२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

खोप राख्ने ठाउँ छैन, ठेक्का लागे पनि निर्माण अलपत्र

मकर श्रेष्ठ

काठमाडौँ — चीन र अमेरिकाबाट एकै पटक ठूलो मात्रामा खोप आउँदै छ, तर सरकारले न खोप लगाउने तालिका बनाएको छ न भण्डारणको व्यवस्था गरेको छ । चीनबाट खरिद गरिएको ४० लाखमध्ये ८ लाख डोज खोप ल्याउँदा नै काठमाडौंको टेकुस्थित केन्द्रीय भण्डारणमा ठाउँ अभाव भएको छ । जब कि लगत्तै अमेरिकाबाट १५ लाख र चीनबाट थप ३२ लाख डोज खोप आउँदै छ । 

खोप राख्ने ठाउँ छैन, ठेक्का लागे पनि निर्माण अलपत्र

स्वास्थ्य सेवा विभागले २०७६ कात्तिकमै टेकुस्थित परिसरमा ७० देखि ८० हजार लिटर क्षमताको आधुनिक केन्द्रीय भ्याक्सिन स्टोर बनाउन प्रक्रिया सुरु गरेको थियो । तर त्यसअनुसार काम अघि नबढेकाले अहिले खोप राख्न ठाउँ अभाव भएको हो । विभागले २०७६ माघमा खोप भण्डारण भवन बनाउन कौशिल बस्नेत/कुँवर जेभी निर्माण कम्पनी छनोट गरेको थियो । उसले ८ करोड ४० लाख २० हजार ७ सय ५३ रुपैयाँमा ठेक्का स्वीकार गरेको थियो । दुई वर्षभित्र प्रयोग गर्न सकिने गरी ठेक्का सम्झौता भएको थियो । तर एक वर्ष हुँदा जगसमेत खनिएको छैन ।

भण्डारस्थल बनाउने भनिएको जग्गा अहिले पार्किङस्थल बनेको छ । भवन बनाउने स्थानको भित्तामा पर्खाल लगाइएको छ । ठेकेदार कम्पनीले केही मुठा रड पनि झारेको छ । विभागको आपूर्ति महाशाखामा स्वास्थ्य सामग्री माग्न र लिन आउनेहरूले यही ठाउँलाई पार्किङ बनाएका छन् । ‘ठेक्का लागेको भवन बनेको भए अहिले भण्डारणको समस्या पर्दैनथ्यो,’ विभागका एक कर्मचारीले भने, ‘२ देखि ८ डिग्रीमा राख्न मिल्ने खोप ल्याउँदा त भण्डारणको समस्या छ भने माइनस २० डिग्रीमा राख्नुपर्ने खोप कसैले अनुदान नै दिए पनि राख्न समस्या हुन्छ ।’

ठेकेदार कौशिल बस्नेत भने कर्मचारीकै ढिलासुस्तीका कारण भवन बनाउन ढिलाइ भएको आरोप लगाउँछन् । ‘ठेक्का पाएको १५ महिनाभित्र सक्ने गरी काम अघि बढाएका थियौं, भवन बनाउने ठाउँमा कालो माटो भेटिएपछि माटो परीक्षण गर्दा डिजाइन परिवर्तन भयो,’ उनले भने, ‘४२ लाख लागत पनि बढ्ने भयो । थप भएको लागतको रकममा कुरा नमिलेपछि निर्माणमा ढिलाइ भएको हो ।’

ठेक्का लिएर पनि काम गर्न नपाएपछि थप भएको रकममा १३ लाख घटेर पुनः सम्झौता भइसकेको उनले बताए । खोप भण्डारणको समस्या भइरहेकाले तत्काल काम सुरु गर्ने उनको भनाइ छ । यता अहिले ल्याएको खोप भण्डारण गर्न समस्या भएको छ, यसको जवाफदेही को हुने भन्ने स्पष्ट छैन ।

चीनबाट पहिलो चरणमा ल्याइएको खोप राख्न पनि समस्या भएपछि करिब दुई लाख डोज खोप पथलैया र पोखरा पठाइएको छ । टेकुमा करिब ३ लाख डोज राखिएको छ भने बाँकी खोप तापक्रम मिलाएर भ्यानमा राखिएको छ ।

टेकु र पथलैयामा कोरोनाविरुद्धको खोप राख्न ११ हजार २ सय ५० लिटर क्षमताका भण्डारण छन्, यी दुवै ठाउँमा दुई लाख ८१ हजार दुई सय ५० मात्राका दरले खोप राख्न सकिन्छ । त्यस्तै प्रदेशका ६ भण्डारणमा कुल २२ हजार लिटर क्षमता छ जसमा ९३ हजार सात सय ५० का दरले पाँच लाख ६२ हजार पाँच सय डोज खोप राख्न सकिन्छ ।

त्यस्तै त्रिभुवन विमानस्थलमा तीन लाख र राष्ट्रिय औषधि प्रयोगशालामा दुई लाख १२ हजार पाँच सय डोज खोप राख्न सकिन्छ । तर, भेरोसेल खोपको एक भाइलमा जम्मा दुई डोज हुने भएकाले भण्डारण गर्न अझ धेरै ठाउँ चाहिन्छ । यो खोप देशैभरका भण्डारणमा २२ देखि २४ लाख डोज राख्न सकिने विभागले जनाएको छ ।

भण्डारणको अभाव भएको यो बेला आइसकेको खोप खपत गर्ने तदारुकता पनि देखिएको छैन । जनता खोपको पर्खाइमा छन् तर सरकारले खोप लगाउने कार्यतालिका अझै सार्वजनिक गरेको छैन । काठमाडौं उपत्यकाबाहिर ६२ वर्षभन्दा माथिकाले र उपत्यकामा ६० वर्षभन्दा माथिकाले खोप लगाइसकेका छन् ।

अमेरिकाले दिने १५ लाख डोज जोन्सन एन्ड जोन्सन कम्पनीको खोप सोमबार ल्याइँदै छ । यो खोप रोटा भाइरसविरुद्धको खोपका लागि छुट्याएको ठाउँमा राख्ने तयारी छ । रोटाविरुद्धको खोप नआउँदासम्म जोन्सनको खोप राख्न लागिएको खोप भण्डारण शाखा प्रमुख बडेबाबु थापाले बताए । ‘रोटा खोप आयो भने भण्डारण गर्न समस्या पर्न सक्छ,’ उनले भने, ‘कोरोनाविरुद्धको खोप तत्काललाई त्यहाँ भण्डारण गर्न सकिन्छ ।’ चीनबाट थप खोप ल्याउँदा भने कहाँ भण्डारण गर्ने भन्ने कार्ययोजना छैन । बिहीबार बेइजिङ जाने जहाजले शुक्रबार कम्तीमा ८ लाख डोज खोप ल्याउने नेपाल वायु सेवा निगमले जनाएको छ । तेस्रो खेपको खोप लिन साउन ७ मा जहाज चीन जाने निगमको कार्यसूची छ ।

विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने खोप भण्डारण स्थलको समस्या नहुने दाबी गरे । ‘भण्डारणको समस्या पर्दैन, असार अन्तिमसम्म खोप लगाउने कार्ययोजना आउँदै छ,’ गौतमले भने, ‘अब खोप लगाउने प्राथमिकतामा ५५ वर्षमाथिका नागरिक पर्नेछन् ।’

प्रकाशित : असार २८, २०७८ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?