खोपमा किसान र मजदुरलाई प्राथमिकता दिन निर्देशन- समाचार - कान्तिपुर समाचार

खोपमा किसान र मजदुरलाई प्राथमिकता दिन निर्देशन

रासस

काठमाडौँ — कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले किसान र पशुपक्षी फार्ममा काम गर्ने मजदूरलाई पहिलो प्राथमिकतामा राखेर कोरोना खोपको व्यवस्थापन गर्न सरकारलाई निर्देशन गरेको छ । समितिको बुधबारको बैठकले किसान र मजदुरलाई कोभिड–१९ विरुद्धको खोप तत्काल लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिए ।

समितिले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिराका घटनाबाट पशुपक्षी र बालीनालीमा क्षति पुगेका किसानलाई सहयोगस्वरुप यथाशक्य राहत उपलब्ध गराउन सुझाव दिएको छ ।

किसानले यस वर्ष पनि धानका लागि सहजरूपमा आवश्यक मल खाद्य प्राप्त गर्न नसकेको जनाउँदै समितिले कृषि तथा पशुपक्षी मन्त्रालयलाई रसायनिक मल अभावको समस्या तत्काल र दीर्घकालका लागि व्यवस्थापन गर्न गम्भीर ध्यानाकर्षण गराएको छ ।

समितिले भनेको छ, ‘मल खाद्य खरिदका लागि बजेट व्यवस्था गरी किसानका मागबमोजिम सरकारले समयमै किसानका मुद्दालाई सम्बोधन गर्नुपर्छ ।’ नेपाल कृषि अनुसन्धान परिषद्को भैरहवास्थित राष्ट्रिय गहुँबाली अध्ययन केन्द्रको जग्गा विभिन्न नाममा हुन लागेको अतिक्रमणका सम्बन्धमा समितिको गम्भीर ध्यानाकर्षण भएको पनि सभापति सुवेदीले जानकारी दिइन् । अतिक्रमणको घटनाकाबारे जानकारी उपलब्ध गराउन समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैबीच कृषि अनुसन्धान परिषद्ले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालबाट राष्ट्रिय गहुँबाली कार्यक्रम रुपन्देहीको तीन बिघा जग्गा १०० श्यया क्षमताको बहुउपयोगी संरचना निर्माण गर्न उपलब्ध गराउन माग भई आएको पुष्टि गर्दै गहुँको अनुसन्धान र परीक्षणमा प्रतिकूल प्रभाव पर्ने भएकाले उपलब्ध गराउन नसकिने जानकारी गराएको छ ।

यसअघि बैठकमा समिति सदस्यले किसानलाई सरल, सुलभ र सहजरूपमा मलखाद्य उपलब्ध गराउन, कृषि ऋण र अनुदान टाठाबाठाको पोल्टामा गएकाले बास्तविक किसानमा पु¥याउन तथा प्राकृतिक प्रकोपका घटनाका पीडितलाई पुनर्वास र राहतका कार्यक्रम ल्याउन समितिमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : श्रावण १३, २०७८ २०:११
प्रतिक्रिया
पठाउनुहोस्

एसईई नतिजा साउन २५ गतेभित्र सार्वजनिक

रासस

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।

सबै जिल्लाबाट विद्यार्थीको मूल्यांकन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उनले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने उनले बताए । कार्यालयका अनुसार २०७७ सालको एसईई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए ।

दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भएको थियो । गत जेठ १३ देखि भौतिकरूपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

बोर्डले एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सोभन्दा बढी प्राप्तांक प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनुपर्ने जनाएको छ । कोभिडकै कारणले २०७६ सालको एसइई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट प्रकाशित गरिएको थियो ।

प्रकाशित : श्रावण १३, २०७८ १९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×