कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बाढीपहिरोले १६ को मृत्यु, २२ बेपत्ता

काठमाडौँ — मनसुनजन्य प्रकोपका कारण डेढ दर्जनभन्दा बढी जिल्ला प्रभावित भएका छन् । गत आइतबारबाट देशका विभिन्न भागमा अविरल वर्षा र त्यसका कारण निम्तिएको बाढीपहिरो र डुबानमा परी हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । २२ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।

बाढीपहिरोले १६ को मृत्यु, २२ बेपत्ता

प्राकृतिक प्रकोपले घरबार गुम्नेदेखि विस्थापित हुनेसम्मका घटना भएका छन् । प्रभावित जिल्लामा भएको आर्थिक क्षतिबारे यकिन विवरण आइनसके पनि सरकारी, सार्वजनिक तथा निजी संरचना विनाश हुँदा अर्बौं रुपैयाँ बराबरको आर्थिक क्षति भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।

प्रकोपबाट निम्तिएको मानवीय क्षति र भौतिक क्षतिको विवरण आउने क्रममा रहे पनि क्षतिको यकिन विवरण खोज/उद्धार र राहतको काम सकिएपछि आउने मन्त्रालयले जनाएको छ । ‘सरकारको ध्यान खोज/उद्धार र राहत व्यवस्थापनमा केन्द्रित छ, प्राथमिकताका काम सकेर स्थानीय प्रशासन र स्थानीय तहमार्फत प्राविधिक टोलीसमेत सहभागी गराएर विवरण संकलन गरिनेछ,’ प्रवक्ता दाहालले भने ।

सबैभन्दा बढी भौतिक क्षति सिन्धुपाल्चोक र मनाङमा भएको गृह मन्त्रालयले जनाएको छ । मनाङमा बाढीबाट पूर्ण रूपमा १ सय १२, आंशिक रूपमा २० भौतिक संरचनाको क्षति भएको छ । त्यस्तै १ बेलिब्रिज, ५ झोलुङ्गे पुल र ४ सरकारी कार्यालयका भवन पूर्ण रूपमा क्षति भएका छन् ।

सबैभन्दा बढी जनधनको क्षति व्यहोरेको सिन्धुपाल्चोकको मेलम्चीमा ३२ वटा निजी घर बाढीले बगाएको छ । ८ वटा पक्की पुल, १६ वटा झोलुङ्गे पुल, ७ वटा माछा फार्म र सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट रहेको भवन पनि बगेको छ । लमजुङमा निजी भौतिक संरचनामध्ये २० वटामा पूर्ण र ७७ वटामा आंशिक क्षति पुगेको छ । त्यस्तै, बाजुरामा २, गोरखामा १०, अर्घाखाँचीमा १२ भौतिक संरचना बाढीपहिरोमा नष्ट भएको छ । राजमार्गका १४ ठाउँमा बाढीपहिरो र डुबानले बढी क्षति पुर्‍याएको छ । जसका कारण आवागमन अवरुद्ध भएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार मनसुन सुरु भएपछिको प्रकोपबाट लमजुङ, म्याग्दी, मुस्ताङ, मनाङ, पाल्पा, कालीकोट, जुम्ला, दैलेख, बाजुरा र बझाङ जिल्ला अन्तर्गतका राजमार्ग खण्ड अवरुद्ध भएको हो ।

प्रकाशित : असार ५, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?