‘जनगणना कहिले हुन्छ ?’- समाचार - कान्तिपुर समाचार

‘जनगणना कहिले हुन्छ ?’

गणेश राई

काठमाडौँ — ‘जनगणना कहिले हुन्छ ?’ स्थगित १२औं जनगणनामा गणकका निम्ति फाराम भरेका ओखलढुंगाका युवा नयन राईले सोमबार टेलिफोनमा सोधे, ‘गणकमा फाराम भरेको बोलाउँछ कि भन्ने आशा थियो । यदि नबोलाउने भए रोजगारीका निम्ति सहरतिरै आउने विचार छ ।’

मानेभन्ज्याङ गाउँपालिका–६ का तन्नेरी राईको सवाल एक्लो नभई देशभरिका करिब १ लाख ९० हजार आवेदक युवाको जिज्ञासा हो । कोरोना महामारीको दोस्रो लहर फैलिनुअघि गत जेठ २५ गतेबाट असार ८ गतेभित्र राष्ट्रिय जनगणना सम्पन्न हुने थियो । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि तत्कालीन मन्त्रिपरिषद्ले वैशाखदेखि जनगणनाका सबै कार्य स्थगित गर्ने निर्णय गरेको थियो । ‘कोभिड–१९ को बढ्दो संक्रमणका कारण राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण गतिविधि स्थगत गर्ने निर्णय भएकोले सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ मन्त्रिपरिषद्ले गत वैशाख १९ गते गरेको निर्णयमा छ ।

केन्द्रीय तथ्यांक विभागले जनगणनाका निम्ति ८ हजार सुपरीवेक्षक र ३९ हजार गणकको अनलाइनबाट आवेदन माग गरेको थियो । तोकिएको समयसीमाभित्र १ लाख ९० हजारभन्दा बढीले आवेदन दिएका थिए । गणकका निम्ति न्यूनतम कक्षा १२ उत्तीर्ण गरेको र स्नातक उत्तीर्ण गरेकाले सुपरीवेक्षक बन्न पाउँछन् । न्यूनतम उमेर १८ वर्ष र अधिकतम पुरुष ४० वर्ष तथा महिला ४५ वर्ष नकाटेको छनोटमा पर्नेछन् । विभागले सुपरिवेक्षक छनोट गरिसकेको छ भने आवेदकमध्येबाट गणक छान्न बाँकी छ । जनगणनामा स्थानीय तह वडागत तथ्यांक लिनु पर्ने भएकाले गणकका रूपमा स्थानीयलाई प्राथमिकता दिने मापदण्ड राखिएको छ ।

नयाँ सरकार गठन भएपछि तत्काल जनगणना सुचारु हुने र त्यसका निम्ति तमतयारी अवस्थामा रहेको तथ्यांक विभागले जनाएको छ । ‘हामीले रोकिएको कार्यतालिकालाई सुचारु गर्न भदौदेखि असोज १५ गतेभित्र सम्पन्न गर्न अघिल्लो सरकारलाई प्रस्ताव गरेका थियौं,’ विभागका निर्देशक तथा प्रवक्ता ढुण्डिराज लामिछानेले कान्तिपुरसित भने, ‘नयाँ सरकारको मन्त्रिपरिषद्ले प्रस्तावित तालिका पास गरेमा जनगणना प्रक्रिया सुचारु राख्छौं । त्यसका निम्ति देशभरिको ८८ वटा जनगणना कार्यालय तैनाथ राखेका छौं ।’

यो जनगणना संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछिको पहिलो जनगणना भएकाले वडास्तरको तथ्यांक लिने तयारी गरिएको छ । विभागले रोकिएका तालिकाको महिनामात्र फरक गतेहरू यथावत रहने गरी प्रस्ताव गरेको छ । स्थगित तालिकाअनुसार वैशाख १६ मा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ गतेबाट घरपरिवार सूचीकरण, जेठ १७ गतेबाट गणक तालिम, जेठ २५ गतेबाट गणना कार्य थाल्ने रहेको थियो ।

प्रकाशित : श्रावण ४, २०७८ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्

चितवन निकुञ्‍जमा एकैदिन दुईवटा गैंडा मृत फेला

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जको दुई फरक-फरक स्थानमा आइतबार दुईवटा मृत गैंडा भेटिएका छन् । एउटा बच्चा र अर्को अन्दाजी ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।

अमलटारी क्षेत्रमा मृत फेला परेको गैंडा । तस्बिर सौजन्य : चितवन निकुञ्ज  । 

निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बच्चा गैंडालाई बाघले आक्रमण गरेको बताए । अन्दाजी दुई महिनाको सो भाले बच्चा गैंडा निकुञ्ज मुख्यालय कसरा नजिक जंगलमा मृत भेटिएको थियो ।

त्यस्तै, आइतबार नै निकुञ्जको पश्चिम क्षेत्र टेम्पल टाइगर रतनपुरीघाट पारी अमलटारी क्षेत्रको नारायणी नदी किनारमा अर्को गैंडा मृत भेटिएको हो । यो गैंडाको पनि खाग,खुर सुरक्षित भएकाले दुर्घटना वा अन्य केही कारणले मरेको हुन सक्ने अधिकारीले बताए ।

आर्थिक वर्ष ०७७/७८ मा निकुञ्ज र यस असपासको क्षेत्रमा ३२ वटा गैंडा मृत भेटिएको अधिकारीले जानकारी दिए । जसमध्ये चारवटा गैंडा चोरी सिकारीका लागि तस्करहरुले मारेका थिए । एक सिंगे गैंडा विश्वमा लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । नेपालमा रहेका ७५२ गैंडामध्ये चितवनमा मात्रै ६९४ वटा छन् ।

प्रकाशित : श्रावण ४, २०७८ १५:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×