‘गुट’ बनाउँदै निधि

भाद्र २७, २०७८

कुलचन्द्र न्यौपाने, कलेन्द्र सेजुवाल

काठमाडौँ — शेरबहादुर देउवापछि २०३६ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका विमलेन्द्र निधि लामो राजनीतिक यात्रामा देउवासँगै हिँडे । गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्ष, फरक पार्टी निर्माण र पार्टी एकीकरणपछिको गुटगत प्रतिस्पर्धामा उनी देउवा समूहका महत्त्वपूर्ण सारथि रहे । आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेपछि भने उनले आफ्नो अलग्गै गुट निर्माण थालेका छन् ।

देउवाबाट अलग्गिएका निधिले देउवासँग असन्तुष्ट र महाधिवेशनमा उक्त समूहबाट उम्मेदवार बन्ने सम्भावना कम भएका नेतालाई उनले आफ्नो समूहमा भित्र्याउने रणनीति बनाएका छन् । बिहीबार महामन्त्रीमा उम्मदेवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्मा त्यही रणनीतिअनुरूप निधिको टिममा पुगेका हुन् । ‘उहाँ (शर्मा) ले महामन्त्री वा सहमहामन्त्रीको सुनिश्चितता खोज्नुभएको थियो तर सभापतिले सकारात्मक संकेत दिनुभएन,’ देउवानिकट एक नेताले भने, ‘त्यसपछि उहाँले महामन्त्रीमा उम्मदेवारी घोषणा गरेर समूह परिवर्तन गर्नुभएको हो ।’ उम्मेदवारी घोषणा गर्दा स्पष्ट नखुलाएका शर्मा शुक्रबार निधिको घरमा एक धार्मिक कार्यक्रममा सहभागी भए ।

अहिले सभापति देउवा समूहलाई केन्द्रमा मात्र होइन, प्रदेश र जिल्लामा समेत नेता व्यवस्थापन गर्न चुनौती छ । नेताहरू धेरै हुँदा देउवा समूहभित्रै नेतृत्वको टकराव छ । यसको लाभ निधिले लिने आकलन गर्न थालिएको छ । सभापति देउवाको गृहजिल्ला डडेलधुरामै त्यस्तो अवस्था देखिएको छ । क्रियाशील सदस्यतालाई लिएर देउवासँग चर्को द्वन्द्व भएपछि जिल्ला सभापति कर्णबहादुर मल्ल निधिको निकट पुगेका छन् । ‘सभापतिले नै निरंकुशता लादेपछि अब उहाँसँग रहन सक्ने अवस्था करिब सकिएको छ,’ मल्लले कान्तिपुरसँग भने, ‘महाधिवेशनमा कुन विचार समूहसँग कसरी सहकार्य गर्ने भन्ने केही समयपछि निष्कर्षमा पुगिएला ।’

मल्लनिकटका अनुसार निधिको साथ पाएर उनले गृहजिल्लामा देउवासँग टक्कर लिने जोखिम मोलेका हुन् । पार्टीको १३ औं महाधिवेशनमा देउवाको असहयोगका बाबजुद एक भोटको अन्तरले सभापतिमा जितेका मल्लले देउवाको साथ भने छोडेका थिएनन् । यसपटक उनी खुलेरै देउवाको विरोधमा लागेका छन् । भदौ ११ मा काठमाडौंमा निधिले आफ्नो सम्पर्क कार्यालय खोल्दा मल्ल सहभागी भएका थिए । डडेलधुरामा क्रियाशील सदस्यता विवाद हुँदासमेत निधिले उनको पक्षमा दबाब दिँदै बुधबार सभापति देउवालाई पत्र लेखेका थिए । 

निधि प्रमुख रहेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आरजु राणासहित देउवा समूहका नेता–कार्यकर्ताको बाहुल्य छ । पछिल्लो समय निधिले प्रतिष्ठानकै बलमा आफूलाई शक्तिशाली बनाएर फरक गुट निर्माण थालेका हुन् । पार्टी विधानको धारा ३६ मा सभापतिले तोकेको केन्द्रीय कार्यसमितिको उपसभापति प्रतिष्ठानको प्रमुख रहने व्यवस्था छ । सोही प्रावधानअनुसार करिब साढे ३ वर्षअघि निधि प्रतिष्ठान प्रमुख बनेका थिए । ‘उहाँले जिम्मेवारी पाएसँगै देशव्यापी रूपमा प्रशिक्षणको काम मात्र गर्नुभएन, प्रतिष्ठानमा आफूअनुकूलका नेता–कार्यकर्ता नियुक्त गरेर फरक समूह निर्माणको अभ्यास पनि थाल्नुभयो,’ उनीनिकट एक कांग्रेस नेताले भने, ‘अहिले प्रतिष्ठानको बलले पनि सभापतिमा उम्मदेवारी दिने आधार तयार गरेको हो ।’

प्रतिष्ठानमा कार्यकारी निर्देशकको जिम्मेवारी पाएका पुरुषोत्तम दाहालका अनुसार विभिन्न ५९ वटा विषयगत समिति गठन गरी तीअन्तर्गत झन्डै १ हजार २ सय विज्ञ सदस्य नियुक्त गरिएका छन् । प्रतिष्ठानले प्रदेशका साथै १६ देशमा संयोजक तोकेको छ । ‘विधान र नियमावलीमा विषयगत समिति कति बनाउने र ती समितिमा कति जना सदस्य राख्ने भन्ने उल्लेख छैन,’ दाहालले भने, ‘तैपनि समितिका संयोजकहरूले आवश्यकताअनुसार सदस्य नियुक्त गर्नुभएको छ ।’ 

गुटको भविष्य

१३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला र यसपटक निधिको उम्मेदवारी घोषणा तथा समूह निर्माण अभियानमा धेरै हदसम्म समानता देखिन्छ । उतिबेला सिटौलाले तत्कालीन संस्थापन पक्षबाट अलग्गिएर युवा नेता गगन थापालाई महामन्त्रीमा अघि सारेका थिए । अहिले निधिले संस्थापनकै अर्का युवा नेता शर्मालाई महामन्त्रीमा अघि सारेका छन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले अहिले पार्टीभित्र तीनवटा स्थायी र प्रभावशाली गुट रहेको बताए । मूलतः देउवा, पौडेल (रामचन्द्र) र कोइराला (शशांक–शेखर–सुजाता) गुटले पार्टीको महाधिवेशन र भविष्यलाई प्रभावित गर्ने उनको भनाइ छ । ‘निधिले जस्तै हिजो सिटौलाले पनि समूह निर्माण गरेकै हुन् तर अहिले सिटौला समूह बार्गेनिङ गुटमा सीमित भयो,’ उनले भने, ‘निधिले नेतृत्व गर्ने समूहले भोलि कस्तो आकार लिन्छ यसै भन्न सकिँदैन ।’ सभापति लड्ने भन्दै आएका प्रकाशमान सिंह गुटले पनि विस्तारै आकार ग्रहण गर्न सक्ने उनको भनाइ छ ।

१३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थापाले अहिले एकल रूपमा सोही पदमा उम्मेदवारी घोषणा गरेका छैनन् । सिटौला समूहका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् ।

कांग्रेस महाधिवेशन

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

कलेन्द्र

Link copied successfully