सुनसरी — कोभिड संक्रमित बिरामीलाई लक्षित गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिक्विड अक्सिजन ट्यांक जडान भएपछि बिहीबारदेखि परीक्षण सुरु भएको छ ।
८० लाख रुपैयाँ लागतको २० हजार लिटर क्षमताको उक्त अक्सिजन भण्डारण ट्यांक प्रधानमन्त्री कार्यालयले सिधै उपलब्ध गराएको जनाइएको छ । ट्यांक स्थापना गर्ने ठेक्का शंकर अग्रवालले पाएका थिए । प्रतिष्ठानमा हाल
परीक्षणका रूपमा सञ्चालित उक्त ट्यांकमा किनेर अक्सिजन भरेपछि पाइपलाइनमार्फत कोभिड–१९ अस्पताल र प्रतिष्ठानका अन्य वार्डमा आपूर्ति गरिने प्रणाली अपनाइएको बायोमेडिकल इन्जिनियर प्रदीप साहले बताए ।
उनका अनुसार प्रतिष्ठानमा कोरोना संक्रमितसहित अक्सिजन आवश्यक पर्ने बिरामीहरू प्रतिष्ठानमा अत्यधिक आउने गरेकाले यसलाई वैकल्पिक रूपमा व्यवस्थापन गरिएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले लिक्विड अक्सिजन ट्यांकबाट पाइपलाइनमार्फत सोझै बिरामीको बेडमा पुर्याइने भएकाले सिलिन्डरहरू भरेर ल्याउने झन्झट नहुने बताए ।
प्रतिष्ठानमा तीन वर्षअघि इन्टरनेसनल डाइग्नोकेन, भारतको युनिसी इन्डियाले आपूर्ति गरेको ३ करोड २४ लाख रुपैयाँ लागतको अक्सिजन प्लान्ट सञ्चालनमा आएको दोस्रो दिनमै एउटा अक्सिजन जेनेरेटर र जीओलाइट धुलिएपछि लामो समय बिग्रेको थियो । प्रतिघण्टा १६ सय लिटर अक्सिजन उत्पादन गर्ने भनेर दाबी गरिए पनि परीक्षणकालमा पूर्णक्षमतामा शुद्ध अक्सिजन उत्पादन गर्न नसक्दै बिग्रेको थियो । पछि प्लान्ट मर्मतसम्भारको खरिद प्रक्रिया नै सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार नभई मर्मत खर्च भनेर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले डाइग्नोकेनका सञ्चालक विज्ञान अर्याललाई ५५ लाख रुपैयाँ भुक्तानी दिएका थिए ।
प्रतिष्ठानको अक्सिजन प्लान्टले हाल प्रतिघण्टा आठ सय लिटर अक्सिजन मात्र उत्पादन गर्दै आएको छ । नपुगेको अक्सिजन सुनसरीका विभिन्न निजी प्लान्टबाट खरिद गर्दै आएको छ ।
