एमाले विभाजन : कम्युनिस्ट टुटफुटको नयाँ अध्याय

मणि दाहाल

काठमाडौँ — सैद्धान्तिक भन्दा पनि व्यक्तिगत अहम् र महत्वाकांक्षाका कारण विभाजित हुने कम्युनिस्ट टुटफुटको अध्यायमा बुधबारबाट फेरि अर्को नयाँ पाठ थपिएको छ । आफूलाई कम्युनिस्ट आन्दोलनको मुलधारको रुपमा दाबी गर्दै आएको ‘एमाले’  औपचारिक रुपमै दुई चिरा परेको छ ।

एमाले विभाजन : कम्युनिस्ट टुटफुटको नयाँ अध्याय

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । योसँगै झापा आन्दोनलको धारबाट विकशित हुँदै मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिस्ट पार्टी बनेको दल दोस्रोपटक टुक्रिएको छ ।

यसअघि महाकाली सन्धीको विषयमा पार्टी भित्र विवाद हुँदा २०५४ सालमा एमाले विभाजित भएको थियो । तर, २०५८ सालमा पुनः एकिकृत हुँदै शक्तिआर्जन गरेको एमाले अहिले शीर्ष नेताहरूको कार्यशैली र अहम् व्यवस्थापनमा चुक्दा फेरी विभाजनमा पुगेको छ ।

विगतमा कम्युनिस्ट पार्टीहरू विभाजित हुँदा जे जस्ता व्यक्तिगत लाञ्छनाहरू र आरोपहरू लाग्थे, ती आरोपहरू यसपटक फेरी दोहोरिएका छन् । यो झगडा सैद्धान्तिकभन्दा बढ्ता व्यक्तिगत छ । तर, अध्यक्ष केपी शर्मा ओली र विद्रोही नेता माधवकुमार नेपाल दुवैले विभाजनलाई सैद्धान्तिक मतभेदका रुपमा विश्लेषण गर्ने कोशिस गरेका छन् ।

ओलीले नेपाललाई यसअघि नै ‘गद्दार’, ‘देशद्रोही’ करार गरिसकेका थिए । पार्टीबाट निष्कासन गर्दै ‘आममाफी’ पनि दिँदै आएका थिए । तर, ओलीले नेपाल पार्टीको नीतिभन्दा बाहिर गएर सिद्धान्तबाटै विचलित हुँदै कांग्रेसको पिछलग्गु बनेको आरोप लगाएका छन् ।

यता नेता नेपालले पनि ओलीले पार्टीका नीति, विचार, सिद्दान्तहरूलाई लत्याएर निरंकुश, तानाशाही बाटोमा हिँडेको आरोप लगाउँदै आएका छन् । उनले बुधबार पार्टी विभाजनको स्पष्टीकरणका लागि जारी गरेको अपिलमा पनि यी कुरा उल्लेख गरेका छन् । अझ उनले कम्युनिस्ट आन्दोलनलाई ओलीले नै विसर्जनको बाटोमा लैजान खोजेकाले पार्टीको मुलधारलाई जोगाउन विद्रोह गरी एमाले पुनगर्ठनको बाटोमा गएको उल्लेख गरेका छन् ।

ओली र नेपालका तत्कालिन राजनीतिक सहयात्री समेत रहेका मालेका महासचिव सिपी मैनाली अहिलेको एमालेको विभाजनलाई ‘व्यक्तिगत स्वार्थ’ कै एक परिणामको भएको बताउँछन् । ‘व्यक्ति र गुटको स्वार्थ, सत्तामा पुग्ने र त्यसको दुरुपयोग गर्ने प्रवृतिले निम्त्याएको संकट हो । जनताको धेरै ठूलो समर्थन पाएपनि त्यसलाई उनीहरूले सदुपयोग गर्न सकेनन्,’ मैनालीले भने ।

पछिल्लो विवाद कसरी चुलियो ?

