महामारीका कारण अन्योलमा जनगणना- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीका कारण अन्योलमा जनगणना

जनगणनाको कार्यतालिका प्रभावित
गणेश राई

काठमाडौँ — निर्धारित तालिकाअनुसार १२ औं राष्ट्रिय जनगणना सम्पन्न भएको भए साउनभरि धमाधम ‘डेटा इन्ट्री’ भइरहेको हुन्थ्यो । भदौभित्र प्रारम्भिक नतिजा नै प्रकाशित हुन्थ्यो । जसमा देशभरिको कुल जनसंख्या, लैंगिक अवस्था, घरपरिवार संख्या समेटिएको हुने थियो । जसबाट मुलुकले पछिल्लो जनसांख्यिक तस्बिर पाउने थियो ।

तर, कोरोना भाइरस महामारीका कारण जनगणना अनिश्चित बनेको छ । केन्द्रीय तथ्यांक विभागले महामारीको कारण देखाएर गत वैशाख १६ गते जनगणना प्रक्रिया स्थगित गरेको थियो । महामारी प्रकोप घटेमा आगामी असोजमा सम्पन्न गर्ने गरी विभागले तयार पारेको पछिल्लो कार्यतालिका पनि प्रभावित भएको छ । अब जनगणना सुरु गर्ने हो भने पनि त्यसको नयाँ कार्यतालिका मन्त्रिपरिषद्ले पारित गर्नुपर्ने हुन्छ । तर, महामारीका कारण जनगणना सुरु गर्ने सम्बन्धमा अन्योल कायमै रहेकाले विभागको सचिवालयका रूपमा रहेको राष्ट्रिय योजना आयोग जनगणनाको नयाँ कार्यतालिका मन्त्रिपरिषद्‌मा लैजाने सम्बन्धमा ठोस निर्णयमा पुग्न सकेको छैन ।

पूर्वनिर्धारित तालिकाअनुसार ०७८ जेठ २५ गतेबाट असार ८ गतेभित्र जनगणना हुनुपर्थ्यो । जनगणनाको अन्तिम तयारी गर्दै गर्दा गत वैशाख १६ गतेबाट लकडाउन भएपछि सबै प्रक्रिया रोकिन पुग्यो । विभागले कोरोना भाइरसको महामारी घट्दै गए आगामी असोजभित्र सम्पन्न गर्ने नयाँ कार्यतालिका आयोगमा बुझाएको थियो । तर आयोगका सचिव केवलप्रसाद भण्डारीका अनुसार कोभिडको कारण नयाँ कार्यतालिका सम्बन्धी प्रक्रिया अघि बढ्न नसकेको छैन । ‘जनगणना पुन: सुरु गर्ने तालिका कोभिडको कारणले रोकिएको हो,’ कोभिड बढ्ने अनुमान भइरहेको उल्लेख गर्दै सचिव भण्डारीले कान्तिपुरसित भने, ‘कोभिड बढ्ने भएपछि कसरी गर्नु ? समस्या कोभिडसँग जोडिएको छ । बिस्तारै भ्याक्सिन पर्याप्त हुँदै जाला । अलि संक्रमण कम भएपछि गर्ने हो । तर भदौ, असोजमा संक्रमण अझ बढ्छ भन्ने कुरो आइरहेको छ । कोभिड घट्ने हो भने सबै थोक तयारै छ ।’

सचिव भण्डारीले जनगणनाका लागि आवश्यक पूर्वतयारी भने पूरा भइसकेको बताए । विभागले गत चैतमै सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना कार्यालय स्थापना गरेको थियो । जनगणनाको कार्यतालिका प्रभावित भए पनि असारसम्म कायम रहने जिल्ला जनगणना कार्यालय पुन: असोजसम्म यथावत रहने निर्णय भएको विभागका निर्देशक तथा प्रवक्ता ढुण्डिराज लामिछानेले जनाएका छन् ।

विभागले जनगणनामा सोधिने प्रश्नावली छपाइ गरी सबै जिल्ला कार्यालयमा पुर्‍याइसकेको छ । साथै विभागले पूर्वतयारीस्वरुप पहाड र तराईका चौध जिल्लामा ‘नमुना (पाइलट) जनगणना–२०७६’ समेत सम्पन्न गरिसकेको छ । जनगणनामा खटाइने सुपरिवेक्षक, गणक र कर्मचारीका निम्ति झोला, छाता, क्यापटोपी, टर्च, मार्कर, डटपेन लगायत सामग्री तयारी अवस्थामा राखिएका छन् । काठमाडौं उपत्यकाका ७ वटा महानगर तथा नगरपालिकामा गणकहरुले प्रयोग गर्ने ट्याबलेट खरिद गरेर थापाथलीस्थित विभागको गोदाममा राखिएको छ ।

