कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शशांक कोइराला भन्छन्- 'केही दिनमै सभापतिमा उम्मेदवारी घोषणा गर्छु'

पूर्वी नवलपरासी — पूर्वप्रधानमन्त्री तथा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सिको गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले शनिबार गृहजिल्ला नवलपुर आएर १४ औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका छन् । 

शशांक कोइराला भन्छन्- 'केही दिनमै सभापतिमा उम्मेदवारी घोषणा गर्छु'

कांग्रेस देवचुली नगर कार्यसमितिले निर्माण गरेको बीपी स्मृति भवन उद्घाटन गर्न शनिबार आएका महामन्त्री कोइरालाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफू सभापतिमा लड्ने तर औपचारिक घोषणा केही दिनपछि मात्रै गर्ने बताए । ‘नवलपुर मेरो गृहजिल्ला हो, जसरी गिरिजाप्रसाद कोइरालाले गृहजिल्ला मोरङबाट महत्त्वपूर्ण घोषणा गर्नु हुन्थ्यो, म पनि मेरो गृहजिल्लाबाट सभापतिमा लड्ने निर्णयबाट पछि नहटेको सार्वजनिक गर्दछु,’ महामन्त्री कोइरालाले कार्यकर्तासँग भने ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीले टिमको सहमतिअनुसारै उम्मेदवारी घोषणा हुने बताए । ‘पत्रकारहरूको प्रश्नमा आज नवलपरासीमा उहाँले जे भन्नुभयो, त्यो औपचारिक घोषणाका रूपमा भन्नुभएको होइन, प्रतिस्पर्धाबाट बाहिरिएको छैन भन्ने अर्थमा भन्नुभएको हो,’ महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने, ‘टिमको सहमतिअनुसार नै पछि घोषणा हुन्छ ।’

सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला मुख्य प्रतिस्पर्धी छन् । टिममा सहमति नहुँदासम्म सबैले आ–आफू उम्मेदवार रहेको बताउँदै आएका छन् । भदौ १७ मा सभापतिका प्रतिस्पर्धी चार जनासहित संस्थापनइतर पक्षका मुख्य नेताहरूले पत्रकार सम्मेलनमार्फत आफ्नो टिमबाट एक जना उम्मेदवार हुने उद्घोष गरेका थिए ।

कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी पनि गरेका छन् । ‘कांग्रेस कांग्रेसकै कारणले मात्रै पराजित भएको हो,’ महामन्त्री कोइरालाले भने, ‘महाधिवेशन पछि कांग्रेस एकजुट हुन्छ । आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउँछ ।’

प्रकाशित : भाद्र २७, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?