३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एमालेको विधान महाधिवेशनको तयारी पूरा [विज्ञप्ति]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को शुक्रबारबाट सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ । बिहीवार विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

एमालेको विधान महाधिवेशनको तयारी पूरा [विज्ञप्ति]

पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले शुक्रबार १२:१५ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिए ।उनले उद्घाटनपछि तीनवटा प्रस्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको बताए । उनले विधान महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी बन्ने बताए ।

यस्तो छ एमालेले विधान महाधिवेशनबारे जारी गरेको प्रेस विज्ञप्ति :

प्रेस विज्ञप्ति

पत्रकार मित्रहरू,

हाम्रो गौरवमय पार्टी नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन (१५, १७ असोज,२०७८) को आयोजना सम्बन्धित सम्पूर्ण तयारीहरू पूरा भएको जानकारी गराउन हामी यहाँहरूका माझमा उपस्थित छौं । र, तयारीसँग सम्बन्धित कार्यहरू निम्न बमोजिम रहेको अवगत गराउन चाहन्छौं ।

(१) नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ साल असोज १५, १६ र १७ गते देशकै सुप्रसिद्ध पर्यटकीय स्थलललितपुरको गोदावरीमा सम्पन्न हुन गइरहेको छ । हाम्रो पार्टी नेकपा एमाले नेतृत्वको सरकारद्वारा निर्माण सम्पन्न गरिएको यहाँस्थित सनराइज सम्मेलन केन्द्रमा यो महाधिवेशन सम्पन्न हुँदैछ भनेर भन्न पाउँदा हामीलाई गौरव महसुस भइरहेको छ ।

(२) महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्नको निम्ति पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य कमरेड रामबहादुर थापा बादल संयोजक, कमरेड शेरबहादुर तामाङ सचिव र कमरेडहरू कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशिला नेपाल र पासाङ शेर्पा सदस्य रहनु भएको एक मूल व्यवस्थापन समिति पार्टी केन्द्रीय कमिटीको बैठकबाट गठन गरिएको छ । सोही जिम्मेवारी अनुरुप कार्यविभाजनसहित कार्य सम्पादन गरिरहेका छौं ।

(३) यस महाधिवेशनको उद्घाटन भोलि असोज १५ गते अपरान्ह १२: १५ बजे पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले भव्य समारोहकाबीच पानसमा बत्ती बालेर गर्नुहुनेछ । उद्घाटनका क्रममा महाधिवेशनको प्रचारस्वरुप बेलुन उडाइनेछ । राष्टिय गान गाइने छ र शहीदहरूप्रति श्रद्धाञ्जललिपछि महाधिवेशन कार्यसूचीहरूमा प्रवेश गर्ने छ ।

(४) महाधिवेशनको उद्घाटन सत्रलाई पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेता कमरेडहरूले सम्बोधन गर्नु हुनेछ ।

(५) उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष कमरेड केपी शर्मा ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव कमरेड ईश्वर पोख्रेलबाट संगठनात्मक प्रस्ताव र उप महासचिव एवं संगठन विभाग प्रमुख कमरेड विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ । महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरूको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोता कमरेडहरूबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

(६)विधान महाधिवेशनमानिम्नानुसार प्रतिनिधित्व हुनेछ ।

  • केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य कमरेडहरू
  • केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य कमरेडहरू,
  • केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि कमरेडहरू,
  • प्रदेश कमिटीका सबै कमरेडहरू,
  • जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि कमरेडहरू,
  • पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद कमरेडहरू,
  • पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुख कमरेडहरू,
  • पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख कमरेडहरू,
  • जनसंगठन र पेशागत संगठनहरूबाट चुनिनु भएका प्रतिनिधि कमरेडहरू,
  • भारत लगायत प्रवासका संघ संगठनहरूबाट चुनिनु भएका प्रतिनिधि कमरेडहरू र
  • पार्टी केन्द्रबाट विधान वमोजिम मनोनित सदस्य कमरेडहरू ।

