बस्तीमा बाढी पसेपछि बाँधमा बास

असार २१, २०७८

रौतहट — लगातारको वर्षापछि झाझ नदीमा आएको बाढी दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाको बस्तीमा पसेको छ । घरमा पानी पसेपछि स्थानीय बाँधमा पुगेका छन् । बस्ती जलमग्न भएपछि उनीहरू बाँधमा त्रिपाल टाँगेर बसेका हुन् ।

दुई वर्षअघि पनि यसरी नै बाढी बस्तीमा पस्दा गाउँलेको भागाभाग भएको थियो । बडहर्वाका एक सयभन्दा बढी घरपरिवार विस्थापित भएर बाँधमाथि बसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘विस्थापितलाई राहत र उचित बसोबासका लागि पहल भइरहेको छ । अहिले त्यो क्षेत्र जलमग्न छ,’ उनले भने । बाँधमुनि घर बनाई बसेका सबै विस्थापित भएका हुन् ।

वाग्मतीको बाँध नजिकै रहेको बस्तीमा करिब तीन सय घरधुरी छन् । वाग्मती नदी पारि उनीहरूको घर थियो । बाढीले घर खेत बगाएपछि सबैजसो वारि आएर बाँधमा बसेका हुन् । विस्थापित अधिकांशको अहिले पनि वाग्मती पारि जग्गा छ । आकाशमा कालो बादल मडारियो र भारी वर्षा हुन थालेपछि उनीहरू घर छाडेर बाँधमा बस्न पुग्छन् । बडहर्वा शकुन्तला देवीले डुबानले बर्सेनि समस्यामा पारेको दुखेसो पोखिन् । टेलिफोनमा उनले बाँधमुनि कष्टकर जीवन बिताइरहेको सुनाइन् । ‘अहिले त्रिपालको भरमा रात बिताउनुपरेको छ,’ उनले भनिन्, ‘डुबान कम होला र घर फर्कने भन्ने आसमा छौं ।’

२०७६ साउनमा सिंगो गाउँ नै डुबानमा पारेपछि उनीहरूले बाँधमा त्रिपालमुनि बसेर ज्यान जोगाएका थिए । त्यसबेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितका केन्द्रीय मन्त्रीहरू बडहर्वा गाउँका विस्थापितको अवस्था बुझ्न पुगेका थिए । स्थानीयले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गराउन माग गरेका थिए । मुख्यमन्त्री राउतले आफूले पहल गर्ने आश्वासन दिएका थिए । तर, मुख्यमन्त्रीको आश्वासन अझैसम्म पूरा हुन नसकेको स्थानीय गणेश साहले बताए ।

अविरल वर्षाका कारण बडहर्वालगायत रौतहटका दुई दर्जनभन्दा बढी गाउँ बाढीको जोखिममा छन् । वर्षाका कारण घर डुबानमा परेपछि झन्डै २ सय घरपरिवार विस्थापित भएका छन् । चुरे क्षेत्रमा लगातार वर्षापछि वाग्मती, लालबकैया र झाझ खोलामा आएको बाढी बस्तीमा पसेपछि इशनाथको बन्जाराहा, दुर्गाभगवतीको बहडर्वा र राजदेवीका स्थानीय विस्थापित भएका हुन् । इशनाथ नगरपालिकाको १, २, ३ र ९ वडा डुबानमा परेका छन् । राजदेवी–९, दुर्गा भगवती–५, ७ र ८ का बस्तीमा बाढीको पानी पसेको प्रजिअ यादवले बताए । यस्तै, वाग्मतीको बाढीले गढीमाई–९ सिंगारमनमा रहेको पुल र स्परमा क्षति पुर्‍याएको छ । राजदेवी नगरपालिकामा वाग्मती नदीको १ र २ नम्बर स्परमा कटान हुन थालेपछि सेना, सशस्त्र र प्रहरीले मर्मत गरिरहेका छन् ।

नेपाल प्रहरीको भन्सार सुरक्षा चौकीमा बाढी पसेपछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई नजिकैको भवनमा सारिएको छ । प्रहरीको वसन्तपुर, महादेवपट्टी र भन्सारको गरी तीनवटा चौकी अर्को भवनमा सरेको जिल्लाका एसपी सिद्धिविक्रम शाहले बताए । डुबानमा परेका चौकीलाई नजिकको विद्यालयमा सारिएको छ । सशस्त्र प्रहरी बल ११ नम्बर गणमा बाढीको पानी पसेको छ । सशस्त्र प्रहरीको गौर र बेलबिछवा बोर्डर आउट पोस्टलाई नजिकैको अर्को भवनमा सारिएको सशस्त्रका एसपी सूर्यसेन वलीले बताए ।

बाढी-पहिरो

Link copied successfully