मंगलबारदेखि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पहिलो मात्रा खोप दिइने

५५ वर्षदेखिकालाई भेरोसेल खोप

असार २८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मंगलबारदेखि वाग्मती,गण्डकी र लुम्बिनी प्रदेशमा पहिलो मात्राको खोप दिने भएको छ । सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिक,सार्वजनिक यातायातका चालक र सहचालक,विश्विविद्यालय र विद्यालयका शिक्षक/कर्मचारीलाई खोप दिन लागेको हो ।

यस्तै, अमेरिकी खोप जेन्सेन अर्को चरणमा ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । तर,यो खोप लगाउने मिति भने तय भइसकेको छैन ।

यसबाहेक विदेश जानेहरुलाई पनि खोप लगाइने विभागका खोप शाखा प्रमुख डा.झलक गौतमले बताए । 'खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा खोप लगाइने व्यवस्था मिलाइएको छ ,' उनले भने । 

त्यस्तै, पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरुलाई पनि खोप दिन लागिएको छ । खोप लिनका लागि सरकारले जारी गरेको प्रमाणपत्र देखाउनुपर्ने हुन्छ ।

— Krishna Paudel कृष्ण पौडेल (@kp_paudel) July 12, 2021

५५ वर्षदेखिका नागरिकले नागरिकता वा अन्य कुनै परिचय खुल्‍ने कागाजका आधारमा खोप लगाउन पाउने विभागले जनाएको छ । कुनै प्रमाण नभएमा स्थानीय तहले प्रमाणित गरेको कागाजात पेस गर्नुपर्ने हुन्छ । 

सार्वजनिक यातायातका चालक,सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र र सवारी साधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण पेस गर्नुपर्ने हुन्छ । यस्ता विवरण प्रमुख जिल्ला अधिकारीले प्रमाणित गर्नुपर्ने हुन्छ । विश्वविद्यालय र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्र पेस गर्नुपर्ने हुन्छ ।

कान्तिपुर

Link copied successfully