रै कार्यकर्तालाई सार्वभौमसत्तासम्पन्न बनाउने पार्टी हो । सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी हुन्छ ।’

प्रकाशित : आश्विन १६, २०७८ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?