यसरी विभिन्न क्षेत्रबाट चुनिएर आउनुभएका छहजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हामी भव्य र सभ्यरुपमा महाधिवेशन सम्पन्न गर्नेछौं ।

प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउादै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको छ ।

(७) हलमा प्रतिनिधिहरू र अन्य आवश्यक सिट प्लानिङ व्यवस्थित गरिएको छ । मञ्चमा पदाधिकारी एवं स्थायी कमिटीका कमरेडहरूको सिट प्लानिङ गरिएको छ । मूल सभाहलमा ३ हजार प्रतिनिधिहरू, हलको दायाँ बायाँको खाली हलहरूमा १/१ हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ । यसरी नै हलको दायाँ बायाँका प्यासेजहरूको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने १/१ हजार क्षमताका हल निर्माण गरिएको छ । सम्पूर्णरुपमा ७ हजार क्षमताका हलहरू तयार गरिएको छ । समूह छलफलका लागि पनि व्यवस्थित स्थानहरू तय गरिएको छ ।

(८) महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको छ । यसको लागि तुलनात्मकरुपमा सस्तो, हाइजेनिक र समयमै खाना खुवाउनसक्ने मापदण्डका आधारमा क्याटरिडलाई जिम्मेवारी दिईएको छ ।

महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ देखि ११ बजेसम्म खानाको समय छुट्याइएको छ । सो समयसीमाभित्र सबै प्रतिनिधि कमरेडहरूले खाना खाएर हलभित्र प्रवेश गरिसक्नुपर्नेछ । दिउँसोको लागि खाजाको प्याकेट प्रबन्ध गरिएको छ । र, साँझको खाना बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ ।

(९) प्रतिनिधिहरूको लागि आवासको प्रबन्ध काठमाडौंमा रहेको प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरूको सहयोगमा सम्बन्धित भूगोलका प्रदेश कमिटीहरूले नै गर्नेगरी व्यवस्थापन गरिएको छ ।

(१०) निजी साधन नभएका प्रतिनिधि कमरेडहरूको लागि ललितपुरस्थित सात दोबाटोमा झण्डासहित बसहरूको व्यवस्था गरिनेछ । ट्राफिक तथा पार्किङको पनि यथासम्भव व्यवस्थापन गरिएको छ ।

(११) महाधिवेशन सम्पन्न गर्नको निम्ति अनेरास्ववियु, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघबाट २ सयको संख्यामा स्वयंसेवकहरूको व्यवस्था गरिएको छ ।

(१२) कोरोना महामारीकै अवस्था भएकोले त्यसप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ ।

(१३) महाधिवेशनको प्रचारको लागि वाल पेन्टिङ, वाल पोष्टरिडलाई पूर्णतः बन्द गरिएको छ । प्रचार प्रसारको निम्ति मूलतः मिडियाको सहयोग लिइएका छ । यसका साथै काठमाडौं महानगरपालिका अन्तर्गत सडकका पोलहरूमा रहेका बोर्डमा पोष्टर राखिएको छ । काठमाडौंका दरबारमार्ग, तीनकुने, चावहिल, चुच्चेपाटी, हात्तिसार कमलादी, थापाथली लगायतका स्थानमा डिजिटल बोर्डको माध्यमबाट प्रचार प्रसारको प्रबन्ध गरिएको छ ।

(१४) मिडियाको लागि महाधिवेशनमा सहभागी हुन छुट्टै पासको प्रबन्ध गरिएको छैन । सम्बन्धित मिडियाको आफ्नै परिचयपत्र देखाएर अत्यावश्क संख्या प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । मिडिया सेन्टरबाट टिभी क्यामेराले लाईभ र असोज १५, १६ र १७ गते प्रेस व्रिफिङको लागि स्थान निर्धारण गरिएको छ ।

हार्दिक अभिवादन सहित,

रामबहादुर थापा वादल

संयोजक

मूल व्यवस्थापन समिति

१४ असोज २०७८

काठमाडौं

प्रकाशित : आश्विन १४, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?