कोभिड निको भएकालाई स्नायु समस्या

कतिपयको मस्तिष्कमा रगत जम्ने समस्यासमेत देखिएको छ, जसले स्ट्रोक गराउन सक्छ

भाद्र १७, २०७८

अतुल मिश्र

काठमाडौँ — कोभिड संक्रमणबाट मुक्त भएका केही व्यक्तिमा स्नायु (न्युरोलोजिकल) सम्बन्धी जटिल समस्या देखिएको छ । कोभिडलाई मुख्य रूपमा श्वासप्रश्वाससँग सम्बन्धित गम्भीर रोग मानिए पनि यसले आम नेपालीमा स्नायुसम्बन्धी जटिल समस्या निम्त्याएको विज्ञहरू बताउँछन् । स्नायु प्रणाली मुख्य रूपमा मस्तिष्क र मेरुदण्डमा हुन्छ । मस्तिष्कबाट निस्केको १२ जोडी स्नायुलाई ‘क्रानियल नर्भस्’ भनिन्छ ।

यो अनुहार र घाँटीमा जान्छ भने मेरुदण्डबाट निस्केको स्नायु (स्पाइनल नर्भस्) हातखुट्टा, छाती, पेटलगायत शरीरका बाँकी भागमा जान्छ । स्वाद र गन्धसम्बन्धी समस्या, दृष्टिमा समस्या, स्ट्रोक, मस्तिष्क ज्वरो, गुलियन बारी सिन्ड्रोम, मेरुदण्डमा असर स्नायुसम्बन्धी समस्या हुन् । त्यतिमात्र नभई कोभिड निको भएको दुई महिनादेखि पन्ध्र सातासम्म टाउको दुखाइ, थकाइ, चिन्ता, चक्कर, स्वाद र गन्धमा कमीलगायत समस्यासमेत देखिने गरेको पाइएको छ ।

कोभिड संक्रमणका कारण डेढ वर्षयता विभिन्न स्नायुसम्बन्धी समस्या भएर त्रिवि शिक्षण अस्पतालको न्युरोलोजी विभागमा भर्ना भएका २ हजार ६ सय ७९ जनाको स्वास्थ्य स्थितिको विश्लेषणपछि यी समस्या पहिचान गरिएको न्युरोलोजी विभागका स्नायुरोग विशेषज्ञ डा. रागेश कर्णले बताए । ‘कोभिडलाई मुख्य रूपमा श्वासप्रश्वाससँग सम्बन्धित गम्भीर रोग मानिए पनि यसले मस्तिष्कलगायत शरीरका सबैजसो अंगमा असर पारिरहेको छ,’ उनले भने ।

अस्पताल भर्ना भएका कोभिडका कुल बिरामीमध्ये ५०.२४ प्रतिशतमा ‘क्रानियल न्युरोपेथी’ अर्थात् गन्ध हराउने समस्या देखिएको छ । डा. कर्णका अनुसार मस्तिष्कबाट निस्किने १२ जोडी स्नायुमध्ये पहिलो जोडी स्नायु ‘अलफ्याक्ट्री’ ले गन्धलाई मस्तिष्कसम्म लिएर गएपछि मात्र मानिसले गन्ध थाहा पाउँछ । तर कोभिडले अलफ्याक्ट्री स्नायुमा असर पार्दा गन्धसम्बन्धी सूचना मस्तिष्कमा पुग्न पाउँदैन ।

त्यस्तै क्रानिएल स्नायुमध्ये दोस्रो अर्थात् ‘अप्टिक स्नायु’ समेत प्रभावित भएका बिरामी अस्पतालमा भर्ना भएका छन् । त्यस्तो प्रभाव देखिएका ०.०७ प्रतिशत अर्थात् दुई जनामा आँखाको दृष्टिमा समस्या देखिएको छ । ‘अप्टिक स्नायुले आँखाको मस्तिष्कसँग सम्बन्ध स्थापित गर्छ तर कोभिडले गर्दा यो स्नायु प्रभावित भएर बिरामीको दृष्टिमा कमी आएको पायौं,’ डा. कर्णले भने ।

त्यस्तै, कोभिड निको भइसकेका बिरामीको मस्तिष्कमा रगत जम्ने (ब्लड क्लटिङ) समस्यासमेत देखिएको छ । यो समस्याले स्ट्रोक हुने गर्छ । आर्टिरियल र भेनस गरी दुई प्रकारका स्ट्रोकमध्ये अस्पतालमा भर्ना भएका कुल बिरामीमध्ये ०.५२ प्रतिशत अर्थात् १४ जनामा आर्टिरियल स्ट्रोक र ०.१५ प्रतिशत अर्थात् ४ जनालाई भेनस स्ट्रोक देखिएको थियो ।

कोभिडले गर्दा मस्तिष्क ज्वरो (मेनिंगो इन्सेफ्लाइटिस) समेत देखिएको छ । यस किसिमको ज्वरोले मस्तिष्कलाई छोप्ने खोलको तन्तुमा संक्रमण गराउँछ । ‘कोभिडका कारण मस्तिष्क ज्वरोबाट प्रभावित १७ जनालाई हामीले उपचार गरिसकेका छौं,’ डा. कर्ण भन्छन्, ‘यति मात्र नभई कोभिड भएकाहरूमा देखिएको गुलियन बारी सिन्ड्रोमको समेत उपचार गरिसकेका छौं ।’ 

गुलियन बारी सिन्ड्रोमले शरीरका विभिन्न भाग कमजोर बनाउनुका साथै झमझमाउने र प्यारालाइसिसको खतरासमेत बढाउँछ । त्रिवि शिक्षण अस्पताल भर्ना भएका बिरामीमध्ये एक जनामा मेरुदण्डमा समेत असर (माइलाइटिस) देखिएको थियो । केही बिरामीमा त कोभिड भएको ३ देखि ६ महिनासम्म पनि स्वाद र गन्ध नफर्किएको डा. कर्णले बताए । ‘लामो समयसम्म गन्धको समस्या रहिरहे पछि पार्किन्सन्स, डिमेन्सिया हुने सम्भावना रहन्छ,’ उनले भने ।

कोभिड संक्रमणका बेला केही बिरामीमा अक्सिजनको अत्यधिक कमीले गर्दा मस्तिष्कमा गम्भीर दुष्प्रभाव अर्थात् हाइपोक्सिक ब्रेन इन्ज्युरीसमेत देखिएको छ । कतिपयमा ‘ब्रेन फग’ को समस्या देखिएको र उनीहरूको स्मरणशक्ति कमजोर पाइएको डा. कर्णले बताए ।

कोरोना खोपकोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully