बाढीपहिरोपछिको हेलम्बु-मेलम्ची : ‘ऊ त्यहीँ मुल्कोमै थियो मेरो घर’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोपछिको हेलम्बु-मेलम्ची : ‘ऊ त्यहीँ मुल्कोमै थियो मेरो घर’

ठूला–ठूला ढुंगा र माटोले पुरिएर खोला किनार बस्तीकै उचाइमा आएको छ ।
ऋषिराम पौड्याल

मेलम्ची, सिन्धुपाल्चोक — रोजगारीको खोजीमा रामेछापबाट आएर १७ वर्षसम्म सुखदुःखको कर्मथलो बनाएको मेलम्ची छाड्न बुद्धिप्रसाद गौतमको मन पटक्कै मानेन । मेलम्चीमै जीवन बिताउने मनसायले उनले चार वर्षअघि पुर्ख्यौली थलो बेचबिखन गरे । बैंकको ऋण थपथाप गरेर ४५ लाखमा किनेको उनको घर भएको ठाउँमा अहिले इन्द्रावती नदीको मुल्को दौडिरहेको छ ।

आफ्नो घर त्यहीँ इन्द्रावती खोला बगेको ठाउँमा थियो भन्ने देखाउँदै बुद्धिप्रसाद गौतम । बेकरी चलाएका उनको बाढीले सबै सम्पत्ति बगाएको छ । तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

‘उ त्यहीँ थियो मेरो घर,’ गौतम सान्त्वना दिन आउने आफन्तलाई इन्द्रावतीतर्फ औंल्याउँदै भन्छन्, ‘जीवनभरको पसिना छिनभरमै बिलायो एकैछिनमा सुकुम्बासी भइयो ।’

चार पुस्तादेखि मेलम्ची पुरानो बजारमा बस्दै आएका श्यामकृष्ण श्रेष्ठ आफ्नो पुरिएको तीनतले घर वरिपरि फन्को मारेर बेलाबेलामा झोक्रिन्छन् । बाबुआमाले धेरै दुःख पाएको सुनेका श्यामकृष्णले भने वर्षौंको मिहिनेतबाट पक्की घर बनाएका थिए । तर उनी नयाँ घरमा एक वर्ष पनि बस्न पाएनन् । पस्केको भात खानै नपाई भागाभाग गरेर बाँचेको बताउने श्रेष्ठको परिवारसँग अहिले आङ ढाक्ने एकसरो लुगाबाहेक केही छैन ।

हेलम्बु हल्देका ग्याल्जेन लामाले बाढीको पानी घुँडासम्म आउँदाआउँदै दौडेर ज्यान जोगाए । तर उनी बस्दै आएको घरबारी छिनभरमै मेलम्ची खोलामा बिलायो । ‘हामी बुढाबुढीलाई भगवान्ले बचाएजस्तो लाग्छ,’ लामा भन्छन्, ‘एकछिन अघि भेटेको मान्छे सबै बगरमा मिसिए ।’ बाढीले बगाएर उनको घर आसपासका ५ जना बेपत्ता छन् ।

गत असार १ गतेको बाढीपछि मेलम्चीदेखि हेलम्बुको तिम्बुसम्म झन्डै १४ किलोमिटर क्षेत्रमा बुद्धिप्रसाद, श्यामकृष्ण र ग्याल्जेन जस्ता सयौंसँग पीडा र रोदनका कथा अनगिन्ती छन् । मेलम्चीका रामकाजी श्रेष्ठका पाँच भाइ छन् । उनीहरूको सम्पत्ति एउटा घर मात्रै थियो । त्यसलाई पनि बाढीले छोप्यो । रामकृष्णको परिवारको जस्तै कथा–व्यथा अहिले हेलम्बु र मेलम्चीका अधिकांशको छ । कल्पनै नगरेको बाढीले मेलम्ची–हेलम्बु करिडोरका बासिन्दा अहिले फेरि के होला भन्ने त्रासमा छन् । लामा भन्छन्, ‘यस्तो त बाढी होइन, हावा आएजस्तो भयो ।’ बाढी आउनु केही समयअघि जमिन हल्लिएको र हावा चलेको उनले बताए । बाढीको उद्गमस्थलको अवस्था पत्ता पाउन नसक्दा तटीय क्षेत्रका बासिन्दा बढी त्रासमा छन् ।

