हालसम्म कतिले लगाए कोरोनाविरुद्धको खोप ?

श्रावण ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल र जान्सेन खोप लगाइएका छन् । यीमध्ये कोभिसिल्ड र भेरोसेल दुई मात्रा लगाउनुपर्छ भने जान्सेन खोप एक पटक मात्रै लगाए पुग्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक हेर्ने हो भने देशभर कोभिसिल्ड खोपको पहिलो मात्रा १८ लाख २८ हजार ४८४ ले लगाएका छन् भने ४ लाख ६० हजार ३०८ जनाले दोस्रो मात्राका खोप लगाएका छन् । 

भेरोसेलको कुरा गर्दा देशभर पहिलो मात्र १५ लाख ४८ हजार ७४४ जनाले लगाएका छन् भने दोस्रो मात्रा ६ लाख ९४ हजार ५६० जना रहेका छन् ।

एक डोज मात्र लगाए पुग्ने जान्सेन खोप वाग्मती प्रदेशमा १ लाख ७२ हजार ९७७ रहेका छन् भने गण्डकी प्रदेशमा ३६ हजार ३४२ जनाले खोप लगाएका छन् । त्यसैगरी प्रदेश २ मा १ हजार ८५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म जान्सेनको खोप २ लाख ११ हजार १७८ जनाले लगाएका छन् ।

कोभिसिल्ड भारतबाट अनुदानमा १० लाख, भारतीय सेनाबाट १ लाख, सिरमसँग खरिद गरी ल्याएको १० लाख र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार  खोप नेपाल भित्रिएको छ ।

जान्सेन खोप अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत १५ लाख ३४ हजार ८५० आएको छ भने भेरोसेल खोप चीनबाट अनुदानमा १८ लाख र खरिद गरेर १६ लाख आएको छ । हालसम्म ७३ लाख ८२ हजार ८५० डोज खोप नेपालमा भित्रिएको छ ।

कोरोना खोप

कान्तिपुर

Link copied successfully