नेपालमा थप २ हजार २०२ जना कोरोना संक्रमित, १ हजार ५९५ जना संक्रमणमुक्त

श्रावण ५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २०२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ पीसीआर परीक्षणमा मंगलबार थप २ हजार २०२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २९९ परीक्षणबाट ९०६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार १३५ परीक्षणमा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।

हालसम्म देशभर ३४ लाख ८६ हजार ३५४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३२६ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ४१९ रहेको छ ।

यसैबीच काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७१९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं ५३१, ललितपुर १४७ र भक्तपुरमा ४१ जनामा संक्रमण देखिएका हुन् ।

यस्तै देशभर आईसीयूमा ५९२ र भेन्टिलेटरमा १७२ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ ।  

कान्तिपुर

Link copied successfully