बाढीले अस्तव्यस्त भएको मेलम्ची बजारबाट देखिने इन्द्रावती । बाढीले भत्काएर बगरमा ल्याएको मेलम्ची पुलको संरचना । तस्बिरमा देखिएको बालुवाले पुरेको भागमा धान खेत र मेलम्ची नगरपालिकाले बनाउँदै गरेको पार्क थियो । तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

बाढीमा परेर हराइरहेका हेलम्बु गाउँपालिकाका एक जनाको मात्र शव फेला परेको छ भने १५ जना अझै बेपत्ता छन् । मेलम्ची खानेपानीका ८ कर्मचारी तथा कामदार हराएकामा दुई जनाको मात्र शव भेटिएको छ । मेलम्ची मुहान क्षेत्र हेलम्बुका विस्थापित १ सय ७ परिवारले टेन्टमा रात बिताइरहेका छन् । मेलम्चीका डेढ सय परिवार विस्थापित भएका छन् । बजारनजिकै बसेर व्यवसाय चलाउन गाउँको खेतीबारी बेचेर बेंसी झरेकाहरू सुकुम्बासी भएका छन् ।घरबारविहीन मात्र भएका छैनन् उनीहरूले भोगचलन गर्दै आएको जमिनको नामोनिसाना छैन । मेलम्चीका कतिपय घर बगाएको छ । केही घर बालुवामुनि दबिएका छन् । मेलम्ची खोला किनारको मेलम्ची बजार, फट्टे, तालामाराङ, ग्याल्थुम, चनौटे, गणेशेबगर, किउलका हजारौं रोपनी हरिया फाँट बगरजस्ता देखिन्छन् । खोला किनारका सरकारी भवन, विद्यालय, सडक, पुल र सार्वजनिकस्थल बाढीले बगाएको छ । एक बस्तीबाट अर्को बस्तीमा जाने गोरेटोसमेत छैन । घरबार गुमाएकाहरूको एउटै प्रश्न छ, ‘अब बाँच्ने कसरी ? मेलम्ची बजारका डेढ सय परिवार विस्थापित भएको प्रारम्भिक अनुमान छ ।

भूकम्पपछि जिल्लामै चहलपहलको बजारका रूपमा विकास हुँदै गएको मेलम्ची बजारवासी अहिले त्रसित छन् । माथिबाट बाढी आएको खबर समयमै पाएकाले मेलम्ची बजारवासी कसैले पनि ज्यान गुमाउनुपरेन । उनीहरूले भागाभाग गरेर ज्यान जोगाए । तर जीवनभर कमाएको सम्पत्ति भने एकैछिनमा पानीमा मिसिएको छ । बजार बगर जस्तो भयो । कतिपय साना व्यवसायी र मेलम्चीमा मात्र घर भएकाहरू सुकुम्बासी भए । अहिले खोलाको बहाव घट्दै गएको छ । बजारको ठाउँठाउँमा घरायसी सामान छरपष्ट देखिन थालेका छन् ।

पीडितहरू बालुवाले छोपेका आफ्ना घरका झ्यालका प्वालहरूबाट चियाउँदै गरेको देखिन्छ । कोही सामानको खोजीमा बालुवाले पुरिएका घरका कोठाहरू खोतल्न थालेका छन् । तर सामान्य ढंगले बजारबाट माटो र बालुवा पन्छाउन सक्ने अवस्था छैन । मेलम्ची बजार पुनर्निर्माण तथा सरोकार समितिका अगुवा सागर श्रेष्ठका अनुसार सामान्य हिसाबले घरघरबाट बालुवा पन्छाउने अवस्था नभएपछि स्थानीयमा अन्योल छ । घडेरीसमेत गरी करिब २५ करोड खर्चेर निर्माण गरेको श्रेष्ठको होटलको दुई तला बालुवाले पूरै पुरेको छ । उनी भन्छन्, ‘बालुवा पन्छाउन सजिलो छैन ।’ उनी तत्काल बजार जोगाउने अभियानमा एक्स्काभेटर र डोजरको सहयोगमा खोलाको छेउछेउमा ढुंगा थुपार्ने काममा व्यस्त छन् ।

हेलम्बुको गणेशेडाँडा शिविरमा बसेका बाढीपीडित । विस्थापितमध्ये १२ परिवार एकै भान्सामा खाना खान्छन् । तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