त्यस्तै, विभागले जनगणनाका लागि आवश्यक जनशक्ति पनि व्यवस्थापन गरिसकेको छ । विभागले गत चैतमै जनगणना कार्यमा खटाइने गरिसकेको छ । उनीहरुले जनगणनासम्बन्धी प्रारम्भिक चरणको तालिमसमेत लिइसकेका छन् । गणक र सुपरीवेक्षकका लागि अनलाइन आवेदन दिने १ लाख ४० हजारमध्येबाट ८ हजार सुपरिवेक्षक छनोट भएर करारमा नियुक्त भइसकेका छन् । ३९ हजार गणकको अन्तिम सूची पनि प्रकाशित भइसकेको छ । विभागले १२ औं जनगणनालाई ‘मेरो जनगणना, मेरो सहभागिता’ नारा दिएको छ । नेपालमा पहिलो जनगणना १९६८ सालमा सम्पन्न भएको थियो । त्यसयता ०७ सालको राजनीतिक परिवर्तनपछि २००८ सालमा हुनुपर्ने जनगणना २००९ र २०११ साल गरी दुई चरणमा गरिएको थियो । त्यसयता हरेक दस वर्षमा जनगणना हुँदै आएको थियो ।

लिपुलेक र लिम्पियाधुरामा जनगणना होला ?

विभागले जनगणनाका सम्बन्धमा सबै तयारी पूरा गरिसके पनि लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्ने सम्बन्धमा पनि अन्यौल कायमै रहेको छ । गत वर्ष जेठ ४ मा नेपाल सरकारले लिपुलेक र लिम्पियाधुरालाई समेटदै नयाँ राजनीतिक प्रशासनिक नक्सा प्रकाशित गरेको थियो ।

सरकारले ती क्षेत्रलाई समेटेर नयाँ नक्सा प्रयोगमा ल्याए पनि जनगणना गर्ने सम्बन्धमा विभागले हालसम्म कुनै निर्देशन पाएको छैन । जसले गर्दा राजनीतिक रुपमा नयाँ नक्सालाई चर्को प्रचार भए पनि ती क्षेत्रमा जनगणनाका लागि आवश्यक कुनै पनि तयारी गरिएको छैन । ‘लिम्पियाधुरा, कालापानी र लिपिलेक भूभाग नेपालकै भएकाले जनगणना त गर्नै पर्ने हुन्छ,’ तथ्यांक विभागका एक अधिकारीले भने, ‘भौतिक उपस्थितिसहितको जनगणना गर्न सम्भव देखिँदैन । जीपीएस पद्धतिबाट घर संख्या र अनुमानित जनसंख्या समेट्नुको विकल्प छैन ।’

जनसंख्याविद् प्राध्यापक योगेन्द्र गुरुङले दुई देशीय सम्बन्धमा सुधार नभएसम्म नयाँ नक्सा जारी भएको स्थानमा जनगणना गर्न मुस्किल हुने बताए । ‘नयाँ नक्सा जारी भएको ठाउँमा २०१८ सालपछि जनगणना भएको छैन र त्यहाँ प्रशासनिक इकाइको उपस्थिति पनि नरहेमा अप्ठ्यारो पर्नसक्छ,’ गुरुङले भने । साथै उनले यो विषयलाई राजनीतिक तहमा चाँडो टुंग्याउनुपर्ने समेत बताए ।

प्रकाशित : श्रावण २१, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्

फ्लुका बिरामी देखिन थाले, कोभिड र फ्लु कसरी छुट्याउने ?

बुनु थारु

काठमाडौँ — केही दिनअघि २३ वर्षीया एक महिलामा ज्वरो आउने, घाँटीमा एकदम अप्ठ्यारो जस्तो हुने, खोकी लाग्ने लक्षण देखिए । कोरोनाको आंशकाले उनले पीसीआर गराइन् तर रिपोर्ट नेगेटिभ आयो । फ्लु जाँच गर्दा भने पोजेटिभ देखियो ।

त्यस्तैगरी दुई हप्ता अगाडि एक परिवार रुघाखोकी अनि ज्वरो आउने लक्षण देखिएको भन्दै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनको सम्पर्कमा आए । उनीहरुले कोरोनाका डरले ३ पटकसम्म पीसीआर गराइसकेका रहेछन् रिपोर्ट नेगेटिभ मात्र देखाइरहेको थियो । पछि फ्लु जाँच गर्दा सबैमा पोजेटिभ देखियो । डा. पुन यस्तै खालका केसहरु फाट्टफुट्ट रुपमा अस्पतालमा आउन सुरु गरेको बताउँछन् । उनका अनुसार उपत्यकामात्र होइन फ्लुका केसहरु उपत्यबाहिर पनि भेटिन सुरु गरेका छन् ।

डा. पुन भन्छन्, ‘फ्लुका पनि जोखिम छन् । फ्लुको सिजन सुरु भइसक्यो । कोरोनाले ओझेल परेको हो । कोरोना र फ्लुको लक्षण मिल्दोजुल्दो भएकाले पनि तनाव दिन सक्छ ।’ उनका अनुसार फ्लु ‘ए’ र ‘बी’ले मानिसलाई बढी सताउँछ ।

फ्लु के हो ?

