तीन करोड डोज खोप ल्याउन बजेट

काठमाडौँ — मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्डका पक्षघात भएका व्यक्तिलाई सरकारले हरेक महिना ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा करिब ११ अर्ब बजेट बढाएका छन् ।

तीन करोड डोज खोप ल्याउन बजेट

केपी ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७८ करोड विनियोजन गरेकामा अर्थमन्त्री शर्माले शुक्रबार प्रस्तुत गरेको प्रतिस्थापन बजेटमा १ खर्ब ३३ अर्ब १ करोड बजेट छुट्याएका छन् । सवारीसाधन खरिद, बैठक भत्ता, गोष्ठी, तालिम खर्चलगायत कटौती गरी खोप खरिदका लागि पाँच अर्ब बजेट थप गरेको अर्थमन्त्री शर्माले जानकारी गराए । अब थप ३ करोड मात्रा खोप खरिद गरिने बजेटमा उल्लेख छ ।

हालसम्म १ करोड ३३ लाख ५९ हजार डोज कोभिडविरुद्धको खोप भित्रिइसकेको छ । शर्माले कोभिडविरुद्धको खोप व्यवस्थापनको लागि वैदेशिक स्रोतको अतिरिक्त आन्तरिक स्रोतसमेत परिचालन गरी खोप खरिद गरिने बताए । भदौ २३ गतेसम्म ५७ लाख ३० हजार जनाले पहिलो डोज र ५१ लाख २ हजार जनाले पूर्ण खोप प्राप्त गरिसकेका छन् । अर्थमन्त्रीले हालसम्म १ करोड ३३ लाख ५९ हजार डोज खोप नेपाल भित्रिएको र करिब ३ करोड प्राप्त हुने क्रममा रहेको जानकारी गराए ।

खोप, अक्सिजन, ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई सुरुका तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछि दुई वर्षसम्म ५० प्रतिशत छुट गरिनेसमेत बजेटमा उल्लेख छ ।

प्रकाशित : भाद्र २६, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?