अब के होला ? यति ठूलो बाढी कुन ठाउँबाट आयो ? कसरी यस्तो रूप लियो ? फेरि पनि बाढी आउने हो कि ? यस्ता प्रश्नले मेलम्चीवासीलाई सताउने गरेको छ । मेलम्ची जोड्ने सडकमार्ग र झोलुंगे पुल बगाएपछि बाहिरबाट आउजाउ गर्न समस्या भएको छ । गाउँबाट आउने यातायातका साधनको प्रवेश रोकिएको छ । पैदलका लागि पनि लामो समय लगाएर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था छ । नजिकैको गाउँ पनि दुर्गम जस्तै बनेको छ । यसले मेलम्चीको चहलपहल घटाएको छ ।

त्यसैले बजारवासी कोही बालुवाले पुरेको घर खोतल्दै छन् भने कोही अब के गर्ने भन्दै अन्योलमा देखिन्छन् । भाडाको घरमा होटल व्यवसाय गर्दै आएका तासी तामाङ बालुवाले पुरेको सामान झिक्दै भन्छन्, ‘कतै केही काम लाग्ने सामान भेटिन्छ कि ?’ उनी सहयोगीसहित दिनैपिच्छे घरलाई पुरेको बालुवा खोतलिरहेका छन् । तासी भाडामा बसेको घरको सरसामान खोज्न व्यस्त छन् । अहिले बजारवासी धेरै आफ्नो घर जोगाउन एक्स्काभेटर लगाएर खोलालाई टाढा लैजाने कोसिस गरिरहेका छन् । मेलम्ची नगरपालिका र स्थानीयले एक्स्काभेटरको सहारामा बजार जोगाउन खोलाको किनारमा ढुंगा हालिरहेका छन् । तर बाढी रोकिन्छ कि फेरि आउँछ ? त्रास त बाँकी नै छ ।

झन्डै एक किमि क्षेत्रमा फैलिएको मेलम्ची बजार क्षेत्रका डेढ सय घर बालुवाले पुरिएका छन् । बजारको दक्षिणतर्फको नयाँबस्ती र उत्तर एवं पूर्वतर्फको पुरानो बजारलाई माटो/बालुवाले पुरेको छ । तीन तलासम्म पुरिएका घरहरू जोगाउने कोसिस भइरहेको छ । तर खोलाको सतह निकै बढेकाले वर्षात्को पानी माथिल्लो भागमा पस्ने जोखिम अझै छ । बजारको बीच भाग सुरक्षित छ भने पूर्वतर्फको खेतीयोग्य जमिनलाई इन्द्रावतीले कटान गरेर बालुवाको ढिस्को बनाएको छ । नदीको सतह १२ मिटरसम्म बढेको प्रारम्भिक अनुमान छ । बाढीअघि मेलम्ची–इन्द्रावतीभन्दा बजार निकै उचाइमा थियो । अहिले खोलाको सतह र बजार एउटै उचाइमा स्थिर जस्तै भएको छ । बजारको मध्यभागमा मेलम्ची खोलामा राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाउन लगाएको झोलुंगे पुलको जगमात्रै बाँकी छ । झोलुंगे पुलबाट तल्लो भागमा रहेको पुल बगाएको छ ।

मेलम्ची बजारदेखि करिब १४ किमि टाढा हेलम्बुको किउलसम्मको खोला किनारको भाग झट्ट हेर्दा मधेसको समतल भूमि जस्तै देखिन्छ । ठूला–ठूला ढुंगा र माटोले पुरिएको खोला किनार बस्ती र खेतीयोग्य जमिनकै उचाइमा आएको छ । ठाउँठाउँमा घर, गोठ र पाटीपौवाहरू खोलामा ढलेको अवस्थामा देखिन्छन् ।

हेलम्बुको चनौटे बजार । बजार मेलम्ची खोलाभन्दा निकै तल थियो तर बाढीले बजारसम्मै ढुंगामाटो थुपारेको छ । बजारमा कुनै पनि बेला खोला पस्न सक्ने भएको छ । तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