तत्कालिन प्रधानमन्त्री ओलीले साविकको नेकपामा हुँदा केही स्वेच्छाचारी प्रवृत्ति देखाए । त्यही कारण पुष्पकमल दाहाल र माधव नेपालको आन्तरिक गठजोड बलियो भयो । ओली पार्टी भित्र कमजोर बने । आफू कमजोर बनेपछि ओलीले शक्ति आर्जन गर्ने सबैखालका हतकण्डा अपनाए । जसको पहिलो सुरुवात विन्दु थियो– गतवर्ष बैशाखमा ओलीले ल्याएको दल विभाजन गर्ने अध्यादेश । उक्त अध्यादेशको विरोधमा नेपाल पनि उभिए । यद्यपी अहिले त्यस्तै ओलीले ल्याएको भन्दा पश्चगामी अध्यादेशको बलमा नेपालले दल विभाजन गरेका छन् ।

पार्टी भित्रको विवाद बढ्दै गएपछि गत पुसमा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघट्न गरेका थिए । उक्त विघट्नको विरोधमा नेपाल सडक आन्दोलनमै उत्रिए फागुन ११ मा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघट्न बदर भयो । त्यसपछि अर्को महत्त्वपूर्ण तिथि आयो– फागुन २३ गते । सर्वोच्चले नेकपाको एकिकरणलाई स्वीकारेन । तत्कालिन एमाले र माओवादी केन्द्र आ–आफ्नो पुरानै दलको अवस्थामा पुगे । त्यसपछि एमालेमा झन् ठूलो विभाजनको खाडल देखापर्‍यो ।

फागुन २८ गते अध्यक्ष ओलीले आफू निकटका नेताहरूको बैठक राखेर सदस्यहरूको थप गरेपछि नेपाल पक्षमा असन्तुष्टी चुलियो । त्यसविरुद्ध चैतको पहिलो साता नेपाल पक्षले राजधानी काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दै देशभर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो । त्यही समानान्तर गतिविधिको पटाक्षेप बुधवार पार्टी विभाजनको रुपमा भयो । यो विभाजनले पाँच दशकअघि झापा विद्रोहको भ्रुणबाट शुरु भएको एमाले नयाँ चक्रमा प्रवेश गरेको छ ।


कसरी बनेको थियो पार्टी

२०२८ सालमा झापामा वर्ग शत्रुको सफाया आन्दोलनबाट माले हुँदै अहिलेको एमाले बनेको हो । २०३२ जेठमा को–अर्डिनेसन केन्द्र गठन भयो । यसले झापा विद्रोहलाई राजनीतिक आवरण दियो ।

त्यसपछि विभिन्न साना घटकहरू संगठित हुन आए । पूर्वतर्फ सक्रिय को–अर्डिनेसन केन्द्र र पश्चिम नेपालमा सक्रिय रहेको मुक्ति मोर्चासँगको एकीकरण हुँदै २०३५ सालमा नेकपा मालेको गठन भएको थियो । त्यस समयको नेतृत्व सीपी मैनालीले गरेका थिए । केन्द्रको स्थापनादेखि नै नेता माधवकुमार नेपाल पार्टीको शीर्ष नेतृत्वमा रहे, अध्यक्ष ओली भने जेलमा थिए ।

२०३९ सालमा पार्टी स्वतन्त्रता की राजनीतिक स्वतन्त्रताको निकै ठूलो विवाद चर्कियो । पार्टी स्वतन्त्रता पक्षमा रहेका महासचिव मैनालीलाई पार्टीले कारवाही गर्‍यो । मैनालीले पार्टी विभाजन भने गरेनन्, तर कार्यकर्ताको ठूलो पंक्तिले राजनीति छाडे वा निष्कृय बने । कतिपयले यसलाई मुक्ति मोर्चा र को–अर्डिनेसन केन्द्रबीच शक्ति संघर्षको रुपमा लिने गरेका छन् । तर, नेपाल र झलनाथ खनालसहितका को–अर्डिनेसन केन्द्रका नेताहरूको साथ लिएर मदन भण्डारी र जीवराज आश्रितसहितका नेताहरूले सीपी मैनालीमाथि कारवाही गरेका थिए ।

मैनाली भने एमालेभित्र संगठनात्मक संकटको शुरुवात चालीस वर्षअघिदेखि नै शुरु भएको ठान्दछन् । ‘२०३९ देखि नै नेता तथा कार्यकर्ताहरूको मुल्याकंन गर्न सक्रियता र योगदानभन्दा पनि नेताहरूले आफ्नो निकटता र दुरीको आधारमा अराजनीतिक तरिकाले मूल्याकंन गर्न थाले । त्यसले पछि गएर यो एउटा गुटबन्दीमा पुग्यो,’ मैनालीले भने, ‘गुट र नेताको फाइदाको निम्ती जनता र राष्ट्रको हितमा सम्झौता गर्न थाले । पछि आएर त्यो गुटबन्दी निषेधमा परिणत भयो र अहिलेको समस्यासम्म आइपुगेको हो ।’

