हिमाली जिल्लामा दसैं अगावै जिल्ला अधिवेशन - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमाली जिल्लामा दसैं अगावै जिल्ला अधिवेशन 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले दसैं अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । १४ औं महाधिवेशनअन्तर्गत हिमाली जिल्लाहरुमा दसैं अघि र अन्यमा दसैं पछि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले हिमाली जिल्लामा अहिले सार्वजनिक भएको कार्यतालिकाअनुसार दसैं अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लामा भने पालिका तहसम्म मात्रै गर्ने निर्णय गरेको हो ।

अहिले वडा अधिवेशन सकिएका सबै जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ । ‘हिमाली जिल्लामा दसैं अगाडि जिल्ला तहसम्मकै अधिवेशन हुन्छ । त्यसबाहेकका जिल्लामा पनि ९ असोजमै पालिका तहको अधिवेशन हुन्छ,’ बैठकपछि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले इकान्तिपुरसँग भने, ‘पहाड र तराईका जिल्लामा भने दसैं अघिसम्म सबै पालिकाको अधिवेशन पूरा गर्ने लक्ष्य निर्धारण भएको छ ।’

कांग्रेसले ९ असोजमा पालिका तह, १२ असोजमा प्रदेश सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ ।

अहिलेसम्म ६४ जिल्लाको वडा अधिवेशन भइसकेको छ । दसैंपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले पनि ती जिल्लामा अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको यादवले बताए । उनका अनुसार कुन कुन जिल्लामा दसैं अगावै जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने भन्नेबारेमा समितिले पछि जिल्लाको नामावली सार्वजनिक गर्नेछ ।

सरकारी अनुसूचीअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्लाहरु हिमाली जिल्ला हुन् । तर, डोल्पा र रसुवामा भने क्रियाशील सदस्यताकै टुंगो लागेको छैन ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सबै वडाको अधिवेशन पूरा गरेर ७५३ वटै पालिकाको अधिवेशन एकैदिन गर्नुपर्ने माग राख्दै आएको थियो ।

प्रकाशित : आश्विन ७, २०७८ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्

म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री गरेको पाइए कारबाही : गृहमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — उपभोक्ताहरुको हितलाई मध्यनजर गरेर दैनिक उपभोग्य बस्तु विक्री गर्न सरकारले व्यापारीसँग आग्रह गरेको छ । दसैं/तिहारलगायत चाडपर्व लक्षित बजार अनुमगन तथा सुरक्षा व्यवस्थापनलगायतसँग केन्द्रीत बैठकमा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले म्याद गुज्रेका बस्तु बजारमा पठाएको पाइए व्यापारीमाथि कानुनी कारबाही गर्न कुनै कसरत बाँकी नराख्ने पनि चेतावनी दिएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री गरेको पाइए कानुन अनुरुप अघि बढ्न सरकर बाध्य हुने बताए ।

उनले उपभोक्ताको हितलाई मध्यनजर गरेर कम नाफा लिएर बस्तु बिक्री गर्न पनि आग्रह गरे । ‘नागरिकको जीवनरक्षा र हितका लागि काम गर्नु सरकारको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न प्रतिबद्ध छौं,’ खाँणले भने, ‘म्याद गुज्रेका औषधि र खाद्य सामाग्री बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्नुपर्छ, त्यस विषयमा यहाँहरू (व्यवसायी)ले ध्यान दिनुहोला ।’

चाडपर्व लक्षित आपूर्ति, बजार अनुगमन, यातायात व्यवस्थापनलगायतका एजेण्डा राखेर सरकारी र निजी क्षेत्रका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको थियो । बैठकमा उद्योग, वाणिज्य तथा गृह मन्त्रालय, सुरक्षा निकायका अधिकारीसहित उपभोक्ता अधिकारकर्मीसहित यातायात व्यवसायी, उद्योगीलगायतको उपस्थिति थियो । त्यस क्रममा मन्त्री खाँणले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न व्यवसायीहरूसँग आग्रह गरे ।

छलफलमा गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनमा सरकार, व्यवसायी र उपभोक्ताबीच त्रिपक्षीय सम्बन्ध जरुरी रहेको बताए ।

त्यस क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वका बेला म्याद गुज्रिएका खाद्य सामाग्री बिक्री वितरण गरेको पाइएमा निर्मम रुपमा प्रस्तुत हुन मातहतका निकायलाई निर्देशन दिइएको बताए ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले मुख्य चाडपर्वलाई लक्षित गर्दै प्रहरीले विषेश सुरक्षा योजना लागू गरेको बताए ।

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दसैंमा सार्वजनिक सवारी व्यवस्थित र भाडामा हुनसक्ने ठगीलाई लिएर अनुगमनको काम अघि बढाइएको बताएका थिए ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार असोज ११ गतेबाट दसैं केन्द्रीत सार्वजनिक यातायातका टिकट बिक्री खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भइसकेको छ । बसको टिकट अनलाइनमा पनि किन्न सकिने व्यवस्था गर्न लागिएको उनले बताए ।

प्रकाशित : आश्विन ७, २०७८ १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×