असोज १५ भित्र जनगणना कार्य सक्ने तालिका बनेको छ : तथ्यांक विभाग

असार २२, २०७८

गणेश राई

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ को दोस्रो लहर फैलिएपछि स्थगित १२औं राष्ट्रिय जनगणना कार्य आगामी असोज १५ गतेभित्र सक्ने कार्यतालिका बनाएको छ । उक्त निर्मित कार्यतालिकालाई मन्त्रिपरिषद्ले पास गरेलगत्तै कार्य थालनी गर्ने विभागले जनाएको छ । 

पूर्व निर्धारित कार्यतालिकाअनुसार गत जेठ २५ गतेबाट असार ८ गते सम्पन्न गर्ने बनेको थियो । कोरोना भाइरसको प्रकोप बढेसँगै वैशाख १६ गतेबाट निषेधाज्ञा घोषणा भएपछि मन्त्रिपरिषद्को वैशाख १९ गतेको बैठकले ‘राष्ट्रिय जनगणना २०७८ का सम्पूर्ण गतिविधि स्थगन गर्ने’ निर्णय गरेको थियो । 

निर्वाचन आयोगले आगामी कात्तिक २६ गते पहिलो चरणको मतदान मिति घोषणा गरेसँगै तथ्यांक विभागले उक्त जानकारी दिएको हो । विभागले जनगणना कार्यमा खटिने कर्मचारी (गणक, सुपरिवेक्षक र कर्मचारी)लाई कोरोना भाइरसविरुद्धको खोप अग्रिम लगाएर खटाउने भनेको छ । यदि असोज महिनाभित्र जनगणनामा हुन नसकेमा फागुनदेखि अर्को असारभित्र गर्न सकिनेसमेत विकल्प हुनेछ । त्यसअघि हिमाली जिल्लामा हिउँ पर्ने कारणले जनगणना सम्भव नहुनेसमेत विभागले जनाएको छ । 

‘हामीले रोकिएको कार्यतालिकालाई सुचारु गर्न भदौदेखि असोज १५ गतेभित्र सम्पन्न गर्न प्रस्ताव गरेका छौं,’ डेढ महिनाको समय पर्याप्त हुने उल्लेख गर्दै विभागका निर्देशक ढुण्डिराज लामिछानेले कान्तिपुरसित भने, ‘मन्त्रिपरिषद्ले तालिका पास गरेलगत्तै प्रक्रिया सुचारु राख्छौं । यसो हुँदा चुनावलाई प्रभावित पार्दैन ।’

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले लकडाउन खुलेकाले जनगणना कार्य सुचारु राख्न सकिने बताए । ‘जस्तोसुकै व्यवधान आएपनि जनगणना कार्यचाहिं आंशिक रूपमा गर्दैनौं,’ उनले भने, ‘सरकारको निर्णय पर्खिदैछौं ।’

जनगणना

गणेश

Link copied successfully