देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ - समाचार - कान्तिपुर समाचार

देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा पाँचाैंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । 

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको र साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

‍सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो । साथै, प्रतिनिधिसभा पुनःस्थापना गरी एक साताभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको थियो ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । मंगलबार ५ बजेभित्र देउवालाई नियुक्त गरिसक्न राष्ट्रपति कार्यालयका नाममा जारी परमादेशमा भनिएको थियो ।

सर्वोच्चले संविधानको धारा ७६ को उपधारा २ र उपधारा ३ बमोजिमको प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले उपधारा ५ बमोजिम दाबी गर्न नमिल्ने आदेश पनि दिएको थियो ।

प्रधानमन्त्री नियुक्त भएपछि देउवाले तीनजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेस र सत्तासाझेदार दलहरु माओवादी र जसपाबाट १-१ जना मन्त्री नियुक्त गर्ने देउवाको तयारी रहेको छ ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र देउवा दुवैको दाबी नपुगेको निर्णय गरेकी थिइन् । उनले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले प्रधानमन्त्री पदमा नियुक्ति गर्न नमिल्ने बताएकी थिइन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एमाले माधव नेपाल समूहका २६, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १२ र जनमोर्चाका १ गरी १४९ सांसदको समर्थन आफूलाई भएको दाबी गरेका थिए । ओलीले पनि एमालेका सबै १२१ र जसपाका ३२ सांसद गरी आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गरेका थिए । राष्ट्रपतिले जेठ ७ गते राति नै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसपछि एमालेको खनाल-नेपाल समूहसहित कांग्रेस, माओवादी, जसपाको यादव समूह र जनमोर्चाका गरी १४६ सांसदले प्रतिनिधिसभा पुन:स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रकाशित : असार २९, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्

खोला दोहनले वन कटान

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही खोलामा अवैध उत्खननका कारण आएको बाढीले वन क्षेत्र कटान गरेको छ । एक साताअघि लखन्देही खोलामा आएको बाढीले लालबन्दी–१ नवलपुरस्थित नन्देश्वर सामुदायिक वनको झन्डै २.५ हेक्टर क्षेत्र कटान गरेको हो । वनमा लगाइएको झन्डै १० हजार बिरुवा बगाएर लगेको छ । 

सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित कटानमा परेको नन्देश्वर सामुदायिक वन क्षेत्र । तस्बिर : ओमप्रकाश/कान्तिपुर

सामुदायिक वनका अध्यक्ष उदयबहादुर कार्कीले खोलामा अवैध उत्खननको मार सामुदायिक वनले खेप्नुपरेको बताए । ‘वनको पश्चिममा रहेको हराभार क्षेत्र अहिले बगरमा परिणत भएको छ,’ उनले भने, ‘अवैध उत्खननले नै वनमा कटानको समस्या देखिएको हो ।’ खोला उत्खननको समयमा पटक–पटक जनप्रतिनिधिलाई जानकारी गराउँदासमेत बेवास्ता भएकै कारण वनले क्षति व्यहोर्नुपरेको कार्कीले बताए । असारमै बाढीले वन कटान गर्दै लगेकोमा साउन र भदौको बाढी झन् बस्ती पस्ने खतरा रहेको उनको भनाइ छ ।

खोला उत्खननमा स्थानीय तहको निगरानी हुन नसक्दा ठेकेदारको मनपरी बढेको थियो । सामान्यतया ५ फिटसम्मको खोला उत्खननका लागि स्थानीय तहबाट ठेक्का पाएको ठेकेदारले १० देखि १५ फिटसम्मको गहिरो खाडल खनेर नदीजन्य पदार्थ निकालेका थिए ।

ढुंगागिट्टी निकाल्नका लागि लखन्देही खोलाको ठेक्का सम्झौतामा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार हीरापुर डाब्कालीघाटबाट ६ सय मिटर लम्बाइ, ७५ मिटर चौडाइ र डेढ मिटर गहिराइ गरेर उत्खनन गर्न सकिने भनेर उल्लेख छ । तर, ठेकेदार कम्पनीले खनेको खाडल १० देखि १५ फिट गहिरो थियो । २० लाख पाँच हजार रुपैयाँमा ठेक्का पाएको गजुरमुखी निर्माण सेवाले उत्खननको ठेक्का पाएको थियो ।

स्थानीयले विरोध गरेपछि ठेकेदारले गहिरो खाडलको केही भाग पुरेका थिए । स्थानीय कृष्ण जर्घाका अनुसार खोलाले कटान गरेको क्षेत्रभन्दा तल्लो बस्ती जोखिममा छ । ‘नदीमा ठुल्ठूला खाडल बनाएर उत्खनन गरेकै कारण वन क्षेत्रमा कटान भएको छ, अब योभन्दा तल्लो बस्ती जोखिममा छ,’ उनले भने, ‘जनप्रतिनिधि, कर्मचारी ठेकेदारसँग मिल्दा नागरिकले दुःख व्यहोर्नुपर्ने अवस्था आएको छ ।’ उनले ठेक्का परिमाणभन्दा झन्डै चारगुणा बढी नदीजन्य पदार्थ निकालिएको दाबी गरे । नदीले कटान गरेको क्षेत्रमा अहिले पालिकाले एक्स्काभेटर लगाएर बालुवाले पुरिरहेको छ । तर बालुवा मात्र पुरेर समस्या समाधान नहुने स्थानीयको तर्क छ ।

लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले कटान भएको क्षेत्रमा तटबन्धको काम सुरु भएको जानकारी दिए । मनसुन सकिएपछि दीर्घकालीन तटबन्धका लागि पहल गरिने योजना रहेको उनले सुनाए । ‘सामुदायिक वन क्षेत्रको केही भाग खोलाले कटान गरेको छ, यसको नियन्त्रणका लागि तत्कालीन तटबन्धस्वरूप बालुवाले पुर्ने काम सुरु भएको छ,’ खड्काले भने, ‘दीर्घकालीन तटबन्धको योजना छ, तर खोला उत्खननले नै कटान भएको भन्न सक्ने अवस्था छैन ।’


प्रकाशित : असार २९, २०७८ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×