माधव नेपालले गल्ती कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन : ओली- समाचार - कान्तिपुर समाचार

माधव नेपालले गल्ती कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना र कमीकमजोरी स्वीकार गरेपनि कुनै ठाउँ नभएको बताएका छन् ।


तर, नेपालको पछि लागेकाहरुले भने कमीकमजोरी स्वीकार गरेर आए पार्टीमा मौका दिने उनले बताए ।

बालुवाटारबाट बुधबार बालकोट पुगेका ओलीले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गरेको भन्दै नेपालप्रति आक्रोश पोखे ।

‘हाम्रै पार्टीभित्र विभिन्न शक्तिहरु छन् । घुसपैठ यस्तो भयो, पार्टीका कुतत्वहरु प्रतिक्रियावादीका पछिपछि लागेर पार्टीका विरुद्ध, जनताको शक्तिका विरुद्ध, लोकतन्त्रका विरुद्ध आफ्नै सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ विरोधीलाई अगाडि लगाएर गए,’ ओलीले भने, ‘माधव नेपालजस्ता लाज सरम हराएका...उनको पछाडि लाग्ने केही व्यक्तिहरु छन् । पछाडि लाग्नेहरुले कमीकमजोरी महसुस गर्दै पार्टीमा आएर काम गर्न चाहे मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन ।’

सर्वोच्चको परामदेशबाट प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि ओली प्राधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका हुन् । उनलाई कार्यकर्ताहरुले स्कर्टिङसहित बालुवाटारबाट बालकोट लगेका थिए ।

प्रकाशित : असार ३०, २०७८ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय राजदूत क्‍वात्राद्वारा प्रधानमन्त्री देउवालाई बधाई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

बुधबार बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेर राजदूत क्‍वात्राले बधाई तथा शुभकामना दिएका हुन् ।

भेटमा दुई मुलुकबीचको सम्बन्धको बारेमा चर्चा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई ट्वीटरमार्फत बधाई दिएका छन् । उनले दुई मुलुकबीचको झन्डै ७५ वर्ष लामो मित्रतालाई अझ बढावा दिने पनि उल्लेख गरेका छन् ।

प्रकाशित : असार ३०, २०७८ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×