दल दर्ता स्वीकृत भएपछि सरकारमा जान्छौं : राजेन्द्र पाण्डे- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दल दर्ता स्वीकृत भएपछि सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रस्तावित एमाले(समाजवादी)का नेता राजेन्द्र पाण्डेले दल दर्ता स्वीकृत भएपछि आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । बुधबार नयाँ दल दर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोगबाट बाहिरिँदै नेता पाण्डेले दल दर्ता स्वीकृत हुने बित्तिकै आफूहरु सरकारमा सहभागी हुने बताएका हुन् । 

उनले भने,'दल दर्ता स्वीकृत भएपछि सरकारमा जाने हो । निर्वाचन आयोगले छिटोभन्दा छिटो निर्णय देला । आज अध्यादेश जारी भएपछि परिस्थिती हेरेर हामी नयाँ दल दर्ता गर्न आएका हौं ।' दल दर्ता भएपछि चाँडै नै राष्ट्रिय भेला गर्ने तयारी भएको उनले बताए ।

एमालेका ५८ जना केन्द्रीय सदस्यहरु मिलेर नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको पाण्डेले बताए । प्रस्तावित नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ ।

आफूहरुसँग एमालेका उपाध्यक्ष वामदेव गौतम पनि आउने उनले दाबी गरे । एमालेभित्र रहँदा ओलीले गरेको व्यवहार,संसद्लाई पटक पटक भंग गर्दा पनि गलत भएको भन्न नसक्ने ‌ओलीसँग पार्टीमा सँगै बस्‍न नसक्‍ने अवस्था आएपछि नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको पाण्डेको भनाइ थियो । 'हामीले पार्टी एकताका निम्ति पटक पटक आह्वान गर्यौं । तर कुनै सुनुवाई भएन,' उनले भने ।

प्रकाशित : भाद्र २, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्

पाहुनाको पर्खाइमा डाँडागाउँ होमस्टे

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५ स्थित डाँडागाउँको ८ घरमा तामाङ समुदायले होमस्टे सुरु गरेका छन् । पहिला यो गाउँका धेरैजसोले व्यावसायिक रुपमा मदिरा (रक्सी) उत्पादन गर्थे । तर, अहिले त्यो पेसा छाडेर होमस्टेमा आकर्षित भएका हुन् । १७ सय उचाइमा रहेको यो ठाउँ नारायणगोपाल चोकबाट १० किलोमिटर दुरीमा छ ।

गाउँकै उत्पादनको स्वाद होमस्टेमा पुग्नेहरुले चाख्न पाउँछन् । तामाङ समुदायका महिला आफ्नै भेषभुषामा सजिएर डम्फु बजाउँदै पाहुनाको स्वागतमा जुट्छन् । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज छिचोलेसी यो गाउँसम्म पुगिन्छ । तर अहिले कोभिडले गर्दा होमस्टे बन्द छन् । स्थानीय कोभिडको जोखिम कम भएपछि स्वास्थ्य सावधानी अपनाएर होमस्टे चलाउने सुरमा छन् । यो ठाउँबाट काठमाडौं उपत्यका छर्लंग देखिन्छ । वरिपरिका हरियाली डाँडापाखाले मोहित पार्छ ।

प्रकाशित : भाद्र २, २०७८ १७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×