काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद टेकबहादुर बस्नेतले राष्ट्रिय जनगणना रोक्नु नहुने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै बस्नेतले राष्ट्रिय जनगणना स्थगित गर्न लागेको जानकारी पाएकोले यसलाई रोक्न नहुने बताएका हुन् ।
उनले राष्ट्रिय जनगणना नेपाल सरकारको सूचीमा छ, छैन भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराए ।
'नेपालमा पहिलो राष्ट्रिय जनगणना आजभन्दा ११० वर्षअघि वि.सं १९६८ मा भएको थियो, त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३८ हजार ६४९ थियो, यो सबैलाई जानकारी छ', उनले भने, 'अहिले ११ औं राष्ट्रिय जनगणनाको लागि आवश्यक तयारी र आवश्यक बजेट पनि विनियोजन भइसकेको छ, कोरोना महामारीका कारण कार्यक्रम स्थगित भएको भन्ने सुन्नमा आएको छ, त्यसलाई स्थगित गर्नुहुँदैन, सरकारको कार्यसूचीमा छ, छैन, नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।'
काठमाडौँ — सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै हालसम्म ९७ लाख ८२ हजार ८ सय ५० डोज खोप प्राप्त भइसकेको र असोज मसान्तभित्र थप ८६ लाख मात्रा प्राप्त हुने जनाएको छ । ५४ लाख १ हजार ६ सय ८६ जनाले खोप लगाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तस्बिर : बिजु महर्जन/कान्तिपुर
कोभ्याक्स सुविधाको १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जाँदा चैतसम्म सबै खोपको पहुँचमा पुग्ने मन्त्रालयले जनाएको छ । १२ देखि १८ वर्ष उमेर समूहका किशोर–किशोरीलाई अमेरिकाबाट फाइजर खोप खरिद गरेर लगाउने योजना मन्त्रालयले सार्वजनिक गरेको छ ।
मन्त्रालयले कोभ्याक्सबाट लागत सहभागितामा १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप खरिद प्रक्रिया सकारात्मक रूपमा कार्य अगाडि बढिरहेको जनाएको छ । ‘गाभी कोभ्याक्सबाट २० प्रतिशत जनसंख्याका लागि निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जाँदा चैत मसान्तसम्म खोप सम्पूर्ण नेपालीको पहुँचमा पुग्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
भारतको कोभिसिल्ड, चीनको भेरोसेल, अमेरिकाको जान्सेन ल्याइएकामा १६ लाख २१ हजार ७ सय ५४ जनाले पूर्ण मात्रा लगाइसकेका छन् । पहिलो डोज मात्रै लगाउने ३७ लाख ७९ हजार ९ सय ३२ जना छन् । १८ लाख २८ हजार ४ सय ८४ जना भने कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा छन् । भारतको सिरम इन्स्टिच्युटबाट २० लाख खोप खरिद गर्न सरकारले अग्रिम भुक्तानी दिए पनि १० लाख डोज खोप अझै आएको छैन । स्वास्थ्य मन्त्रालयले यो खोप असोज मसान्तसम्म आइसक्ने दाबी गरेको छ ।
सरकारले चीनको सिनोफार्मबाट खरिद गरेको ४० लाख डोज खोप पनि आइसकेको छ । थप ६० लाख खोप खरिदको सम्झौता अघि बढेको मन्त्रालयले जनाएको छ । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा १६ लाख डोज खोप दिने मन्त्रालयले जनाएको छ । असोज मसान्तभित्र प्राप्त खोपको डोज संख्या १ करोड ८३ लाख ८२ हजार ८ सय ५० पुग्ने मन्त्रालयको आकलन छ ।