कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवालाई पौडेलको प्रस्ताव– '७५३ वटै स्थानीय तहको अधिवेशन एकैपटक गरौं'

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशन सकेर ७५३ वटै स्थानीय तहको अधिवेशन एकैपटक गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । पौडेलले बिहीबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर सबै वडाको अधिवेशन सम्पन्न भएपछि मात्रै एकै दिन पालिका तहको अधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

देउवालाई पौडेलको प्रस्ताव– '७५३ वटै स्थानीय तहको अधिवेशन एकैपटक गरौं'

‘अब बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यताको विषय निष्पक्ष छानबिन गरी पारदर्शी रुपमा यथासक्य छिटो टुंगो लगाउनुपर्‍यो । र बाँकी रहेका २१ जिल्लामा वडा अधिवेशन सकेर एकैपटक ७५३ वटै पालिका तहको अधिवेशन गर्नुपर्‍यो,’ पौडेलले भनेका थिए ।

भेटमा पौडेलले अनुशासनमा परेका नेता कार्यकर्ताको कारबाही फिर्ता गर्न र डडेल्धुरामा देखिएको सदस्यताको विवाद समाधान गरेरमात्रै अधिवेशन गर्ने व्यवस्था आग्रह गरेको पौडेलका सहयोगी चिरञ्जिवी अधिकारीले जानकारी दिए । ‘क्रियाशील सदस्यताको विवाद समाधान, महाधिवेशनको प्रक्रिया लगायत पार्टीकै महाधिवेशनकै विषयहरुमा छलफल भयो । अरु राष्ट्रिय राजनीति र सरकार सञ्चालनका विषयमा छलफल भएन,’ अधिकारीले भने ।

कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत भदौ १८ गते वडा अधिवेशन गर्ने मिति तोकेको थियो । तर, मतदाता अर्थात् क्रियाशील सदस्यको टुंगो लगाउन नसक्दा वडा अधिवेशन भइसकेको छैन । केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको सदस्यको नामावली सार्वजनिक भएको र ती जिल्लामा वडा अधिवेशन सम्पन्न हुने क्रममा रहेको जनाएको छ । सदस्यताको टुंगो नलागेका काठमाडौंसहित २१ जिल्लाको अधिवेशन भने अनिश्चित छ ।

प्रकाशित : भाद्र २४, २०७८ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?