४७ हजार गणक माग्दा १ लाख ९० हजारको आवेदन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४७ हजार गणक माग्दा १ लाख ९० हजारको आवेदन

निवेदन दिनेमा ५५ प्रतिशत महिला
आगामी जेठ २५ देखि हुने जनगणनाका लागि प्रश्नावली छपाइ भइसकेको छ भने सम्बद्ध कर्मचारीको तालिम सुरु भएको छ
गणेश राई

काठमाडौँ — राष्ट्रिय जनगणनामा खटिने जनशक्ति आवश्यकभन्दा चार गुणाभन्दा बढीले आवेदन दिएका छन् । केन्द्रीय तथ्यांक विभागले अनलाइनमार्फत् करार कर्मचारी आह्वान गरेअनुसार अधिक संख्यामा आवेदन परेको हो । आवेदकमध्ये ५५ प्रतिशत महिला छन् भने ८७ जना लैंगिक अल्पसंख्यक समुदायको रहेको विभागले जनाएको छ ।

‘अनलाइन प्रणालीले निवेदन दिन सजिलो भयो,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘जनगणनामा खटिने कर्मचारी माग्दा अपेक्षा गरेभन्दा निकै बढीले अनलाइन आवेदन दिएका छन् ।’ जनगणना आगामी जेठ २५ देखि असार ८ सम्म देशभरि एकैसाथ हुने तालिका छ ।

विभागले ८ हजार सुपरीवेक्षक र ३९ हजार गणकको माग गरेको छ । त्यसमा १ लाख ९० हजारभन्दा बढीले आवेदन दिएका छन् । यो संख्या आवश्यकताभन्दा चार गुणा बढी हो । गणकका निम्ति न्यूनतम कक्षा १२ उत्तीर्ण गरेको र स्नातक उत्तीर्ण गरेकाले सुपरीवेक्षक बन्न पाउँछन् । न्यूनतम उमेर १८ वर्ष र अधिकतम पुरुष ४० वर्ष तथा महिला ४५ वर्ष नकाटेको छनोटमा पर्नेछन् ।

‘अनलाइनबाट प्राप्त फाराम रुजु गर्ने काम भइरहेको छ,’ निर्देशक लामिछानेले भने, ‘आवेदकको शैक्षिक योग्यतालगायत व्यक्तिको पूर्ण विवरण भएकालाई छानिनेछ ।’ शैक्षिक योग्यतालाई मेरिटका आधारमा केलाइनेछ भने स्थानीय बसोबास, कार्य अनुभव र तथ्यांकशास्त्र वा जनसंख्याशास्त्रमा स्नातकोत्तर गरेका वा पढ्दै गरेकालाई प्राथमिकतामा राखिनेछ । साता दिनभित्र सुपरीवेक्षक छनोट गरिसक्ने र छानिएका आवेदकको नामावली जिल्ला जनगणना कार्यालयमा पठाइनेछ । जिल्लाले छनोटमा परेका आवेदकलाई अन्तर्वार्तासहित दुई महिनाका निम्ति सुपरीवेक्षक नियुक्ति दिनेछ ।

दोस्रो चरणमा आगामी वैशाख २० गतेभित्र गणक छनोट हुनेछन् । ठाउँ विशेषअनुसार अपांगता भएका, लैंगिक अल्पसंख्यक र स्थानीय भाषा बोल्न जान्नेलाई प्राथमिकता दिइने निर्देशक लामिछानेले बताएका छन् । एक महिनाका निम्ति गणक खटाइनेछन् । गणक घर–घरमा पुगेर घरमूलीसँग सम्पर्क गरी विवरण लिनेछन् । जनगणना कार्यमा खटिने प्रत्येक कर्मचारीका निम्ति पाँच लाख रुपैयाँको जीवन बिमासमेत गरिने जनाइएको छ ।

विभागले सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना कार्यालय स्थापना गरी अधिकारी तोकेर कर्मचारी खटाएको छ । त्यसैगरी जनगणनामा सोधिने प्रश्नावली छपाइ गरिसकेको छ । जनगणनामा खटाइने सुपरीवेक्षक, गणक र कर्मचारीका निम्ति प्रश्नावलीसँगै झोला, छाता, टोपी, टर्च, मार्कर, डटपेनलगायत सामग्री जिल्ला कार्यालयहरूमा पठाएको छ ।

विभागले प्रदेशस्तरीय जनगणना तालिम सुचारु राखेको जनाएको छ । निर्देशक लामिछानेका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौंडा, धुलिखेल, पोखरा, सुर्खेत, धनगढी र कोहलपुरमा तालिम भइरहेको छ । यसअघि केन्द्रीय, जिल्ला जनगणना अधिकारी, सहायक अधिकारीलाई तालिम दिइसकेको छ । यही चैतभित्र स्थानीय जनगणना अधिकारी र कर्मचारीलाई तालिम दिइने लामिछानेले बताएका छन् ।

प्रकाशित : चैत्र १३, २०७७ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचारका क्रममा नेता जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गराइएको थियो । 

मस्तिष्कघात भई फागुन १४ गते नर्भिक अस्पताल भर्ना भएका जोशीको शुक्रबार बिहानदेखि मुटुले काम गर्न छोडेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो । पूर्व उद्योगमन्त्रीसमेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता थिए । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।

विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी काठमाडौं क्षेत्र नं. ८ बाट २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत थिए ।

पूर्वसभासद जोशी २०३६ सालबाट विद्यार्थीकालबाटै राजनीतिमा लागेका थिए । उनले राजनीतिक यात्राका क्रममा पटक-पटक पक्राउ परी हिरासतमा बसेका थिए ।

यसैबीच, नेता जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले दु:ख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्‍जाल फेसबुकमार्फत श्रद्धाञ्जली दिँदै आफू मर्माहत भएको जनाएका छन् ।

देउवाले लेखेका छन्- 'नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नवीन्द्रराज जोशीको असमायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।'

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिकमात्र नभएर उच्च सामाजिक भावना भएका नेता जोशीलाई गुमाउँदा आफू पीडा सहन नसक्ने अवस्थामा रहेको बताएका छन् । उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको खबरले मलाई मर्माहत बनाएको छ । नेपाली कांग्रेसका भरोसा योग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउँदा म पीडा सहन नसक्ने अवस्थामा छु । यो दुखको घडीमा प्रिय नविन्द्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।'


नर्भिक अस्पतालद्वारा जारी विज्ञप्ति

प्रकाशित : चैत्र १३, २०७७ २१:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×