१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
एमाले विधान महाधिवेशन

गोदावरीमा ‘ग्रेटहल’ को झल्को

एमालेको विधान महाधिवेशनको हल, स्टेजको डेकोरेसन र ओलीलाई गरिएको ‘प्रोजेक्सन’ चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं सम्मेलनसँग मिल्दोजुल्दो देखिन्छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको महाधिवेशनस्थल गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिर्दा ठूलो भिडभाड छिचोल्नुपर्छ । प्रतिनिधिहरूको भीडभाडबाट भित्र पसेपछि दुइटा कुरा फरक देखिन्छन्, एउटा हलको भव्यता र अर्कोचाहिँ विधान महाधिवेशनका लागि तयार गरिएको स्टेजको पृष्ठभूमि  । स्टेजको पृष्ठभूमि बेइजिङस्थित ‘ग्रेट हल अफ  द पिपल’ भएको चिनियाँ कम्युनिष्ट पार्टीको (सीपीसी)को १९ औं राष्ट्रिय सम्मेलनको डेकोरेसनसँग मिल्दोजुल्दो छ । अनि हलको डिजाइन ‘ग्रेट हल अफ  द पिपल’ जस्तो लाग्छ । 

गोदावरीमा ‘ग्रेटहल’ को झल्को

एमाले स्थायी कमिटी सदस्य विष्णु रिमालका अनुसार यो डेकोरेसन संयोग मात्र हो । उनका अनुसार १० औं महाधिवेशनको तयारीको झल्को दिनेगरी स्टेजको पृष्ठभूमिमा दुवैतर्फ पाँच–पाँचवटा राता पर्दालाई डिजाइन गरिएको हो ।

यीचाहिँ आवरणमा देखिने दृश्य भए । तर शुक्रबारबाट सुरु भएको महाधिवेशनको अन्तर्यको अर्को पाटो पनि सीपीसीको १९ औं राष्ट्रिय सम्मेलनसँग मिल्दोजुल्दो छ । चिनियाँ कम्युनिस्ट पार्टीले १९ औं सम्मेलनबाट राष्ट्रपति सी चिनफिङलाई शक्तिशाली बनाउने निर्णय गरेको थियो । यता एमालेको यो विधान महाधिवेशनबाट ओली शक्तिशाली भएको स्पष्ट दृश्य देखिन्छ । यति मात्र फरक छ सीपीसी कम्युनिस्ट मोडलमा छ । तर एमालेको राजनीतिक दर्शनचाहिँ लोकतान्त्रिक छ ।

विगतमा एमालेका महाधिवेशनहरूमा सैद्धान्तिक वैचारिक बहस हुन्थ्यो । यो पटक त्यस्तो विवादका कुनै विषय अहिलेसम्म ठोस रुपमा प्रकट भएका छैनन् । पार्टीभित्र विमति राख्ने नेताहरूको माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम बाहिरिएपछि गोदावरीका दृश्य ‘ओलीमय’ देखिए ।

काठमाडौंदेखि गोदवरीसम्म बिजुलीका पोल र गेटका ब्यानरमा ओली नै छन् । मार्क्स, मदन भण्डारीसँगै ओलीका डमी महाधिवेशनस्थलमा राखिएका छन् । धेरैवटा डमी ओलीका मात्र छन् । त्यसमा उभिएर फोटो खिचाउनेहरू बर्गेल्ती देखिन्छन् । पानीका बोलतमा महाधिवेशनको लोगो मात्र छैन, ओलीकै तस्बिर पनि छ ।

शुक्रबार बिहानैदेखि महाधिवेशनस्थलमा प्रतिनिधि, पर्यवेक्षकहरूको भीडभाड थियो । ओली मध्यान्ह महाधिवेशनस्थलमा छिरेपछि महाधिवेशनस्थलको रौनक फरक देखियो । ओलीलाई युवाहरूले स्कर्टिङ गर्दै कार्यक्रमस्थलमा पुर्‍याए । महाधिवेशन हलको प्रतिनिधि छिर्ने भन्दा फरक गेटबाट ओलीको प्रवेश गर्ने व्यवस्था मिलाइएको थियो ।

त्यहाँ उनलाई स्वागत गर्ने मुख्य नेताहरूमा यसपटक रामबहादुर थापा पनि थिए । थापा माओवादीबाट एमाले प्रवेश गरे पनि एमालेले अघि सारेको जनताको बहुदलीय जनवादको उनी खास अनुयायी बनेका छन् । ओली छिर्नेबित्तिकै उनलाई दुबोको माला लगाएर स्वागत गरियो ।

गोदावरीको महाधिवेशनस्थलमा विगतमा जस्तो कम्युनिस्ट पार्टीका नेताहरूका तस्बिर र उनीहरूले बोलेका भनाइहरू पनि राखेका दृश्य धेरे देखिन्थे । यसपटक त्यस्ता कुनै भनाइहरू धेरै राखिएका छैनन् । स्टेजको पछाडिपट्टि ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’को ब्यानर टाँगिएको छ ।

शुक्रबारको बैठकमा ओलीसहितका नेताहरूका प्रतिवेदन पेस भएका छन् । ती प्रतिवेदनमाथि शनिबार समूहगत छलफल हुनेछ । छलफल जे भए पनि ओलीको प्रतिवेदनलाई चुनौती दिने कुनै समूहको आवाज बलियो छैन । त्यसैले अब दुई दिन चल्ने महाधिवेशनले ओलीलाई आगामी नेतृत्वका लागि अघि बढ्ने थप आधार तयार गर्ने देखिन्छ ।

प्रकाशित : आश्विन १५, २०७८ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?