२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको आधिकारिक प्रमाणपत्र नदिँदा समस्या 

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको आधिकारिक प्रमाणपत्र नदिँदा समस्या भएको छ । प्रमुख गन्तव्य देशले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएपछि सरकारले जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको जानसेन खोप उपलब्ध गराएको थियो । खोप लगाएको १४ दिनपछि विदेश जान पाइन्छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको आधिकारिक प्रमाणपत्र नदिँदा समस्या 

खोप लगाइसकेपछि दिइएको प्रमाणपत्र सामान्य प्रकृतिको छ । ‘खोप दिएर मात्रै हुँदैन । त्यसको आधिकारिकता हुने प्रमाणपत्र पनि जारी गर्नुपर्थ्यो,’ वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले भने, ‘खोप दिने ढाँचामाथि विभागसँग समन्वय नै भएन ।’

अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउनुपर्ने प्रमाणपत्र आवश्यक रहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण जनाएको छ । खाडीका देशहरूले क्यूआर कोडसहितको खोप प्रमाणपत्र भएकालाई मात्रै मान्यता दिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए । ‘कामदारका लागि नियमित खोप दिनुपर्छ भनिरहेका छौं । छुट्टै खोप केन्द्रबाट मान्य हुने गरी कार्ड जारी गर्नुपर्छ,’ उनले भने ।

कतार र साउदी अरबले क्यूआर कोडसहितको खोप प्रमाणपत्र भएका कामदारलाई मात्रै क्वारेन्टाइन बस्नु नपर्ने गरी आन्तरिक प्रमाणपत्र एयरलाइन्स कम्पनीहरूलाई जारी गरेको छ । कतारमा क्वारेन्टाइनमा बस्नका लागि २८ सयदेखि ३२ सय रियाल (झन्डै एक लाख रुपैयाँ) खर्च लाग्छ ।

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले हाल जारी गरिएको कार्डमा क्यूआर कोड प्रणाली नभएको बताए । ‘अंग्रेजी र नेपालीमा लेखिएको कार्डलाई छाप हानेर दिने गरेका छौं । यो नै हाम्रो आधिकारिक प्रमाणपत्र हो,’ उनले भने ।

प्रकाशित : श्रावण ६, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?