मेलम्ची बजारका घरहरू बालुवा र माटोले पुरिएका छन् । खोलाको सतह र बजारका घरको दोस्रो तलासम्म एउटै उचाइमा देखिन्छन् । बजारबाट मेलम्ची मुहानतर्फको प्रवेशमार्ग बाढीले बगाएपछि अस्थायी प्रकृतिको सडक सञ्चालनमा ल्याइएको छ । बजारको अन्तिम बिन्दुबाट उक्त सडक खण्डको तल्लो भाग अहिले पनि मेलम्ची खोलाले कटान गरिरहेको छ । बाढीअघि खेती लगाएको मेलम्चीको फराकिलो फाँटमा माटो र ढुंगाको थुप्रो देखिन्छ । मेलम्चीबाट तालामाराङसम्म ६ किमि खोलाको किनार फराकिलो बगरमा परिणत भएको छ । मेलम्ची एफएम र होटलहरूको भवनलाई बीचमा पारेर मेलम्ची खोला बगिरहेको छ । मेलम्ची बजारबाट करिब एक किमि टाढा फट्टेस्थित पक्की पुल भाँचिएको छ भने खोला किनारका घरहरू खोलामा ढलेको अवस्थामा देखिन्छन् ।

पक्की पुल भाँचिएपछि पाल्चोक, दुवाचौरलगायतका स्थानमा जाने यातायात पूर्णरूपमा बन्द भएको छ । तालामाराङमा तेर्से माविको भवनको केही भागमा क्षति पुगेको छ । त्यसलाई स्थानीयको पहलमा खोलामा तारजाली लगाएर तत्कालका लागि जोगाइएको छ । मेलम्चीबाट करिब ८ किमि टाढा ग्याल्थुमस्थित बोर्डिङ स्कुलको पक्की भवन बाढीले बगाएको छ । धान खेतीका लागि प्रख्यात पाल्चोकलगायतका फाँट बगरमा परिणत भएका छन् ।

हेलम्बुको किउलकी ७९ वर्षीया सान्नानी सापकोटा दाताले दिएका राहत सामग्री बोकेर घर जाँदै ।तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

मेलम्चीबाट करिब १३ किमि टाढा चनौटे बजारका घरहरूमा पनि बस्नै नहुने गरी क्षति पुगेको छ । केही घर खोलाले बगाएको छ । चनौटेमा रहेको रातो पुल हेलम्बु क्षेत्र आउजाउ गर्न निकै सहयोगी भएको छ । मेलम्ची खानेपानी आयोजनाले निर्माण गरेको उक्त पुलको जग चट्टानमाथि भएकाले बाढीले बगाउन नसकेको हो । चनौटे बजारबाट हेलम्बुतर्फ जाने करिब एक किमि सडक छियाछिया छ । साविकको सडक छाडेर नयाँ रुटबाट गणेशेबगर झरेर किउल पुग्न सकिन्छ । किउल पुग्नुअघिको सबै भाग बगाएपछि बगरबाटै यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ ।

मेलम्चीबाट करिब १४ किमि प्रवेश मार्ग पार गरेपछि मेलम्ची मुहान जान सकिँदैन । बाढीअघि साँघुरो खोलाले दायाँबायाँ कट्टान गर्दै अघि बढेको देखिन्छ । गहिरो खोलाले थुपारेको ढुंगा, माटो देखेर स्थानीय अचम्म मान्छन् । हेलम्बु गणेशेबगरका नेमा स्याङ्बो तामाङका अनुसार खोलाको किनारबाट भारी बोकेर १० मिनेटभन्दा बढी समय लगाएर सडकमा निस्कनुपर्थ्यो । अहिले खोलो सडककै हाराहारीमा आएको छ । स्याङ्बो भन्छन्, ‘बाढी त बगेर होइन, उडेर आएजस्तो लाग्यो ।’ हेलम्बुको किउलदेखि खानेपानी मुहानसम्म करिब ४ किमि क्षेत्रमा जान सक्ने अवस्था छैन । गोरेटो बाटो पनि नभएकाले आउजाउ नै बन्द छ । उक्त क्षेत्रका खानेपानीले बनाएका हल्दे र तिम्बुको पक्की पुल बगाएको छ । मुहान क्षेत्रको अवस्था अझै यकिन हुन सकेको छैन ।

प्रकाशित : असार २४, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्

रेल चलाउने मिति फेरि सर्‍यो

विमल खतिवडा

काठमाडौँ — भारतबाट रेल सेट खरिद गरेर ल्याएको १० महिना पुग्न लाग्यो । तर अझै सञ्चालनको टुंगो लाग्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल रेलवे कम्पनीले पटकपटक सञ्चालन मिति तय गर्दै आए पनि भारतले निर्माण गरेका संरचना अझै हस्तान्तरण हुन सकेका छैनन् । पछिल्लो पटक असार अन्तिमसम्म रेल चलाउने तयारी थियो ।

