एमालेले बोलायो संसदीय दलको बैठक

नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइयो

असार ३१, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता केपी शर्मा ओलीको निर्देशनमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

उनका अनुसार बैठकमा उपस्थित हुन वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसदलाई पनि सूचना पठाइएको छ । ‘चालू संसद् अधिवेशनमा कसरी प्रभावकारी रुपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ भट्टराईले भने,‘ बैठकमा १२१ सासंदलाई नै खबर गरिएको छ ।’

एमाले विवाद समाधानका लागि गठित १० सदस्सीय कार्यदलले आइतबार एकताका लागि १० बुँदे सहमति गरेपनि अहिलेसम्म स्थायी र केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । बरु आफ्नै पार्टीका २३ सांसदको निर्णायक भूमिकाले ओली सत्ताच्यूत भएका छन् । 

बुधबार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले पार्टीमा नेपाललाई कुनै ठाउँ नभएको अभिव्यक्ति दिएका थिए । यसअर्थमा शुक्रबार बस्ने दलको बैठकलाई चासोपूर्वक हेरिएको छ । नेपालपक्ष भने बैठकमा जाने वा नजाने भन्नेबारे निर्णय गरिनसकेको एक नेताले जानकारी दिए ।

एमाले

कान्तिपुर

Link copied successfully