कांग्रेस महाधिवेशन : काठमाडौंमा प्रकाशमानविरुद्ध गठजोड

पार्टीको केन्द्रीय चुनावी परिणामलाई प्रभावित गर्ने मत भएकाले काठमाडौंको राजनीतिमा सभापति शेरबहादुर देउवाको समेत चासो

आश्विन १५, २०७८

कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेस राजनीतिमा प्रकाशमान सिंहको परम्परागत गढ मानिने काठमाडौंमा उनीविरुद्ध गठजोड बनेको छ । पार्टीको केन्द्रीय चुनावी परिणामलाई प्रभावित गर्ने मत भएकाले यसपटक सभापति शेरबहादुर देउवाले समेत काठमाडौंको राजनीतिमा बढी चासो देखाएका छन् ।

१० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको काठमाडौंबाट भूगोल र अन्यसमेत गरी झन्डै पौने ३ सय महाधिवेशन प्रतिनिधि छानिन्छन् । यो संख्या कर्णाली प्रदेशको हाराहारी हो । त्यसैले सिंहले आफ्नो प्रभुत्व जमाइराख्न र उनीइतर समूहले पराम्परागत गढ भत्काउन प्रयास गरिरहेका छन् । अहिले काठमाडौंमा सिंहलाई जिल्ला सभापति सबुज बानियाँ र नेता राजुराज जोशीले साथ दिएका छन् । विपक्षमा सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको गठजोड बनेको छ । सिटौलापक्षीय नेता भीमसेनदास प्रधानको नेतृत्वमा केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित र नेताहरू तीर्थराम डंगोल, उपेन्द्र कार्की, दामोदर खड्का, राजु श्रेष्ठलगायत उक्त टिममा छन् ।

करिब २० हजार क्रियाशील सदस्य रहेको काठमाडौंमा जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि छान्नका लागि ४ हजार २ सय क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको ‘ग्रास रुट’ मा प्रत्यक्ष प्रभाव छैन । पौडेलले सिंह र सिटौलाले प्रधानमार्फत आफ्नो समूहमा लाभ जोडिरहेका छन् । देउवाले भने पछिल्लो समय आफ्नो समूहको प्रभाव विस्तार गर्दै लगेका छन् । नुवाकोटबाट काठमाडौं आएका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित, प्रदेशसभा सदस्य नरोत्तम वैद्यमार्फत उनी काठमाडौंको राजनीतिमा छिरेका छन् । राष्ट्रिय परिदृश्यबाट हेर्दा पौडेल र देउवा–सिटौला समूहबीचको प्रतिस्पर्धा जस्तो देखिए पनि यसपटक काठमाडौंको भित्री राजनीति सिंह भर्सेस प्रधान बनेको छ । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौंको निर्वाचनलाई लिएर देउवा र प्रधानबीच बैठक भएको थियो । स्रोतका अनुसार सिटौला समूह जिल्ला सभापति देउवालाई दिन तयार भएको छ । देउवाले पार्टी विभाजनको बेला कांग्रेस (प्रजातान्त्रिक) को जिल्ला सचिव रहेका वरिष्ठ अधिवक्ता दामोदर 

खड्कालाई सभापतिको उम्मेदवार बनाउन चाहेका छन् । यद्यपि क्षेत्रीय सभापतिद्वय उपेन्द्र कार्की र राजु श्रेष्ठ पनि आकांक्षी छन् । ‘शेरबहादुर दाइ (देउवा) ले ‘तिमी तयारी गर’ भनेर खड्कालाई भनिसक्नुभएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘अहिले जतिसुकै आकांक्षी भए पनि प्रतिस्पर्धामा भने एक जना मात्र जानुहुन्छ ।’

