कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु : ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् ।
सिंहदरबारबाट मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले जनादेशले नभई, सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिन लागेको बताएका हुन् ।

जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु : ओली

सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार फैसला गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

संविधानको धारा ७६ को उपधारा ५ मा ओली दाबी गर्न अयोग्य रहेको पनि परमादेशमा लेखिएको थियो । यसतर्फ उल्लेख गर्दै मंगलबार ओलीले भने, 'जनताको जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु ।'

मुलुकको सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहीत रहनु लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण भएको पनि ओलीले बताए । उनले भने, ‘जनादेशका लागि जनतामा जाने व्यवस्थालाई निरंकुश र कानुनको अपव्याख्यामाथि आधारित भएर एवं दलीय प्रणालीको आधारभूत संरचना भत्काएर सरकार बन्ने/बनाउने कुरालाई लोकतान्त्रिक भनेर गरिने परिभाषालाई गलत दिशातिर धकेल्न सक्छ भन्नेमा हामी गम्भीर र चिन्तित छौं ।’

सरकारबाट बाहिरिँदा आफूलाई कुनै चिन्ता नरहेको ओलीले बताएका छन् । आफूले पदमा रहँदा इमानदारीका साथ काम गरेको पनि दाबी गरे । 'सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्‍याउने कुरालाई ध्यानमा राखेर काम गरेको छु । विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु,' ओलीले भने ।

आफ्नो कार्यकालमा मुलुकमा चौतर्फी विकास भएको ओलीले दाबी गरे । 'जनताले राहत महसुस गरेको छ । त्यसकारण म बिदाइप्रति खुसी छु । ढुक्क छु । चिन्ता छैन ।'

प्रकाशित : असार २९, २०७८ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?