नारायणगढ–मुग्लिन सडकमा मोटरसाइकल चलाउनेहरु यति हतारमा देखिन्छन् कि पहिरो खसिरहे पनि जोखिमको वास्ता नगरी हुइँकिन्छन्
चितवन — नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग यति बेला धरापजस्ता बनेका छन् । कतै सडक त्रिशूली नदीतर्फ भासिन थालेको छ, कतै कुन बेला पहिरो खस्छ भन्ने ठेगान छैन । ठाउँ–ठाउँमा खसेका पहिरोले थुनिएका यात्रु र चालक पहिरो खुल्ने प्रतीक्षामा बसेका हुन्छन् । तर, मोटरसाइकल चलाउनेहरू यति हतारमा देखिन्छन् कि पहिरो खसिरहे पनि जोखिमको वास्ता नगरी अगाडि बढ्छन् ।
ना६ख ७६४७ नम्बरको ट्रक चालक गोविन्दलाल श्रेष्ठ बारा निजगढबाट मकैको पिठो लिएर बनेपाका लागि हिँडेको तीन दिन भयो । ‘शुक्रबार हिँडेको हो, पहिरो खसेकाले अगाडि बढ्न सकिन्न भनेपछि त्यस रात चितवन लोथरमै बसें । शनिबार पनि पहिरो छिचोल्न गाह्रो भएकाले रामनगरमा बास भयो । आइतबार यो बेलासम्म यहीं छु,’ चालक श्रेष्ठले भने । आइतबार दिउँसो २ बज्दै गर्दा उनी सेती दोभानमा थिए ।
नारायणगढ–मुग्लिन सडकको यो ठाउँ नारायणगढदेखि २० किलोमिटर पर पर्छ । उक्त ठाउँमा पहिरो खसेको तीन दिन भयो । शनिबारबाट हटाउन सुरु भए पनि पूरै अवरोध हटिसकेको छैन । आइतबार पहिरो सफा भएर गाडी चलेको खबर पाएपछि श्रेष्ठको ट्रक पनि अगाडि बढ्दै थियो । फेरि रोकियो । उनको ट्रकभन्दा अगाडि पाँच वटा गाडी मात्रै थिए । ‘यस्तो बन्द केही नहुने हो भने म लोड गाडी लिएर निजगढबाट आनन्दले १२ घण्टामा बनेपा पुग्ने गर्छु । हेर्नु त, तीन दिन भयो, अझै यहीँ छु,’ उनले दुखेसो पोखे ।
उनकै आँखा अगाडि दर्जनौं मोटरसाइकल दौडिएका थिए । सेती दोभानको पहिरो निकै जटिल बनेको छ । झन्डै तीन सय मिटर माथिबाट एउटा पाखो नै सडकमा झरेको छ । ‘हिलो र बालुवासँगै साना–ठूला चट्टान खसेका खस्यै छन्,’ डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने । शुक्रबार साँझ अचानक पहिरो झरेपछि शनिबार हटाउन सुरु गरिएको थियो । हिलो र लेदो डोजर र लोडरले पन्छाए पनि ठूला ढुंगा फुटाउन मेसिन नै ल्याउनुपर्यो । आइतबार सफा गरेर ११ बजेबाट एकतर्फी र १२ बजेबाट गाडी चल्न थाले । तर १ बज्दा नबज्दै फेरि माटो र चट्टान आउन थाल्यो । बाटो बन्द भयो ।
पानी बगेझैं बालुवा र माटो बग्छ । साना–ठूला चट्टान भीरबाट गुड्दै सडकमा बजारिन थाल्छन् । यस्तो बेला कुरेर बस्नुको साटो जोखिम मोलेर मोटरसाइकल हुइँकिइरहेका छन् । ‘खतरा देखेर अटेर गर्नेहरू पनि छन् । केही भए दोष सबै हामीलाई आउने हो,’ इन्जिनियर खनालले भने, ‘रोक्न खोज्छौं, सम्झाउँछौं, एकाध त केही गरे पनि नमान्ने आउँछन् ।’ पहिरो गएको ठाउँमा प्रहरी र ट्राफिक प्रहरी पनि खटिएका छन् । ‘कुनै बेला १५/२० जना प्रहरी हुन्छन् । नभए सात–आठ जना त प्रायः हुन्छन् । तर चालके अटेरी छन्,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले भने ।
सेती दोभानमै आइतबार बिहान एउटा कार डीएसपी थापासहितको टोलीले रोक्न खोज्दाखोज्दै अगाडि बढ्यो । त्यसमा माथिबाट झरेको ढुंगाले लागेर सामान्य क्षति पुग्यो । नारायणगढ–मुग्लिन सडकमा यसपालि मुग्लिनदेखि नारायणगढतर्फ चारकिलो, पाँचकिलो र नारायणगढदेखि मुग्लिनतर्फ चौधकिलो र बीसकिलो सेती दोभानमा भीषण पहिरो गएको छ । चौधकिलोमा झरेको चट्टान फुटाउनै कठिन छ । मुग्लिनसम्म पहिरोको समस्या भएजस्तै मुग्लिन कटेपछि पृथ्वी राजमार्गको फिस्लिङमा सडक नै त्रिशूली नदीतर्फ भाँसिएको छ ।
‘सडक भासिएपछि तीन मिटर चौडा ठाउँबाट मुस्किलले गाडी पास भएका छन् । धराप ठाउँ–ठाउँमा छ,’ इन्जिनियर खनालले भने, ‘ठूल्ठूला ढुंगा झरिरहेकाले निकै जोखिम छ, होस विचार गरेर यात्रा गरौं ।’