तर असारभित्रै रेल चलाउन सक्ने अवस्था नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जेठ अन्तिममा अवस्था सहज हुनेबित्तिकै रेल चलाउन निर्देशन दिएका थिए । रेलमा काम गर्ने कर्मचारीको तालिम नसकिई रेल चल्न नसक्ने मन्त्रालय आफैंले उल्लेख गर्दै आएको छ । नीतिगत, व्यावहारिक र प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेकाले निषेधाज्ञा खुल्नासाथ सञ्चालनको तयारीमा लाग्न मन्त्री नेम्वाङले निर्देशन दिएका थिए ।

निषेधाज्ञा खुकुलो भयो । तर कर्मचारी तयार भइनसक्दा रेल चल्नेबारे अझै अन्योल छ । जयनगर–जनकपुर खण्डमा रेल चलाउने तयारी गरेको यो पहिलो घटना भने होइन । गत असोज २ मा ल्याइएका दुई रेल सेट चलाउन धेरै मिति तय गरिए । तर पालले छोपिएका रेलको ‘घुम्टो’ अझै खुल्न सकेन । गत वर्ष पनि सञ्चालनमा कोभिडको प्रभाव परेको र यो वर्ष पनि त्यही समस्या दोहोरिएको मन्त्रालयले जनाएको छ ।

निषेधाज्ञाअघि भारतीय प्राविधिकको उपस्थितिमा १० दिनसम्म तालिम सञ्चालन भयो । एकमहिने तालिम नसकिँदै निषेधाज्ञा भएपछि बीचमै तालिम रोकियो । तालिम शुक्रबार (असार २५ मा) सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माले बताए । ‘स्टेसनहरू बिग्रिने र कहिले सामान चोरी हुने भइरहेको छ,’ उनले भने, ‘सामान चोरी भएका ठाउँमा राख्न लगाउने, संरचना भत्किएका र बिग्रिएका ठाउँमा बनाउन लगाएर साउन ६ गते भारतले संरचना हस्तान्तरण गर्ने तयारी छ ।’ संरचना हस्तान्तरण गरेपछि साउन दोस्रो साताभित्रै रेल चलाउने गरी काम भइरहेको उनको भनाइ छ ।

यता रेल विभागका पूर्वमहानिर्देशक बलराम मिश्र भने रेल सेट खरिद सम्झौता गर्ने बेलामै भारतसँग २६ जना प्राविधिक ल्याउनेबारे टुंगो लगाउन नसक्दा अहिले समस्या आएको बताउँछन् । तत्कालीन भौतिकमन्त्री रघुवीर महासेठले तत्काल रेल खरिद अगाडि बढाउने कुरामा मात्र चासो देखाएको उनको भनाइ छ । ‘रेल सेट बन्न समय लाग्ने देखिएपछि पहिला यसतर्फ नै सबैको ध्यान गयो,’ उनले भने, ‘मन्त्री महासेठले पनि भारतबाट रिटायर्ड कर्मचारी ल्याएर रेल चलाउने र त्यहीबीचमा नेपाली कर्मचारी भर्ना गर्ने भन्ने सोच बनाउनुभएको थियो तर त्यसो हुन सकेन ।’

रेल ल्याउन धेरै मिहिनेत परेको उनले बताए । ‘विभागले तयारीमा कुनै ढिलाइ गरेको थिएन, यहीबीचमा कोभिड पनि देखापर्‍यो, त्यो बेलामा रेल चलाउन र कर्मचारीका लागि नियम–कानुन पनि थिएनन्,’ उनले भने । अहिले समन्वय अभावले गर्दा रेल चलाउन ढिलाइ भएको उनको बुझाइ छ । कर्मचारीदेखि कार्यालय व्यवस्थापन आदि सबै तयारी भइसकेको जनाइएको छ । अध्यादेशमार्फत रेल सञ्चालनसम्बन्धी कानुन पनि आइसकेको छ ।

अहिले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरमा रेल चल्नेछ । त्यसपछि थप १७ किमि दूरीमा रहेको विजलपुरासम्म रेल पुग्ने जनाइएको छ । रेल सेट जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको बेसक्याम्पअघि पालले छोपेर राखिएको छ । रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले तयार गरेर दिएको हो । अहिले कोंकणकै प्राविधिकले थन्किएका रेलको जाँच गर्दै आएका छन् ।

प्रकाशित : असार २४, २०७८ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×