सिंह समूहले वर्तमान सभापति बानियाँलाई अघि सार्ने भएको छ । काठमाडौं जिल्ला सभापति हुँदै पार्टीको महामन्त्री र उपसभापति भएका सिंहले यसपटक काठमाडौं महानगर र जिल्लाको निर्वाचनलाई मिहीन ढंगले तयारी गरिरहेका छन् । संस्थापक नेता गणेशमान सिंह पुत्र हुनुको पारिवारिक विरासतको लाभ पनि उनले पाइरहेका छन् । सिंहइतर समूहले भने लिगेसीको भरमा सिंहले लामो समयसम्म एकछत्र राज गरेको विषयलाई एजेन्डा बनाइरहेको छ । ‘राजनीतिमा लिगेसीको नाममा पैतृक सम्पत्ति नामसारी गरेजसरी निरन्तर लाभ लिनु राम्रो होइन,’ सिटौला समूहका महासमिति सदस्य 

हरिहर अधिकारीले भने, ‘क्षमता र प्रतिभा भएको सामान्य मान्छे पनि अघि बढ्ने वातावरण हुनुपर्छ भनेर हामीले पैरवी गरिरहेका छौं ।’ सिंहले आफूइतरका कार्यकर्तालाई चाक्सीबारीमा बोलाएर भावनात्मक रूपमा प्रभावित गर्ने रणनीति प्रयोग गरिरहेका अधिकारीको दाबी छ । 

सहमहामन्त्री महत र केन्द्रीय सदस्य गगन थापा पनि काठमाडौंको कांग्रेस राजनीतिमा बलियो प्रभाव राख्ने नेता हुन् । महत काठमाडौंका लागि नयाँ भएकाले देउवाको समूह विस्तार गर्नेमै केन्द्रित छन् । महत २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा प्रवेश गरेपछि बल्ल देउवा समूहले चलखेल गर्न पाएको हो । काठमाडौं–४ बाट लगातार दुई पटक निर्वाचित थापा जिल्ला निर्वाचनमा सिंहको पक्षमा उभिएका छन् । महानगर सभापतिका लागि सिंह समूहबाट नीलकाजी शाक्य उमेद्वार बनेका छन् भने थापाले सचिवमा सुसन बैद्यलाई अघि सारेका छन् । 

महानगरमा शाक्य र रञ्जित भिड्दै

जिल्ला अधिवेशनको मिति तोकिइनसकेको भए पनि शनिबार हुने काठमाडौं महानगर र अन्य १० नगरपालिकाको निर्वाचनको तयारी हेर्दा कडा प्रतिस्पर्धा हुने देखिएको छ । अधिकारीले महानगरका ३२ वटै वडामा दुई पक्षबीच कडा प्रतिस्पर्धा हुने बताए । ‘वडा सभापतिलाई आधार मान्ने हो भने दुवै समूहको अवस्था हाराहारी देखिन्छ, एक–दुईले मात्र तलमाथि होला,’ उनले भने । सिंह समूहका जिल्ला सभापति बानियाँले केही वडामा निर्वाचन र केही वडामा सर्वसम्मत भए पनि महानगर र अन्य नगरपालिकाको अधिवेशनमा टिमबीच प्रतिस्पर्धा हुन सक्ने बताए । ‘हामीले अहिलेसम्म वडामा हाम्रा कति मान्छे आए भनेर गणना गरेका छैनौं, पालिका र जिल्ला निर्वाचनमा भने त्यसको लेखाजोखा होला,’ उनले भने ।

 नगर र जिल्ला नेतृत्व छान्न ३२ वटै वडाबाट करिब १ हजार ३ सय क्षेत्रीय प्रतिनिधि छानिएका छन् । सिंह समूहले नीलकाजी शाक्य र प्रधान समूहले प्रगतिमान रञ्जितलाई महानगरको सभापतिमा अघि सारेका छन् । दुवै समूहले औपचारिक रूपमा उम्मेदवार तय गरी चुनावी प्रतिस्पर्धा अघि सारिसकेका छन् । जिल्लाको कुल मतदाताको करिब एकतिहाइ संख्या काठमाडौं महानगरबाट छानिने भएकाले यहाँको परिणामले जिल्लाको अधिवेशनलाई संकेत गर्ने गर्दछ ।

कलेन्द्र

Link copied successfully