दुई दशकपछि सभापति चुन्दै काठमाडौं महानगर

आश्विन १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरमा कांग्रेसले दुई दशकपछि सभापति चयन गर्दै छ । २०५३ सालमा भएको १० औं महाधिवेशनमा सुरेन्द्र मिश्र सभापतिमा निर्वाचित भएयता महानगरले नेतृत्व छान्न सकेको छैन । मिश्रले हालका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई पराजित गरेका थिए ।

११ र १२ औं महाधिवेशनका बेला स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा पार्टीले कार्यसमिति निर्माणमा खासै चासो दिएन । १३ औं महाधिवेशनमा महानगर अधिवेशनबाट नेतृत्व चयन गर्न खोजिए पनि निर्वाचन प्रक्रिया व्यवस्थित गर्न नसक्दा सम्भव भएन । यसपटक महानगरमा कांग्रेसका करिब २० हजार क्रियाशील सदस्य छन् । १३ औं महाधिवेशनमा पालिकाको नेतृत्व चयन गर्दा क्रियाशील सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था थियो ।

‘हजारौं व्यक्ति चुनावको लाइनमा उभिएपछि सदस्य हो कि होइन भन्ने ठम्याउनै समस्या हुने देखियो, पार्टी निर्वाचन आयोगले परिचयपत्रको पनि व्यवस्था गरिदिएन,’ महासमिति सदस्य अधिकारीले भने, ‘त्यसैले यसअघि काठमाडौं महानगरमा चुनाव हुनै सकेन ।’

यसपटक भने पार्टीले स्थानीय तह निर्वाचनमा क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरेको छ । महानगरको अधिवेशनका लागि वडा अधिवेशनबाट प्रतिनिधि छानिएर आउँछन् । ती प्रतिनिधिले महानगर र जिल्ला कार्यसमिति निर्माणका लागि मतदान गर्छन् । यसपटक महानगरमा सभापतिका लागि नीलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा हुँदै छ । शाक्यलाई सिंह र रञ्जितलाई प्रधान समूहको समर्थन रहेको छ ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully