महामारीले बेरोजगारी, बढ्यो ‘डिप्रेसन’ र आत्महत्या- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीले बेरोजगारी, बढ्यो ‘डिप्रेसन’ र आत्महत्या

महामारी सुरू हुनुअघि २०७६ फागुनमा ४१७ ले आत्महत्या गरेको तथ्यांक छ । २०७७ असारसम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा बढी ९६६ पुग्यो । साउनपछि कम हुँदै फागुनमा ४९९ जनामा झरेको आत्महत्याको संख्या गत वैशाख र जेठमा पुनः बढ्यो । जेठमा ६६१ जना अर्थात् हरेक दिन औसत २१ जनाले आत्महत्या गरेको देखिन्छ । 
आत्महत्याको मुख्य कारण रोजगारी, गरिबी र हिंसासँग जोडिन्छ । मानिसमा आइपर्ने मानसिक विचलनलाई समयमा नबुझिदिँदा, व्यक्तिले आफ्ना समस्या व्यक्त नगर्दा आवेशमा आत्महत्या गरेको देखिन्छ । – पार्वती सुवेदी, मनोसामाजिक परामर्शकर्ता- राष्ट्रिय महिला आयोग
विद्या राई

काठमाडौँ — कोरोना संक्रमित बाजुराका सुरेश कठायत उपक्षेत्रीय अस्पताल डडेलधुरा भर्ना भएका थिए । कुरुवा बसेकी थिइन् पत्नी सरिता । उपचारकै क्रममा गत जेठ १५ मा कठायतको मृत्यु भयो । सरिताले खप्न सकिनन्, अस्पतालनजिकैको जंगलमा झुन्डिएको अवस्थामा फेला परिन् । श्रीमान्को मृत्युको पीडा सहन नसकेर उनले आत्महत्या गरेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।

अघिल्लो वर्ष असार १९ मा संक्रमण पुष्टि भएपछि बझाङको खप्तडछान्ना–७ का १८ वर्षीय शेरबहादुर राउतले रूखमा पासो लगाए । उनी एक महिनाअघि १६ जनाको समूहमा भारतबाट फर्किएर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए । असार १ मा आरडीटी रिपोर्ट पोजिटिभ आयो । त्यसको १४ दिनपछि उनलाई घर जान दिइयो । त्यसको पाँच दिनपछि पुनः परीक्षण गर्दा पीसीआर पोजिटिभ आयो । कसैले यसबारे फोनमा खबर दिनेबित्तिकै उनले आत्महत्या गरे ।

डर, चिन्ता र पीरले मानिसलाई रोगी बनाउँछ । बेलैमा निदान भएन भने त्यो आत्महत्याको अवस्थामा पुग्न सक्ने विज्ञ बताउँछन् । कोरोना महामारी सुरु भएयताको आत्महत्याको तथ्यांकले संक्रमणबाट ज्यान गुमाउनेका परिवार र उपचारपछि निको भएकामा पनि मानसिक समस्या बढेको देखाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभरमा २०७५(/७६ देखि २०७७(/७८ जेठसम्म ३५ महिनामा १८ हजार ३ सय १९ वटा आत्महत्याका घटना भएका छन् । ‘कोरोनाकालमा मान्छे घरैमा थुनिनुपर्ने अवस्था आयो, बेरोजगारी र आर्थिक अभाव बढ्यो,’ कार्यालयका प्रवक्ता वसन्तबहादुर कुँवरले भने, ‘घरेलु हिंसादेखि जघन्य अपराध पनि भए, सहन नसकेर धेरैले आत्महत्याको बाटो रोजेको पाइयो ।’

कोरोना महामारी सुरु नभएकै बेला २०७६ फागुनमा ४ सय १७ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ । २०७७ असारमा आइपुग्दा यो संख्या दोब्बरभन्दा बढी ९ सय ६६ पुग्यो । साउनपछि कम हुँदै फागुनमा ४ सय ९९ जनामा झरेको आत्महत्या दर गएको वैशाख र जेठमा पुनः बढेको छ । जेठमा ६ सय ६१ जना अर्थात् हरेक दिन औसत २१ जनाले आत्महत्या गरेका छन् ।

मानसिक रोग विशेषज्ञ डा. रितेश थापाले महामारीको त्रास, राज्यको कमजोर स्वास्थ्य सेवा, जनशक्तिको पूर्वतयारी नहुनु, नागरिकलाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न नसक्नुले मानसिक समस्या विकराल बनेको बताए । आर्थिक संकटले दैनिक जीविकामा पारेको जटिलता र किशोर तथा युवामा देखिने भविष्यप्रतिको अन्योलले आत्महत्याको घटना वृद्धि भएको उनको विश्लेषण छ । ‘पोहोरको बन्दाबन्दीमा नयाँ रोग भएर मानिस डराएका थिए, आर्थिक उपार्जन, व्यापार बन्द भयो । भविष्यको अन्योलले निराशापन, दैनिक जीविकामा असहजताले गर्दा डिप्रेसनसँगै आत्महत्या बढ्यो,’ उनले भने, ‘यस वर्ष रोग नयाँ भएन, तर खोप पाउन गाह्रो छ । कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो । बेड र अक्सिजन पाइएन, आफन्त, साथीभाइ बचाउन नसकेको आत्मग्लानिले आत्महत्याको अवस्थासम्म पुर्‍यायो ।’ उनीसित दैनिक परामर्श लिन आउनेहरूमा बढीजसो शिक्षा र रोजगारीको ग्यारेन्टी नभएपछि विदेश जान तयार भएका तर महामारीले रोकिनुपर्दा आत्महत्या गर्नेका आफन्त पर्छन् । देशको राजनीतिक अस्थिरताका कारण भविष्य अनिश्चित देखेका युवा पनि उनीकहाँ आइरहन्छन् ।

कोरोना महामारीले अर्थतन्त्र तहसनहस बनाउँदा त्यसको असर तल्लो तहका नागरिकमा पनि परेको छ । काठमाडौंको तारकेश्वर–५ लोलाङका ४७ वर्षीय यदुप्रसाद सापकोटाले २०७७ भदौ अन्तिम साता प्रमुख जिल्ला अधिकारीलाई ‘निषेधाज्ञाले गरिखान गाह्रो भएको’ समस्याबारे कापीमा लेखेर त्यसको फोटो फेसबुकमा पोस्ट गरे । त्यही रात १० बजेतिर उनी आफ्नै घरको भान्सामा झुन्डिएको अवस्थामा फेला परे । घरनजिकै मासिक झन्डै ८० हजार भाडा तिर्ने गरी उनी हार्डवेयर पसल सञ्चालन गर्थे । ६ महिनायता व्यापार ठप्प भएपछि बजारबाट पैसा नउठ्दा उनलाई आपत् परेको थियो । त्यही साता मोरङको सुन्दरहरैंचा–१० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीले परिवार पाल्न नसकेपछि आत्महत्याको बाटो रोजे । निर्माण क्षेत्रमा मजदुरी गर्ने उनको भरमा ६ जनाको परिवार थियो । राम्रो कमाइ हुने भन्दै विदेश जान लागेकी पत्नीलाई दलालले दिल्ली पुर्‍याए । बन्दाबन्दी सुरु भएपछि श्रीमती दिल्लीमै अलपत्र परिन् । यता दर्जीको मजदुरी पनि बन्द भयो । आम्दानी रोकिएपछि परिवारमा भोकमरीकै अवस्था आयो । बन्दाबन्दीमा पाँच महिना संघर्ष गरेका उनले दुई छोरी र एक छोराको पेट पाल्न ग्यास सिलिन्डर नै बेचिदिए । स्थानीय अगुवा कुमार मिजारका अनुसार अन्तिम संस्कार गर्न लैजाँदा उनको छातीमा राख्ने चामल पनि थिएन । सहयोग संकलन गरेर पोस्टमार्टमपछि स्थानीयले दाहसंस्कार गरिदिएका थिए ।

पोहोरको महामारीले निम्त्याएको मनोसामाजिक समस्या पहिचान गर्न ट्रान्सकल्चरल साइकोसोसियल अर्गनाइजेसन नेपाल (टीपीओ) ले अध्ययन गरेको थियो । दुई चरणमा गरेको अध्ययनको निष्कर्षमा भनिएको छ, ‘कोभिड–१९ का कारण देशमा अन्य अवस्थामा भन्दा पनि बढी मनोसामाजिक समस्या देखिएको छ, बन्दाबन्दी बढ्दै जाँदा मनोसामाजिक समस्या पनि बढ्दै गएको देखिन्छ ।’

अप्रिल ३ देखि १० सम्मको पहिलो चरणमा ४२ प्रतिशत उत्तरदाताहरूले कम्तीमा एउटा र २६ प्रतिशत उत्तरदाताहरूले दुई वा सोभन्दा बढी मनोसामाजिक समस्या (बेचैनी, डर, चिन्ता, उदास वा दिक्दारी) बाट प्रभावित भएको बताएका थिए । अप्रिल २३ देखि मे ३ सम्मको दोस्रोमा उक्त दर वृद्धि भएर ५० प्रतिशत उत्तरदाताहरूले कम्तीमा एउटा र ३२ प्रतिशत उत्तरदाताहरूले दुई वा सोभन्दा बढी मनोसामाजिक समस्याबाट प्रभावित भएको जवाफ दिएका थिए । टीपीओले पहिलो चरणमा १ हजार ५ सय ७ र दोस्रो चरणमा २ हजार १४ जनालाई समेटेको थियो ।

समाजबाट तिरस्कृत भएपछि मानसिक विचलनका कारण आत्महत्या गर्नेहरू पनि छन् । धनुषाको मिथिला बिहारी–२ पुरन्दहका विशेश्वर यादव भारत राजस्थानको जोधपुरबाट फर्केर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा राखिएको थियो । कोरोनाको लक्षण नदेखिएकाले करिब १० दिनपछि उनलाई होम आइसोलेसनमा पठाइयो । छिमेकीका अनुसार आइसोलेसनबाट फर्किए पनि अन्तिमपटक स्वाब परीक्षण नभएको भन्दै उनलाई घरबाहिरै राखेर परिवारका सदस्यले पातमा खाना दिन्थे । आइसोलेसनबाट घर फर्केको दुई सातापछि २०७७ साउन १६ मा उनले आत्महत्याको बाटो रोजे । मिथिला बिहारी नगर प्रमुख अनिल यादव घर र समाजबाट तिरस्कृत भएपछि आत्महत्या गरेको हुन सक्ने बताउँछन् ।

प्रदेश २ मा जस्तै सुदूरपश्चिम, कर्णाली तथा सीमा जोडिएका तराईका बासिन्दा अर्थोपार्जनका लागि भारतको रोजगारीमा निर्भर छन् । पहिलो चरणको महामारीमा भएको बन्दाबन्दीमा त्यस्ता नेपालीले भारतमा चौकीदारी, मजदुरी गुमाए । अन्तर्राष्ट्रिय आप्रवासी संगठनले प्रकाशित गरेको ‘कोभिड–१९ मा नेपाली आप्रवासी कामदारहरूको स्थिति’ रिपोर्टमा भारतमा रोजगारी गर्ने धेरैजसो कर्णाली र सुदूरपश्चिम प्रदेशका छन् । उनीहरूलाई महामारीले जीविकोपार्जनमा झनै निराश बनाएको उल्लेख छ । कोरोना त्रासका कारण त्यसबेला हजारौंको संख्यामा स्वदेश फर्किए । क्वारेन्टाइनमा बस्नुपर्दा परिवार भेट्न पाएनन् । बेखर्ची भएर घर छिर्दैगर्दा ‘कोरोना बोकेर ल्यायो’ भन्ने आक्षेप लाग्थ्यो । बेखर्ची भएर फर्केपछि परिवार धान्ने चिन्ता, समाजको छिःछि र दुरदुरका कारण तनाव सहन नसकेर यीमध्ये कतिपयले आत्महत्याको बाटो रोजे ।

राष्ट्रिय महिला आयोगकी मनोसामाजिक परामर्शकर्ता पार्वती सुवेदीका अनुसार मानिसमा आइपर्ने मानसिक विचलनलाई समयमा नबुझिदिँदा, व्यक्तिले आफ्ना समस्या व्यक्त नगर्दा आवेशमा आत्महत्या गर्ने देखिन्छ । विकासोन्मुख मुलुकमा आत्महत्याको मुख्य कारण रोजगारी, गरिबी र हिंसासँग जोडिन्छ । ‘औषधि खाइरहेकाहरू औषधि किन्ने पैसा सिद्धिएपछि तनावमा पुग्छन्,’ उनले भनिन्, ‘गाडी नचल्दा न्याय पाउन पुलिस प्रशासनसम्म जान नपाएको र जतिबेलै मर्ने सोच आइरहेको भन्ने खालमा मानिस पनि मकहाँ आइरहनुहुन्थ्यो ।’

नेपाल प्रहरीको तथ्यांकले २०७७ असारमा प्रदेश २ का महिला र बालिकाको आत्महत्या दर पछिल्लो तीन वर्षकै उच्च देखाउँछ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि देशभर बन्दाबन्दी गरेको अढाई महिनापछि यहाँका ६८ जना महिला र २६ बालिकाले आत्महत्या गरेका छन् । अन्य प्रदेशमा पुरुषको आत्महत्या बढी देखिन्छ, तर प्रदेश २ को हकमा त्यस्तो छैन । प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुँवर भन्छन्, ‘प्रदेश २ को सामाजिक संरचना अरूको भन्दा फरक छ, हिंसा हुनेबित्तिकै आत्महत्या जोडिन्छ । त्यहाँ महिला र बालिकाको आत्महत्या दर उच्च हुनुमा यही कारण जोडिन्छ ।’

प्रदेश १ मा पनि महामारीको दोस्रो लहरसँगै आत्महत्याको घटना बढेको देखिन्छ । गएको जेठमा यहाँ १ सय ५२ जनाले आत्महत्या गरे । गण्डकी प्रदेशमा मात्रै उक्त महिना आत्महत्याका घटनामा कमी आएको छ । एक महिनामा यहाँका २४ पुरुष, १५ महिला, ४ बालबालिका गरी ४३ जनाले आत्महत्या गरेका छन् । देशभरका आत्महत्याको घटना विश्लेषण गर्दा ७९ प्रतिशतले झुन्डिएर र २० प्रतिशतले विष खाएर आत्महत्या गरेका छन् । अन्यले हाम फालेर, डुबेर, आगो लगाएर, औजार हातहतियारबाट, करेन्ट लगाएर आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।

आत्महत्या घटना न्यूनीकरणका लागि त्यसको कारण पहिचान गरी भौतिक विकासमा जस्तै मानसिक र सामाजिक विकासमा पनि ध्यान दिनुपर्ने प्रहरी प्रवक्ता कुँवर बताउँछन् । यसका लागि नीति बनाएरै आर्थिक र बेरोजगारीको समस्यालाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । महिला आयोगकी परामर्शकर्ता सुवेदी भन्छिन्, ‘सरकारले मानसिक स्वास्थ्यको औषधि निःशुल्क गराउनुपर्छ । मनोसामाजिक स्वास्थ्यका बारेमा गाउँ तहसम्म जनचेतना जगाउनुपर्छ ।’

‘कतिपय सम्हालिनै सकेनन्’

सरु जोशी- श्रम तथा रोजगारविज्ञ

यूएनडीपीको सहयोगमा इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले गरेको अध्ययनमा कोरोना महामारीको पहिलो लहरका दुई महिनामा ४१ प्रतिशत महिला र २८ प्रतिशत पुरुषले आयआर्जन गुमाएको देखिएको थियो । पहिलो लहरकै महामारीमा महिला मन्त्रालय, यूएन वुमन, केयर नेपाल र सेभ द चिल्ड्रेनले गरेको अध्ययनमा करिब ८३ प्रतिशत महिलाले रोजगारी गुमाएको देखियो ।

रोजगारी गुम्दा आर्थिक चाप अत्यधिक हुन्छ । पहिले नै महिला अनौपचारिक क्षेत्रमा छन् । उनीहरूले ज्यालामा विभेद भोगिरहेका छन् । आयआर्जन गुमेपछि धेरै मानिसमा मनोवैज्ञानिक त्रास फैलियो । हाम्रो अन्तरपुस्ता महिलावादी समूहले विपन्न परिवारलाई राहत वितरण गर्दा चामल, नुन र चिनी मात्रै माग्थे । ‘दाल, तेल चाहिँदैन ?’ भनेर सोध्दा ‘चामल भए नुन हालेर खोले खान सकिन्छ, पेट भर्न सकिन्छ’ भन्थे । राज्यबाट सहयोग भएन । राजनीतिक दलहरू महामारीमा आन्तरिक कलहमा केन्द्रित भए । त्यसले म नेपाल छाड्छु, राज्यविहीनता भएर बस्दिनँ भन्ने खालको चरम निराशा बढ्यो ।

महामारीको दोस्रो लहर झन् कडा भयो । पहिलो लहरबाट सुरक्षा सवालमा जुन सिकाइ हुनुपर्थ्यो, भएन । राज्यको गैरजिम्मेवारीपना झन् बढ्यो । पहिलो चरणको महामारीले शिथिल बनाएको थियो । दोस्रो लहरमा संक्रमितको भटाभट मृत्यु हुन थाल्यो । कतिको रोजगारी छैन । वैदेशिक रोजगारीबाट धानिरहेको परिवारमा विदेशबाट पैसा आइरहेको छैन । रोजगारदाताले आधा मात्रै तलब दिए, कतिले दिँदै दिएनन् । एकअर्काबीच सञ्चार हुन पाएन । डर र बाँच्न मन नलाग्ने सोच झन् बढ्यो । कतिले सम्हालिन सके । सम्हालिन नसक्नेले आत्महत्याको बाटो रोजे । तेस्रो लहर आउने सम्भावना बढिरहेको छ । सरकारले त्यसका लागि तयारी गर्नैपर्छ ।

प्रकाशित : श्रावण ६, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्

रहेनन् आधुनिक चित्रकलाका प्रवर्तक उत्तम नेपाली

गणेश राई

काठमाडौँ — वरिष्ठ कलाकार उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य)को ८५ वर्षको उमेरमा बुधबार बिहान साढे ४ बजे निधन भएको छ । करिब तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सबाट पीडित नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो । 

तस्बिर : बिजु महर्जन/कान्तिपुर

कलाकार नेपाली नेपालको आधुनिक अमूर्त चित्रकलाको प्रवर्तकमध्ये एक मानिन्छन् । ‘नेपालको आधुनिक चित्रकलाका पायोनियरमध्ये उत्तम सर एकजना पर्नुहुन्छ,’ कलाकार रविन कोइराला भन्छन्, ‘आधुनिक कला भित्राउनेमा लैनसिंह बाङ्देल, उत्तम नेपाली र उर्मिला गर्ग हुनुहुन्छ । त्यसपछि शशिविक्रम शाह पर्नुहुन्छ ।’

काठमाडौंको किलागलमा वि.सं. १९९४ वैशाख जन्मिएका नेपालीले लखनऊबाट चित्रकलामा स्नातक गरेका थिए । अध्ययनपछि २०१८ सालमा स्वदेश फर्केर आधुनिक चित्रकलामा अगुवाइ गरेका थिए । कलाकार नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन् । उनको नेपाल, भारत, जापान, तत्कालीन सोभियत संघ, बंगलादेश, कोरिया, अस्ट्रेलियालगायत मुलुकमा चित्रकला प्रदर्शनी भएको थियो । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको कार्यालय, नारायणहिटी संग्रहालयलगायतमा नेपालीका कृतिहरू संग्रहित छन् ।

उत्तम नेपालीले कोरेको चित्र । फाइल तस्बिर : बिजु महर्जन/कान्तिपुर

उत्तम नेपाली गीतकार, कवि र अभिनय कलाकारका रूपमा समेत चिनिन्छन् । उनको ‘विना शीर्षकको’ नामक कवितासंग्रह प्रकाशित छ । यसैगरी ‘आमा’ र ‘हिजो आज भोलि’ चलचित्रमा अभिनयसमेत गरेका थिए । उनी निजामती सेवा प्रवेश गरी सूचना विभागको विभागीय प्रमुखका रुपमा अवकाश पाएका थिए ।

‘करिब पाँच वर्षदेखि स्वास्थ्य स्थिति बिग्रिँदै गएकोले बुवाको एकल चित्रकला प्रदर्शन हुन सकेन,’ नेपालीकी कान्छी छोरी प्रकृति कर्माचार्यले भनिन्, ‘उहाँको सयौं कृतिहरू प्रदर्शन हुन बाँकी छन् ।’

नेपालीका श्रीमती मन्दिरा कर्माचार्य, दुई छोरा उद्यम र सुद्यम तथा दुई छोरी छन् । उनको बुधबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनका जेठो छोरा उद्यमले जनाएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ६, २०७८ १०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×