मैनाली २०४९ सालदेखि एमालेमा आएको वैचारिक स्खलनले अहिलेको अवस्थामा पुर्‍याएको बताउँछन् । जेलबाट छुटेपछि ओली २०४५ सालबाट तत्कालीन मालेको केन्द्रीय सदस्य बनेका थिए । तर, नेता नेपालको हैसियत भने पार्टीमा दोस्रो नेताको थियो ।

राजनीतिशास्त्रका सहप्राध्यापक खगेन्द्र प्रसाईं झापा आन्दोलन र को–अर्डिनेसन केन्द्रबाट शुरु भएको एमालेको ‘फेज’ सकिएको बताउँछन् । नयाँ परिस्थितअनुसारका नीतिहरू लिन नसक्दा अहिलेको समस्या आएको उनको बुझाइ छ ।

‘झापा आन्दोलन र को–अर्डिनेसन केन्द्र बन्दा शुरु भएको एमालेको फेज सकियो । नयाँ परिस्थितमा नयाँ आधारमा पार्टीअघि बढाउन सकेन् । गुटहरूको व्यवस्थापन गर्दै अहिलेसम्म एमाले टिक्दै आएको थियो,’ प्रसाईंले भने, ‘अहिले एमालेका गुटहरू निषेधको चरणमा छन् ।’

ओली– नेपालः संघर्ष र सहकार्य

बहुदलीय व्यवस्था शुरु भएपछि ओली र नेपालबीचको सम्बन्धमा सहकार्य र संघर्ष दुवै देखिन्छ । मदन भण्डारी र जीवराज आश्रितको निधनपछि पार्टी सत्तामा पुगेका नेपाल र ओलीबीच पाँचौ र छैठौं महाधिवशेनमा सहकार्य थियो । एकीकृत महाकाली सन्धि पारित गर्ने समयमा दुवै नेता एकै कित्तामा थिए । एमाले विभाजन भएर माले गठन हुँदा पनि ओली र नेपाल एकैस्थानमा थिए ।

सातौं महाधिवेशनमा ओली र नेपाल दुई विपरित कित्तामा बसे । सातौं महाधिवेशनमा ओलीले पार्टीलाई बहुपदीय संरचनामा लैजाने प्रस्तवा ल्याएका थिए । तर, त्यो प्रस्ताव हलमै प्रवेश पाएन । त्यसबेला शक्तिशाली रहेका नेपाल महासचिव प्रणालीमा बस्नुपर्ने अडानमा थिए । तर, त्यो लामो समयसम्म रहेन ।

आठौं महाधिवेशनमा पार्टी बहुदपीय प्रणालीमा गयो । झलनाथ खनाल र वामदेव गौतमको गठबन्धन बन्यो । त्यसविरुद्ध ओली र नेपाल एक स्थानमा थिए ।

नवौं महाधिवेशनमा आइपुग्दा दुवै नेताहरू फरक समूहको नेतृत्व गर्दै समूहगत रुपमा प्रतिस्पर्धा उत्रिए । महाधिवेशनमै भएको गुटको आधारमा दुवै पक्षले आ–आफ्नो अनुकुल हुने गरी पार्टी भित्र समानान्तर गतिविधि बढाउँदै लगे । ओलीमा महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएको दम्भ चढ्यो । नेपालले पार्टी भित्र यसअघि एकछत्र १५ वर्ष राज गरेको बिर्सिए, ओलीसंँगको हारलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर महाधिवेशन बनेको समुहलाई निरन्तरता दिए ।

सहप्राध्यापक प्रसाईं पार्टी सञ्चालन लोकतान्त्रिक रुपमा हुन नसक्दा समस्या आएको ठान्दछन् । ‘पार्टीमा लोकतान्त्रिक विधि भयो भने मेरो कुरा सुनिने छ र मलाई किरानाकृत गरिने छैन भन्ने भयो भने पार्टीमा बस्छन् नत्र छाडेर हिँड्छन्,’ प्रसाईंले भने, ‘स्वार्थको आधारमा बनेको गुट पद, पैसा वा साझेदारीबाट शक्तिहरू बाँडफाँट गरेर व्यवस्थित गर्न सकिन्छ । तर, त्यो पद वा स्रोत बाँड्ने कुरा सिमित हुन्छ । सबै कुरा बाँड्दा लामो समयसम्म टिक्न सक्दैन ।’

प्रकाशित : भाद्र २, २०७८ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?