संसद् अधिवेशन अन्त्य गरी अध्यादेश नल्याउन प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण- समाचार - कान्तिपुर समाचार

संसद् अधिवेशन अन्त्य गरी अध्यादेश नल्याउन प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने चर्चा चलेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई संसद्ले बधाई तथा शुभकामना दिने क्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले ध्यानाकर्षण गराएका हुन् ।

तस्बिर : अंगद ढकाल

हल्ला चलिरहेको र त्यसमा आफूले विश्वास नगरे पनि प्रधानमन्त्रीलाई आफूले ध्यानाकर्षण गराउन चाहेको नेम्वाङले बताए । 'संसद् अधिवेशन आजै अन्त्य गरेर अध्यादेश ल्याउने हल्ला चलिरहेको छ । विश्वास छैन त्यस्तो होला भनेर,' उनले भने, 'बाहिर त चर्चा छ, यो संसद् प्रतिनिधिसभा अधिवेशन आजै समापनमा जाँदैछ । प्रधानमन्त्रीले चाँडै अध्यादेश ल्याउनुहुन्छ भन्ने हल्ला छ । अहिलेको सरकारले त्यो गर्दैन भनेको छु । विगतमा अध्यादेश ल्याउँदा विरोध गरेकाले त्यसो गर्नुहुन्न भन्ने लागेको छ । प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।'

प्रधानमन्त्रीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गर्न लागिएको भन्ने हल्ला चलेको नेम्वाङको भनाइ थियो ।

विश्वासको मत लिने क्रममा कांग्रेसले ह्वीप लगाएको पनि नेम्वाङको भनाइ थियो । सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीलाई विश्वास दिने क्रममा दलीय ह्वीप नलाग्ने आदेश दिएको थियो ।

मन्त्रिपरिषद् बिस्तार नगरेकोमा पनि नेम्वाङले चासो राखेका थिए । उनले मन्त्रालय नफुटाउन र संविधानको दायराभन्दा बाहिर गएर २५ भन्दा बढी मन्त्री नबनाउन सुझाव दिए । जतिसुकै अप्ठ्यारो भएपनि २५ भन्दा बढी मन्त्री बनाउन नपाइने संवैधानिक व्यवस्था नेम्वाङले स्मरण गराएका थिए ।

विगतको सरकारले गरेका कामलाई निरन्तरता दिन पनि उनले आग्रह गरेका थिए ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपनेता नेम्वाङले आगामी निर्वाचन समयमै गराउन पनि सचेत गराएका छन् । उनले देउवा सरकारको महत्वपूर्ण जिम्मेवारी निर्वाचन सम्पन्न गराउने रहेको बताए । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अबको डेढ वर्षमा सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 'यो सरकारको महत्वपूर्ण जिम्मेवारी निर्वाचन हो । यो निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने छ,' नेम्वाङले भने, 'प्रधानमन्त्रीज्यूलाई मात्रै सुन्नेगरी भन्न चाहन्छु, यो निर्वाचन नसार्नुहोला है, फेरि अप्ठ्यारो पर्ला ।'

सम्बन्धित समाचारः

प्रकाशित : श्रावण ८, २०७८ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीमा थप ६ मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

माओवादीका रामजी बरालले अर्थ र कांग्रेसका मेखलाल श्रेष्ठले पाए शिक्षामन्त्रालयको जिम्मेवारी
कान्तिपुर संवाददाता

पोखरा — सरकार गठन भएको एक महिनापछि गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छिन् ।

माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापाले वन वातावरण तथा भूसंरक्षणमन्त्रीका रुपमा रुपमा शपथ लिएका छन् ।

त्यस्तै कांग्रेसबाट मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री, मणिभद्र शर्मा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति र विन्दुकुमार थापा कानुन सञ्चार तथा प्रदेशसभा मामिलामन्त्रीका रुपमा शपथ लिएका छन् । यसअघि शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका कुमार खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि माओवादीकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या, जसपाका हरिशरण आचार्यले ऊर्जा र स्वतन्त्र सांसद गुरुङले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

कांग्रेस, माओवादी, जसपा र राजमोको समर्थनमा गत २९ जेठमा मुख्यमन्त्री बनेका कांग्रेसका कृष्णचन्द्र नेपालीले गठबन्धनबीच विवाद उत्पन्‍न हुँदा मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

प्रकाशित : श्रावण ८, २०७८ १४:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×