काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितामा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले सिनेट बैठक बोलाएर छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टै सिनेटको बैठक बोलाउन लागेको पनि मन्त्री श्रेष्ठले जानकारी दिए ।
‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाइ छानबिन समिति गठन गर्नेछ । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ,’ उनले भने ।
राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाई बनाउन लागेको बताए ।सार्वजनिक महत्वको संस्थाहरुलाई जथाभाबी गर्न नदिन अनुगमन संयन्त्र बनाउनुपर्ने आवश्यक्ता औंल्याउँदै त्यसतर्फ सहयोग गर्न पनि सबैलाई उनले आग्रह गरे ।
बैठकमा समितिका सदस्यहरुले जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवम् पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले भ्रष्टहरुले स्वास्थ्य सेवा दिने संस्थाहरुमा समेत जरो गाडेर बस्दा पनि सरकार गम्भीर नभएको आरोप लगाए ।
समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकूलपतिलाई दिइएको असीमित अधिकार तत्काल कटौति गर्न सरकारलाई सचेत गराए । उनले समग्र प्रतिष्ठानमा भएका बेथितिको अन्त्यका लागि सरकारले विस्तृत ढंगले छानबिन गरी दोषी उपर तत्काल कारबाही गर्न आग्रह गरे ।
बैठकमा समितिका सदस्यहरुले सार्वजनिक सेवा प्रवाहको क्षेत्रलाई चुस्त दुरुस्त बनाउन सरकारलाई सचेत गराएका थिए ।