फ्लु भनेको इनफ्लुएन्जा भाइरसले हुने रोग हो । फ्लुले सबै उमेरलाई प्रभावित पार्ने भएतापनि ५ वर्षमुनिका बालबालिका तथा ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दमरोगी, मधुमेह, क्यान्सर, एचआईभी एड्स, मुुटुरोगी आदि उच्च जोखिममा रहन्छन् ।

नेपालमा जनवरी–फेबु्रअरी र बर्खाको बेलामा जुलाई–अगस्ट फ्लुको सिजन हो । साधारण फ्लुले पनि स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । निमोनियादेखि अस्पताल भर्ना हुने गरी सिकिस्त बनाउन पनि सक्छ । फ्लुबाट बच्न सरसफाइमा ध्यान दिन जरुरी छ । जोखिम समूहले फ्लुको खोप लगाउन सक्छन् । यसले एक वर्षसम्म काम गर्दछ ।

फ्लु र कोभिड कसरी छुट्याउने ?

फ्लु र कोभिड दुवै श्वासप्रश्वासको रोग भएकाले मिल्दोजुल्दो भएपनि केही फरक भने पक्कै पनि रहेका छन् । दुवै फरक भाइरसबाट बनेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ कोरोना भाइरस र फ्लु इन्फ्लुएन्जा भाइरसले गराउँदछन् । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, आलस्य महसुस हुने, वाकवाकी तथा पखाला लाग्ने, स्वाद र गन्ध थाहा नपाउने यी दुवै भाइरसका साझा लक्षण हुन् ।

त्यसैगरी दुवै भाइरसको सर्ने लक्षण पनि उस्तै नै छन् । संक्रमित व्यक्तिको सम्पर्क आउँदा, थुकको छिटाबाट भाइरस सर्न सक्छन् । भाइरस देखिएको मान्छेले सरसफाइमा ध्यान दिने र हाच्छ्युँ आउँदा मुख छोप्ने गर्नुपर्छ ।

यी दुवै भाइरसको सर्ने अवधि फरक हुन्छ । फ्लु ३ दिन अवधिमा सर्ने हुन्छ भने कोराना भाइरस ५ देखि ६ दिनभित्रमा सर्ने गर्दछ । त्यसैगरी रुघाखोकी र फ्लु अलि फरक हुन सक्छन् । रुघाखोकी लागेमा त्यति कडा हुँदैन । नाकबाट पानी बग्ने, सामान्य ज्वरो आउने, खोकी लाग्ने अनि हाच्छ्युँ आउने हुन्छ । यसका लक्षणहरु केहीदिन मात्र देखिन सक्छन् भने फ्लु लागेमा तपाईंलाई हप्तादिनभन्दा बढी पनि लक्षणहरु देखिन सक्छन् ।

कोरोनाजस्तै लक्षण देखिएमा एकपल्ट फ्लुको पनि जाँच गराउँदा ढुक्क हुन सकिने विज्ञ बताउँछन् । फ्लुको लक्षण देखिएमा घरमै झोलिलो खानेकुरा खान चिकित्सक जोड दिन्छन् ।

बढ्दै फ्लु

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको एक अध्ययन अनुसार सिजनल फ्लुले बर्सेनि २ लाख ९१ हजारदेखि ६ लाख ४६ हजारसम्मको मृत्यु हुने आकलन गरेको छ ।

डा. पुन भन्छन्, ‘यी दुइटै मिक्स हुँदा कति कडा होला भन्ने अझै पुष्टि भइसकेको छैन । पश्चिमा देशहरुले त ५ गुणाभन्दा बढी मृत्यु हुने भनेर आकलन गरेका थिए यी दुवै हुँदा । नेपालमा भने त्यस्तो नहुन सक्छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२० मा २ हजार ९१५ नमुना परीक्षण गर्दा ‘इन्फ्लुएन्जा ए’ ६६१ जनामा देखिएको थियो ‘इन्फ्लुएन्जा बी’ ३१ जनामा देखिएको थियो ।

सन् २०२१ को ३० हप्तासम्मको तथ्यांक हेर्ने हो भने ३ हजार १६ नमुना परीक्षण भएका छन् जसमा इन्फ्लुएन्जा ए १५० जनामा देखिएको छ भने इन्फ्लुएन्जा बी ८ जनामा देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको इन्फ्लुएन्जाको नेपालको तथ्यांक हेर्ने भने २१ हप्तादेखि फ्लुका बिरामीहरु बढ्दै गएको देखाएको छ ।

प्रकाशित : श्रावण २१, २०७८ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×