संखुवासभा — कोसी राजमार्ग अन्तर्गत संखुवासभाको मामलिङ-पिलुवा खोला सडकमा ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार धर्मदेवी नगरपालिकाको छुमाङ भीरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।
एकसाता लामो झरीपछि गएको पहिरोले सडकमा ठूल्ठूला ढुंगासहितको माटो खसेको डिभिजन प्रमुख गौतमकुमार श्रेष्ठले बताए । उक्त सडक खण्डमा यातायातका साधन एकतर्फी खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनका अनुसार ढुंगा खसेको सडक भन्दा केही तल बाक्लो गाउँ भएकाले हटाउन समस्या भइरहेको छ । पहिरो हटाउन प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रजिअ पौडेलले बताए ।
यस्तै, पहिरोले खाँदबारी किमाथांका सडक अन्तर्गत मकालु गाउँपालिकाको दोभान खण्डमा पनि पहिरोले सडक अवरुद्ध पारेको छ । दोभानबाट हेदांनातर्फ जाने सडकमा पहिरो खसेको हो ।
उता सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । गएराति अविरल वर्षासँगै आएको पहिरोले घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार राई घाइते भएको वडाध्यक्ष अलक्षकुमार राईले जानकारी दिए ।
आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिरोले उक्त घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पहिरोबाट छत्तीसकुमारकी श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले बताए । त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ ।
